२७ बर्ष देखि कालिकोटमा जुत्ता सिउदै गरेका पूर्णबहादुरका ‘विभेद विरुद्धका सङ्ंघर्षपूर्ण भोगाई’

२० चैत, कालिकोट । दैलेखको भगवतीमाई गाउँपालिका वडा नम्वर ६ घर भएका पूर्वबहादुर मिजार कालिकोटको मान्म बजार बसेको २७ बर्ष पुरा भयो । उहाँको साविक ठेगाना कट्टी गाविस वडा नम्वर ७ दैलेख हो । उहाँ मान्ममा बसेर छालाको जुत्ता सिलाउने पेशा गर्नुहुन्छ । उहाँले सिलाएको जुत्ता निकै भरपर्दो र विश्वसनीय पनि छन । उहाँको बजार पनि राम्रै छ । यहि पेशाबाट परिवारको पालन पोषण छोरा छोरीको शिक्षा दिक्षा राम्रैसंग पुर्याउनु भएकाे छ । उहाँको पेशा अरुको लागि प्रेरणाको विषय बन्न थालेको छ । अहिले बजारमा केही नयाँ पसल पनि थपिएका छन । पूर्णबहादुर अरुलाई सीप सिकाउदै हिड्नु भएकाे पनि छ । तर उहाँको पेशामा लाग्दाको सन्तुष्टि भने छैन । उहाँले जाति र पेशाकै कारणले धेरै विभेदहरु सहनु पर्यो । उहाँले आफ्नो जीवनकालमा दलित भएकै कारण धेरै दुख खेप्नु परेको र सङ्ंघर्ष गर्नु परेको बताउनु भयाे ।

‘म कालिकोटको मान्ममा विस २०५२ सालमा आएको हुँ । त्यतिबेला मान्ममा जुत्ता सिउने सार्की कोही थिएन । मेरो जन्मघर दैलेख हो । अहिले मलाई दैलेखवासी जस्तो लाग्दैन । मेरो आधा जीवन यहि जुत्ता सिलाउदै वित्यो । तर पनि मलाई बाहिरको हो भन्ने टोपी लगाईन्छ । जसले गर्दा धेरै सङ्ंघर्ष गरिरहेको छु’ ज्वाला खबर संगकाे कुराकानीमा पूर्ण बहादुर मिजारले भन्नुभयाे।

उहाँको जन्म विस २०३० साल असोज १५ गते भएको हो । उहाँका ५ दाजु भाई र ३ दिदि छन । उहाँ सुरुमा जुम्ला बसेका दाईसंग जुत्ता सिउने काम गर्नुहुन्थ्याे । पछि पूर्णबहादुर मान्म आएर बस्नु भएकाे थियाे । मान्ममा मात्रै करिव ३ दशक जुत्ता सिउने र अरुको खुट्टाको सुरक्षा दिने पेशा गरेका पूर्णवहादुर आफ्नो सीप प्रति गर्भ गर्नुहुन्छ । उहाँ धेरै पटक राष्ट्रिय रुपमा सम्मानीत पनि हुनु भएकाे छ । उहाँका १ श्रीमती १ छोरा ३ छोरी छन । उहाँ दैलेखबाट कालिकोटमा ०५२ सालदेखि बस्दै आएपनि आधिकारीक बसाईसराईको कागजपत्र ल्याएर विस २०६३ सालमा आउनु भएकाे थियाे। उहाँले छोरा छोरीको नागरिकता समेत कालिकोट जिल्ला प्रशासन कार्यालयबाट बनाउनु भएकाे छ । तर पनि उहाँको मनमा बाहिरको भन्दा निकै दुख लाग्ने गरेको छ । उहाँले भन्नुभयाे ‘म सबैलाई भन्दैन तर केही मान्छेहरु बाहिरको भनेर र दलित भनेर हेप्न सम्म हेपे । धेरै जातीय विभेद सहनु पर्यो ।’ आफ्नो जीवनमा भोग्नु परेका ४ वटा घटना भने कहिलै नबिर्सिने गरी अहिले पनि उहाँले झल्झती सम्झिरहनु भएकाे छ ।

उहाँले आफ्नो पहिलो घटना सबिस्तार गर्दै भन्नुभयाे ‘म २०५२ मा मान्म पुगेपछि केही समय व्यापारको तयारी गरे । ०५३ सालबाट जुत्ता सिलाउने काममा लागे । म एउटा शेर्पाको घरमा माथिल्लो तला एउटा कोठा लिएर बसेको थिए । तर घरभेटीले भने तल्लो तलाको बाहिर रक्सी बनाईरहेका थिए । पास हालेका धेरै भाडाहरु रहेछन । त्यो कुरा पुलिसले थाहा पाएछ र छापा हान्यो । म घरको बाहिर थिए । ढोका बन्द थियो । पुलिसले ढोका खोल्न लगायो । मैले मेरो बस्ने माथिल्लो तला हो । तलको कोठा मेरो होइन म खोल्दैन भने त्यो कुरा पुलिसले मान्ने कुरै भएन । जबर्जस्तै ढोका खोल्यो र भित्र गयो रक्सीका भाँडाहरु कब्जा गर्यो । रक्सी बनाउने घरभेटी भेटाउन सकेन । तर पुलिसले मलाई रक्सीको भाँडा बोकाएर जिप्रका लिन खोज्यो । मैले जति सक्दो प्रतिकार गरे । मलाई कोहीले साथ दिएनन् । यो बाहिरको हो भन्ने भयो होला । म जिप्रका पुगे । रक्सी बनाउने घरभेटी भागेर हेलिकप्टरबाट सुर्खेत जान हेलिप्याड पुगिसकेका थिए । त्यो कुरा मेरो बुढीले थाहा पाएछ । त्यतिबेला बनाउने र बेच्नेलाई १० हजार जरिवाना थियो । मेरो बुढी हतार –हतार गर्दै जिप्रका पुगेछन र भनेछन जो रक्सी बनाउने हो उ भागेर सुर्खेत जादैछ, निर्दोश मान्छेलाई थुन्नु हुन्छ ? अनि त्यो कुरा पुलिसले इन्स्पेक्टरलाई भनेछ । पछि इन्स्पेक्टरले उनलाई समातेर लयाउन आदेश दिएछन र हेलिप्याडबाट समातेर ल्याए । शेर्पाले पनि सामान मेरो हो, उहाँलाई छोडदिनुहोस भनेपछि म बल्ल बाहिर निस्किन पाए । मेरो यो जीवनको पहिलो हिरासतको दुखत बसाई थियो ।’

उहाँले आफ्नो जीवनका सङ्ंघर्षहरु ओकल्ने क्रम जारी नै राख्नु भयाे। जीवनको दोस्रो अविस्मरणीय घटना सुनाउन थाल्नुभयाे। उहाँले भन्नुभयाे ‘विस २०५४ सालको कुरा हो । त्यतिबेला मान्ममा धेरै छुवाछुत थियो । दलितले चिया खाँदा पनि भाँडा धुनुपर्ने अवस्था थियो । मैले एउटा चिया पसलमा चिया पिए । मलाई गिलास धुनुपर्छ भन्न थालियो । किन गिलास मैले धुने ? तपाईलाई पैसा दिएको छु भने, तर साहुजीले तल्लो जातिले धुनै पर्छ भन्यो । त्यो कुरा सुन्दा मैले गिलास धुने होईन कि गिलासनै फुटाईदिए र साहुजीसंग प्रतिवाद गरे । एक त भर्खरै दैलेखबाट मान्म आएको थिए । त्यसैमा गिलास फुटाउदा झनै ठुलो विषय भयो । दलित भन्ने साथीहरुले पनि साथ दिएनन् । अनि मलाई जिप्रका लिएर थुन्यो । मेरो कोही सपोर्टमा गएन । मैले आफै प्रहरीसंग घटनाको विषय सबिस्तार बताए । पछि दुई पक्ष बिच छलफल भयो । पुलिसले मलाई भन्दा पसलेको गल्ती भएको औल्यायो । किनकी पैसा दिएपछि भाँडा धुन किन लगाएको ? भन्यो । अनि जातीय छुवाछुत गर्न मिल्दैन भन्यो र मलाई बाहिर छोड्यो । यसले दलित समुदायलाई नयाँ उर्जा दियो । तर पनि दलितहरु डराउने र बोल्न नसक्ने अवस्था मै थिए ।’ गाउँमा भने जनयुद्धको प्रभाव चर्किदै थियो । गाउँमा छुवाछुत गर्नेहरु पनि खुलेर गर्न नसक्ने परिस्थिति हुदै थियो । तर सदरमुकाम मान्ममा चर्को छुवाछुत थियो । पूर्णबहादुर त्यति चपेटामा पर्नु भएकाे थियाे ।

यतिमात्र होइन उहाँले दलित भएकै कारण अर्को घटना पनि गाउँमा भोग्नु पर्यो । शान्ति प्रक्रिया पछि उहाँले त्यो घटना भोग्नु परेको हो । दलित भएकै कारण हेपिएको अन्यायपूर्ण घटनाका बारे संघर्ष गर्दा उहाँले दलितहरुकै साथ पाउनु भएन। शाही थरहरुको दबदबा र हैकम गर्ने ठाँउको रुपमा चिनिने रास्कोटमा शाहीहरुले गरेको जातीय विभेद विरुद्ध संघर्षमा उत्रिए । यो उहाँको जीबनको ऐतिहासिक तथा महत्वको तेस्रो घटना थियो ।

आखिर यो घटना के थियो त ? यसबारे उहाँले ज्वाला खबरलाई भन्नुभयाे ‘मेरो लागि कहिलै नबिर्सिने घटना भयो । २०६६ साल फागुनको कुरा हो । म रास्कोटमा ३ महिने जुत्ता सिलाउने तालिम दिन गएको थिए । म ढाडागाँउ बस्थे । गएको करिब एक हप्ता मात्र भएको थियो । एक दिन म सहित घरको दाई हरिस तिरुवा र उनको मगर जातको बुढी घर बाहिर बसेका थियौ । अहिले नाम नभनौ, स्यूनाका दुई जना शाही थरका मान्छे हाम्रो अगाडि आएर आमाको गाली दिन थाले । घरको दाईलाई त्यरो बुढीसंग हामी सुत्छौ सम्म भनेर हेप्न थाले । ए डुम ! कोमारा त्यरो बुढीसंग हामी सुतेरै छोड्छौ भन्न थाले । त्यो कुराको घरको दलित दाईले केही पनि प्रतिकार गर्न सकेनन् । शाही थरका केही मान्छेहरु सधै जसो यस्तै हेपाईका शब्दहरु बोल्ने गर्दा रहेछन । तर मलाई भने असैय भयो । मैले भने तपाईहरु मुख समालेर बोल्नुहोस न के यस्तो बोल्नु हुन्छ भने ? उनीहरुले तो को होस ? भनेर झम्टिन खोजे । चिसोको समय थियो । आगो बालेर बसेका थियौ । मैले पनि आगोको बलिरहेको अगुल्टोले दुवै जनालाई बर्साए । उनीहरु त्यरो विचार गर्छौ भन्दै त्यहाँबाट भागेर गए । घरका मान्छे डरले थरथर काम्न थाले । उनीहरुले भने अब तपाईलाई मार्छन राजा ! तपाई भाग्नुहोस हामी बचाउन सक्दैनौ भन्न थाले । यस्तो कुरा सुनेपछि उनको मगर थरको श्रीमतीले भनिन् ‘मर्द यस्तो हुनुपर्छ, नामर्दहरुले सहएर बस्छन, मर्दहरुले अन्याय अत्याचार सहन सक्दैनन । दाईले जे गर्नु भयो ठीक गर्नु भयो,सुरक्षा प्रतिकार गरेरै हुन्छ ’ भन्न थालिन ।

स्यूना विजयपुर पहिलै देखिको दादागीरी गर्ने र हेप्ने ठाउँ रहेछ । म त सीप सिकाउन मात्र गएको थिए’ उहाँले भन्नुभयाे ‘पछि म सिधै रास्कोट पुलिस चौकीमा गए । त्यहाँको सईलाई सबै कुरा बताए । अपशव्द बोल्ने दुवैजनाले गाउँबाट अरु केटाहरु ल्याएर आरसीपी बजार र दलित दाईको घरमा मेरो खोजिगरिरहेका रहेछन । पुलिसले पनि चिन्ता नलिनु भन्यो । करिब १ दर्जन पुलिस र म पनि पुलिसको स्वीटर लगाएर उनीहरु भएको ठाउँमा गयौ । करिब साँझ परिसकेको थियो । पुलिसले उनीहरुको ग्याङलाई बेसरी लाठ्ठी बजार्यो । थुलो पिठो हुने गरी कुट्यो र दुई जना शाही थरका मान्छेलाई पक्राउ गरि इप्रका ल्यायो । छलफल भोलि गर्ने गरी मलाई सुत्न पठायो र म सुत्न गए । मैले उनीहरु विरुद्ध मुद्धा अगाडि बढाउने सोचेको थिए । तर शाही खलकहरुले सल्लाह गरेछन की अब यसरी हुदैन गल्ती भयो भनेर माफी मागेर केस मिलाउनु पर्छ । उनीहरु अर्कोदिन माफि माग्न थाले । जाँड खाएको बेला गल्ती भयो भने । खुट्टामा परेर माफी मागे । यो रास्कोटको लागि सामान्य कुरा थिएन । शाहीहरुलाई माफि मगाउने कुरा ।’ उहाँले रास्कोटमा शाहीहरुलाई यसरी माफी मगाउन लगाएको पहिलो घटना भएको बताउनु भयाे। आफ्नो जीवनको लागि महत्वपूर्ण र बिर्सन नसकिने घटना भएको भन्दै स्मरण गर्नुभयाे ।

उहाँले फेरी पनि आफ्नो जीवनको फरक घटनाले दुख पाएको सुनाउनु भयाे । सहयोग गर्नु उल्टै अपजस आईलाग्दो रहेछ भन्नुभयाे । उहाँले आफ्नो जीवनमा भोगेको चौथो घटना यसैमा आधारित थियो । उहाँले त्यो घटनाको बारे यसरी भन्नुभयाे ‘मेरो दैलेखकै भाई दानवहादुर शाहीले कालिकोटबाटै गीता जैसी नामको केटी विहे गरेका थिए । उनीपनि मान्ममै व्यापार गर्छन र बस्छन । उनको घरमा झै –झगडा हुने गर्दाेरहेछ । २०८० सालकै कुरा हो, एक दिन केटीले सम्वन्धि विछेद र अंश बण्डाको मुद्धा हालिन । त्यो मुद्धाको प्रतिउत्तर लगाउदा दानबहादुरले मलाई नै साँची बनाएका रहेछन । दैलेख जिल्लाबाटै दुवै जना आएकाले पनि होला । पछि केटी आफै बिचमा अपहरण शैलीमा हराईन । उनी नेपालगंज भेटिएपछि कालिकोट ल्याईयो । गैरसरकारी संस्था सोसेक नेपालको निगरानीमा पुलिसले उनलाई राख्न दियो । उनले कार्यालयमा त्यही झुण्डिएर आत्महत्या गरिन । उनले आफ्नो सुसाईट नोटमा दानबहादुर र मेरो नाम पनि राखिछन ।

‘उनीहरुको कारणले मरेको हु भनिएको रहेछ ’ पूर्णबहादुरले भन्नुभयाे ‘म त केबल साँची मात्र रहेको थिए । जसले गर्दा मलाई १३ दिन सम्म हिरासत राखियो । पछि धरौटीमा रिहा भए । अहिले पनि तालिख बोकिरहेको छु ।’ पूर्णबहदुर मिजारले जीवनमा दलित भएकै कारण धेरै दुख पाएको गुनासो गरे । उहाँले भन्नुभयाे ‘मैले जति अरुको लागि भलाई गर्न चाहेपनि उल्टो भयो । मैले हिरासत बन्नु पर्ने अवस्था त थिएन नि ! उनीहरुको घरको झगडा त्यसैमा आफै आत्महत्या गरिन अनि मैले दुख पाउने भयो ।’

पूर्णबहादुरका यी प्रतिनिधिमुलक जीवन भोगाईका घटना मात्र हुन । बास्तवमा समाजमा अहिले पनि धेरै पूर्णबहादुरहरु छन । राज्यले जातीय विभेद विरुद्धको कानुन बनाएपनि समाजमा कार्यान्वयमा फितलो हुदा समस्या थपिएको छ । ‘विगतको भन्दा विभेद त कम भएको छ’ पूर्णबहादुरले भन्नुभयाे ‘तर अहिले पनि पूर्ण रुपमा अन्त्य भएको छैन,दलितहरुले संचालन गरेका सीपहरुको सम्मान छैन, विभेद जारी नै छ ।’ उहाँले यस्ता विभेद हटाउन राज्यले विशेष ध्यान दिनु पर्ने सुझाव दिए । पूर्णबहादुरले भने ‘थरकै कारण एउटा मानवले अर्को मानबबाट भोग्नुपर्ने विभेद हटाउन स्वयम मानव चेतनाको विकास गराउने तिर राज्य सक्रिय हुनुपर्छ अनि कानून कार्यान्वयनमा जोड दिनु पर्छ ।’

प्रतिक्रिया दिनुहोस