कपिलवस्तु । नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लव सीले वर्तमान राजनीतिक संकटको निकास क्रान्तिकारीहरुले दिन नसके देश साम्राज्यवादको चंगुलमा पर्ने बताएका छन ।
अखिल नेपाल (क्रान्तिकारी) ट्रेडयुनियन महासंघको प्रशिक्षण कार्यक्रमलाई कपिलवस्तुको शिवगढीमा शुक्रवार सम्बोधन गर्दै महासचिव विप्लवले एमसीसी र दलाल व्यवस्थाले गर्दा नेपाल साम्राज्यवादको चंगुलमा जाने खतरा भएको बताएका हुन ।
उनले नेपालका क्रान्तिकारी कम्युनिष्ट वामपन्थी,लोकतन्त्रवादी,गणतन्त्रवादी लगायतका राष्ट्रवादीहरु एकतावद्ध भएर साम्राज्यवादी हस्तक्षेपका विरुद्ध संघर्ष गर्नुपर्ने बताए ।
महासचिव विप्लवले नेपालमा दलाल पुँजीवादी व्यवस्थाले गर्दा मजदुरहरुले उचित पारिश्रमिक नपाएको र श्रमको मूल्यमाथि दलाल पुँजीवादले उपेक्षा गरेको जिकिर गरे ।
उनले समाजवादी व्यवस्थाको स्थापना विना मजदुर किसान लगायत सबैको अधिकार स्थापित नहुने दाबी गरे ।
उनले भने ‘नेपालका क्रान्तिकारी कम्युनिष्टलाई एकहुन नदिने षड्यन्त्र साम्राज्यवादले गरेको छ । साम्राज्यवाद सबै कम्युनिष्ट सक्ने उद्देश्यले आएको छ । क्रान्तिकारी कम्युनिष्टहरु यो बेला एक भएर तालमेल गर्दै देशलाई मुक्त गर्ने अभियानमा लाग्नु पर्छ ।’
प्रशिक्षण कार्यक्रममा नेकपाका स्थायी समिति सदस्य तथा जवस फ्याक्सन इन्चार्ज शिलु सीले समाजवादी क्रान्तिमा मजदुरहरुको भूमिका महत्वपूर्ण हुने बताईन ।
महासंघका अध्यक्ष श्याम सीको अध्यक्षतमा भएको प्रशिक्षण कार्यक्रमको संचालन महासंघका केन्द्रीय महासचिव टेक सीले गरेका छन ।