नेकपा महासचिव विप्लव र रेशम चौधरीबिच भेटघाट, साझा मुद्दामा सहकार्य गर्ने

१९ बैशाख, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव र नागरिक उन्मुक्ति पार्टीका संरक्षक/ नेता रेशम चौधरीबिच भेटघाट भएको छ ।

बिगत ६ बर्षदेखी जेलमा रहेका चौधरीको स्वास्थ स्थित बुझ्न र देशको विद्यमान समसामयिक राजनीतिक परिस्थितिबारे कुराकानी गर्न महासचिव विप्लवले डिल्लीबजार कारागारमा रहेका चौधरीलाई भेटघाट गर्नुभएको हाे ।

मङ्गलबार भएको भेटघाटको क्रममा नागरिक उन्मुक्ति पार्टीका नेता चौधरीले आफुमाथी राज्यले अन्याय गरेको र अहिलेको सत्तामा रहेका राजनीतिक पार्टीहरुको गलत प्रवृत्तिका कारण देश संकटमा फस्दै गएकोले अब नेपाली जनताले सत्तासिन राजनीतिक दलहरुको विकल्प खोज्नु पर्ने बताउनुभएको थियाे ।

महासचिव विप्लवले चौधरीमाथिको राज्यको रवैया गैरन्यायिक भएको भन्दै नेपाल कम्युनिस्ट पार्टीले रिहाईकाे लागि पहल गर्ने बताउनुभयो ।

भेटघाटको क्रममा नेपाल कम्युनिस्ट पार्टी र नागरिक उन्मुक्ति पार्टीबिचका साझा र मिल्ने बिषयमा सहकार्य गरेर जाने सहमति समेत भएको महासचिव विप्लवको सचिवालयले जनाएको छ ।

भेटघाटको क्रममा नेकपा स्थायी समिति सदस्य तथा प्रचारप्रसार बिभाग इन्चार्ज अनिल सी, केन्द्रिय सदस्यहरु दर्शन सी र अडिग सी समेत सहभागी रहेकाे थियो ।

प्रतिक्रिया दिनुहोस