प्रचण्डको प्रतिवेदनः ‘रुपान्तरण नभए पार्टीको विघटन र विर्सजनलाई कसैले रोक्न सक्दैन’

१७ साउन,काठमाडौ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले आफ्नो पार्टी रुपान्तरण नभए पार्टीको विघटन र विर्सजनलाई कसैले रोक्न नसक्ने अवस्थामा पुगेको वताउनु भएको छ ।

बुधबारदेखि सुरू भएको पार्टीको केन्द्रीय कमिटी बैठकमा राजनीतिक तथा संगठनात्मक प्रतिवेदन पेस गर्दै अध्यक्ष प्रचण्डले आफ्नो पार्टी व्यापक पुनर्निर्माणको सम्भावना र विघटनको खतराको दोसाँधमा रहेको भन्दै चिन्ता व्यक्त गर्नु भएको हो ।
अध्यक्ष प्रचण्डले यही विरोधाभासका कारण आफ्नो पार्टीको पहिचान गुम्ने खतरामा रहेको वताउनु भयो ।

‘वैचारिक राजनीतिक अभिव्यक्तिमा हामी कम्युनिस्ट पार्टी छौं तर संगठनात्मक आचरणमा हामीले अराजकतावादी व्यक्तिवाद अबलम्बन गरेका छौं,’ प्रचण्डको प्रतिवेदनमा उल्लेख छ ।

उहाँले प्रतिवेदनमा लेख्नु भएको छ ‘कुनै पनि व्यक्ति वा राजनीतिक दलको पहिचान अन्ततः त्यसको अभिव्यक्तिबाट होइन, अपितु उसको दैनिक व्यवहार र आचरणबाट निर्धारित भइरहेको हुन्छ । हाम्रो पार्टीभित्र रहेको यही नै प्रमुख विरोधाभास हो । यो विरोधाभासकै कारण हाम्रो पहिचान गुम्दै जाने खतरा र हामी जनताबाट अलग्गिँदै जाने खतरा पैदा भएको छ ।’

अध्यक्ष प्रचण्डले अविलम्ब विचार, राजनीतिक प्रतिबद्धता र अभिव्यक्ति अनुसार संगठनात्मक व्यवहार र आचरणमा रूपान्तरण गर्ने नीति, योजना, कार्यक्रम तयार गरेर त्यसको अनुशरण गर्ने कठोर प्रतीज्ञा गर्न नसके कम्युनिस्ट पार्टीका रूपमा आफ्नो पार्टीको विघटन र विर्सजनलाई कसैले रोक्न नसक्ने ठोकुवा गर्नु भएको छ ।

उहाँले केन्द्रीय समितिको काँधमा यही विरोधाभास र अन्तरविरोधको समाधानका लागि ठोस नीति, योजना र कार्यक्रम तर्जुमा गर्ने ऐतिहासिक जिम्मेवारी आएको भन्दै त्यसका लागि आठौं राष्ट्रिय महाधिवेशनले प्रतिबद्धता जनाएअनुसार विधान सम्मेलन हुँदै विशेष महाधिवेशनसम्म पुग्ने ठोस कार्यक्रम बनाई तिनको सफल कार्यान्वयनका लागि संकल्प लिन जरूरी रहेको प्रतिवेदनमा उल्लेख गर्नु भएको छ ।

उहाँले रूस–युक्रेन युद्धसम्म आइपुग्दा विश्वको ध्रुवीकरण नयाँ प्रतिस्पर्धा र द्वन्द्वको चपेटामा परेको बताउदै बहुध्रुवीय विश्व र त्यसको प्रतिस्पर्धाको परिणाममा विश्वभरका जनताले अभाव र असुरक्षाको नयाँ दुष्चक्रको सामना गर्न परिरहेको पनि दाबी गर्नु भएको छ ।

कोभिड महामारीबाट तंग्रिन नपाउँदै विश्वभरका जनताले खाद्यान्न अभाव, महँगी र बेरोजगारीको पुँजीवाद निर्मित महामारी भोग्नुपर्ने अवस्था आएको टिप्पणी उहाँको छ ।

उहाँले प्रतिवेदनमा भन्नु भएको छ ‘विश्वका प्रमुख शक्तिहरूबीचको यो ध्रुवीकरण, प्रतिस्पर्धा र द्वन्द्वको असर हाम्रोजस्तो भूराजनीतिक अवस्थितिको देशमा गम्भीर रूपमा देखा परेको छ । आउँदा दिनमा यो बढ्दै जाने पक्का देखिएको छ । परिस्थितिको यो सन्दर्भमा देशको एकता र स्वाधीनतालाई सुदृढ गर्ने, सामाजिक न्याय र सुशासनको कार्यक्रमलाई अझ बलियो बनाउने संगठन निर्माण र परिचालनलाई कार्यक्रम बनाइ अभियानका रूपमा सञ्चालन गर्न जरूरी छ ।’

प्रतिक्रिया दिनुहोस