२०२४ प्रेसका लागि सबैभन्दा घातक वर्षः १२२ पत्रकारको हत्या, २५४ पत्रकार जेलमा

गाजामा मारिएका एक पत्रकारको शवयात्रामा आफन्त र सहकर्मीहरू । फोटोः Ahmad Hasaballah/Getty

१७ पुस, काठमाडौं । सन् २०२४ मा १४ महिलासहित १२२ जना पत्रकार र मिडियाकर्मी मारिएका छन् । अन्तर्राष्ट्रिय पत्रकार महासंघ (आईएफजे) ले ३१ डिसेम्बरमा विज्ञप्ति जारी गरी २०२४ पत्रकारहरूका लागि सबैभन्दा घातक वर्ष रहेको जनाएको छ । संयुक्त राष्ट्र संघले पत्रकारको सुरक्षा तथा संरक्षणका लागि अन्तर्राष्ट्रिय महासन्धि तत्काल अपनाउनुपर्ने आफ्नो दृढता आईएफजेले दोहोर्‍याएको छ ।

अन्तर्राष्ट्रिय मानव अधिकार दिवस अर्थात् १० डिसेम्बरमा आईएफजेले यस वर्ष मारिएका पत्रकारहरूको प्रारम्भिक सूची प्रकाशित गरेको थियो । उक्त सूचीमा १०४ जना पत्रकार/मिडियाकर्मीको नामावली छ ।

३१ डिसेम्बरको अद्यावधिक सूचीमा मध्य पूर्व र अरब, प्यालेस्टाइन र सिरियामा मारिएका पत्रकारहरूको विवरण थपिएको छ ।

आईएफजेका महासचिव एन्थोनी बेलान्जरले यस वर्ष मारिएका १२२ पत्रकारका पछाडि १२२ वटा अधुरा कथाहरू रहेको भन्दै मृतक पत्रकारका परिवार र आफन्तहरूलाई समवेदना दिएका छन् ।

“पत्रकारहरूको मृत्यु दण्डहीन नहोस् र यो विपत्तिलाई सदाका लागि अन्त्य गर्न हामी संयुक्त राष्ट्र संघका सदस्य राष्ट्रहरूलाई पत्रकार सुरक्षा सम्बन्धी बाध्यकारी महासन्धि अपनाउन आग्रह गर्दछौं”, आईएफजेका महासचिव बेलान्जरले भनेका छन्, “यस्तो महासन्धिले हरेक वर्ष दुःखद रूपमा पत्रकारहरूलाई मार्ने वा घाइते बनाउने कार्यको अन्त्य गर्ने लक्ष्य राख्नेछ ।”

मध्य पूर्व र अरब विश्व: ७१
गाजा र लेबनान नरसंहारमा सबैभन्दा बढी पत्रकारहरू मारिएका छन् । सन् २०२४ मा मारिएका पत्रकारहरूमध्ये ५८ प्रतिशत यही युद्धमा मारिएका छन् । प्यालेस्टिनी (६४), लेबनानी (६) र सिरियाली (१) गरी ७१ पत्रकार यहाँ मारिएका छन् । ७ अक्टोबर २०२३ देखि युद्ध सुरु भएयता मारिएका प्यालेस्टिनी पत्रकारहरूको संख्या कम्तिमा १४७ पुगेको छ । इजरायलले गाजामा गरिरहेको क्रूर आक्रमणमा २३ हजारभन्दा बढी मानिस मारिएका छन् भने ५० हजारभन्दा बढी मानिस घाइते भएका छन् । इराकमा तीन मिडियाकर्मी मारिएका छन् । २३ अगस्टमा दुई महिला र ४ डिसेम्बरमा सिरियामा एक फोटोग्राफर मारिएका छन् । १९ डिसेम्बरमा उत्तरी सिरियामा दुई कुर्द पत्रकार मारिएका छन्

एसिया-प्यासिफिक: २२
आईएफजेले एसिया-प्यासिफिक क्षेत्रमा २२ पत्रकार मारिएको जनाएको छ । पाकिस्तानमा सात, बंगलादेशमा पाँच, भारतमा तीन, कम्बोडियामा एक र फिलिपिन्समा एक पत्रकारको हत्या भएको छ । यसका अतिरिक्त, म्यानमारको सैन्य शासनको निशानामा पत्रकारहरू परेका छन् जहाँ यस वर्ष तीन पत्रकार मारिएका छन् । इन्डोनेसिया र काजाकस्तानमा पनि एक-एक जना पत्रकारको मृत्यु भएको छ ।

अफ्रिका: १०
सन् २०२४ मा अफ्रिकामा १० पत्रकार मारिएका छन् । यहाँ २०२२ मा चार जना पत्रकार मारिएका थिए भने २०२३ मा ९ जनाको हत्या भएको थियो । सुडानमा मात्रै छ जना पत्रकारको मृत्यु भएको छ । यसका अतिरिक्त दुई सोमाली पत्रकार, एक चाड पत्रकार र डीआर कंगोमा एक पत्रकारले यस वर्ष ज्यान गुमाएका छन् ।

उत्तर र दक्षिण अमेरिकाः ९
आईएफजेले २०२४ मा अमेरिकामा ९ जना पत्रकार मारिएको जनाएको छ । यो संख्या २०२२ मा ३० र २०२३ मा ६ थियो । पाँच मेक्सिकन, दुई कोलम्बियाली र दुई हैटियन पत्रकार समावेश छन् । विगतमा जस्तै यस क्षेत्रका पत्रकारहरूले मुख्यतया लागूपदार्थ तस्करीको रिपोर्टिङका कारण धम्की, डर, अपहरण र हत्याको सामना गरेका छन् । मेक्सिको दुई दशकभन्दा बढी समयदेखि यस्तै समस्यासँग जुधिरहेको छ ।

युरोप: ४
युक्रेन युद्धले पनि पत्रकारको ज्यान लिएको छ । यहाँ २०२४ मा चार पत्रकार मारिएका छन् । यहाँ २०२२ मा १३ र २०२३ मा ४ जनाको हत्या भएको थियो । यो युद्धका बाबजुद युरोप पत्रकारहरूका लागि विश्वकै सबैभन्दा सुरक्षित महादेश रहेको आईएफजेले उल्लेख गरेको छ।

जेलमा रहेका पत्रकार: ५१६

आईएफजेले ५१६ जना पत्रकारहरू विश्वका विभिन्न जेलहरूमा रहेको जनाएको छ । जेलमा रहेका पत्रकारहरूको संख्या २०२३ मा ४२७ र २०२२ मा ३७५ थियो ।

आईएफजेका अनुसार चीन (हङकङ सहित) मिडियाकर्मीहरूका लागि विश्वकै सबैभन्दा ठूलो जेल बनेको छ । यहाँ १३५ पत्रकारहरू जेलमा छन् । यसपछि इजरायल पत्रकारहरूका लागि ठूलो जेल हो । यहाँ ५९ प्यालेस्टिनी पत्रकारलाई जेलमा थुनिएको छ । म्यानमारमा ४४ पत्रकार जेलमा छन् ।

एसिया-प्यासिफिक क्षेत्रमा मात्र २५४ पत्रकार जेलमा छन् । युरोपमा १४२, मध्य पूर्व र अरबमा १०२ जना, अफ्रिकामा १७ जना र ल्याटिन अमेरिकामा १ जना पत्रकारलाई जेल हालिएको छ ।

प्रतिक्रिया दिनुहोस