मिडिया मोर्चा क्रान्तिको अग्रमोर्चा हो ः प्रकाण्ड

१९ पुस,सुर्खेत । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता खडग्वहादुर विश्वकर्मा (प्रकाण्ड)ले मिडिया मोर्चा क्रान्तिको अग्रमोर्चा भएको वताउनु भएको छ ।

सोमवार सुर्खेतको वीरेन्द्रनगरमा जनपत्रकार संगठन नेपालमा आवद्ध पत्रकारहरु संगको भेटघाट तथा छलफल कार्यक्रममा प्रवक्ता प्रकाण्डले मिडिया मोर्चा क्रान्ति सफल वनाउने क्षेत्रमा विगतमा माक्र्स,लेनिनको पालामा पनि अग्रमोर्चा भएको वताउनु भएको हो । उहाँले इतिहासमा माक्र्स,लेनिन,माओ आफैले पनि पत्रिकाको सम्पादक भएर मिडिया मोर्चा समाल्नु भएको थियो भन्नु भयो ।

उहाँले आधारभूत रुपमा अरु भन्दा भिन्न पार्टी र जनपत्रकार संगठनको मोर्चा भएको भन्दै एकीकृत जनक्रान्ति सफल वनाउन जनपत्रकार संगठनको महत्पूर्ण भूिमका हुने वताउनु भयो । प्रवक्ता प्रकाण्डले जनताको पार्टी र नेतृत्व एकमात्र नेकपा भएकाले अहिले सिंगो राष्ट्रले आफ्नो पार्टी प्रति आसा गरेको वताउनु भयो ।

उहाँले भन्नु भयो “अब जनताको आसा नेकपाले मात्र पुरा गर्छ, आज क्रान्तिकारी विचार,पार्टी र नेतृत्व नेकपा संग मात्र छ । तपाईहरुले जनताको पक्षमा कलम चलाउनु होस् ।”

प्रवक्ता प्रकाण्डले आफ्नो पार्टी महान सम्भावना वोकेको पार्टी भएको भन्दै अहिलेको व्यवस्थाको संकटको निकास पनि यहि पार्टीले उठाएको राजनीतिक एजेण्डावाट पुरा हुने दावी गर्नु भयो ।

विश्वमा क्रान्तिकारी र पूँजीवादी मान्यता वोकेका मिडियाहरु भएको भन्दै उहाँले क्रान्तिकारी मान्यता वोक्ने मिडियाहरुले मात्र जनताको पक्षमा काम गर्न सक्ने वताउनु भयो ।

पूँजीवादी मान्यता वोक्ने मिडियाहरुले दलाल,भ्रष्ट र राष्ट्रघाती तत्वहरुको सेवा गरेको भन्दै त्यस विरुद्ध क्रान्तिकारी जनपक्षीय मिडियाहरु लाग्नु पर्ने वताउनु भयो ।

सो अवसरमा नेकपाका केन्द्रीय सदस्य एटमले जनपत्रकारहरुले जनताको मुक्तिको भूमिका पुरा गर्न आग्रह गर्नु भयो ।
कार्यक्रममा सहभागी नेकपा सुर्खेत जिल्ला सेक्रेटरी धुव्रले पत्रकार मोर्चा र पार्टीको मोर्चा जनताको हितमा केन्द्रीत हुनुपर्ने वताउनु भयो ।

छलफलमा सहभागी जनपत्रकार संगठनका पत्रकारहरुले मिडियाको स्तर वुद्धि,थप विकास र विस्तार गर्न आवश्यक भएको सुझाव दिएका थिए ।

 

प्रतिक्रिया दिनुहोस