ओलीले बोलाएको बैठक अवैध ः नेपाल समुह

१७ असार, काठमाडौं । नेकपा एमालेको माधवकुमार नेपाल समूहले पार्टी अध्यक्ष केपी शर्मा ओलीले शुक्रबार बोलाएको बैठक अवैध भएको निष्कर्ष निकालेको छ ।

यो समूहका नेताहरुले उक्त बैठकमा सहभागी नहुने निर्णय पनि गरेको नेता घनश्याम भुसालले जानकारी दिनु भयो ।
बुधबार बसेको एमालेको दशौं राष्ट्रिय महाधिवेशन आयोजक समितिको बैठकले शुक्रबारका लागि केन्द्रीय कमिटीको बैठक बोलाएको थियो ।

उक्त बैठकमा सहभागी हुन एमालेको केन्द्रीय सचिवालयले पत्राचारसमेत गरेको छ ।
सोही विषयमा छलफल गर्न बिहीबार माधव नेपाल समूहको स्थायी कमिटी बैठक बसेको थियो ।

बैठकले बैठक बोलाउने दशौं महाधिवेशन आयोजक समिति नै अवैध भएकाले उक्त बैठकमा नजाने निर्णय गरेको भुसालले बताउनु भयो ।

सुक्रवार बोलाएको बैठक अवैध कमिटीले डाकेको बैठक हो, त्यो पार्टी एकताको पक्षमा देखिएन’ उहाले भन्नु भयो , ‘पार्टी एकतालाई इमान्दार भएर अगाडि बढाउन र त्यसैअनुसार बैठकलगायत सबै प्रक्रिया अघि बढाउन आह्वान गरेका छौं ।’

बैठकमा सहभागी अधिकांश नेताहरुले पार्टी एकताका लागि इमान्दार प्रयत्न गर्ने बताएका थिए । ‘पार्टी एकताका लागि हाम्रो इमान्दार प्रयत्न जारी रहन्छ । त्यस्तै प्रयत्नको अपेक्षा गर्छौं’ भुसालले भन्नु भयो ।

प्रतिक्रिया दिनुहोस