नेकपा बैठक आज सकिँदै, ओलीसँग छलफल गर्न प्रचण्ड बालुवाटारमा

माघ १९, काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को केन्द्रीय कमिटी बैठकमा दुवै अध्यक्ष र महासचिवले जवाफ दिएपछि आइतबार समापन हुँदैछ । चार दिनदेखि जारी बैठकको अन्तिम दिन अध्यक्ष प्रचण्ड र महासचिव विष्णु पौडेलले केन्द्रीय सदस्यहरुका प्रश्नको जवाफ दिने प्रचार विभाग उपप्रमुख सूर्य थापाले बताउनु भयो ।

बैठक उद्घघाटनमा लामो मन्तव्य दिएपछि छलफलहरुमा सहभागी नहुनु भएका प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीले समापनका अवसरमा केन्द्रीय सदस्यहरूलाई सम्बोधन गर्ने थापाले जानकारी दिनु भयो । यद्यपि, दस्तावेजमाथिको जवाफ भने प्रस्तोता अध्यक्षबाटै दिइने उहाले बताउनु भायो ।

१५ वटा विभिन्न समूहबाट राजनीतिक प्रतिवेदन तथा संगठनात्मक पतिवेदनका साथै विधान संशोधन प्रस्तावमाथि आएका सुझाव र प्रश्नहरूबारे प्रचण्ड र विष्णु पौडेलले विस्तृतमा जवाफ दिनु हुनेछ । केन्द्रीय कमिटी बैठकले विभिन्न प्रस्तावहरू पारित गर्नेछ ।

यसैबीच, बैठकअघि केन्द्रीय कमिटीमा उठेका प्रश्नबारेमा छलफल गर्न अध्यक्ष प्रचण्ड बालुवाटार पुग्नु भएको छ । दुवै अध्यक्षबीच छलफलपछि समान धारणा लैजाने प्रयास भइरहेको नेकपा स्रोतले जनाएको छ ।

बैठकमा एमसीसीका सन्दर्भमा विज्ञ सम्मिलित कार्यदल गठन गरेर एकमतले पारित गर्नुपर्ने सुझाव केन्द्रीय कमिटी बैठकमा आएको छ । यसबारे पनि छलफल हुने बताइएको छ । अब कार्यदल गठन गर्ने समय नरहेकाले मुख्य नेताहरूबीचको छलफलबाट यसलाई टुंगो लगाइने सम्भावना रहेको स्रोतले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस