बालिकामाथि यौन दुव्र्यवहार गरेको आरोपमा एकजना पक्राउ

चैत्र २१, जुम्ला । जुम्लामा चार बर्षीया बालिकामाथि यौन दुव्र्यवहार गरेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

चन्दननाथ नगरपालिका–४ भारतीवाडाका ४८ बर्षीय श्याम भारतीलाई सोमबार दिउँसो नाबालिका माथि यौन दुव्र्यवहार गरेको आरोपमा सोमबार साँझ पक्राउ गरिएको प्रहरी नायव उपरीक्षक सीताराम रिजालले जानकारी दिुनभयो ।

उहाँका अनुसार पीडित बालिकाका आफन्तले जिल्ला प्रहरी कार्यालयमा निवेदन दिएपछि भारतीलाई पक्राउ गरी अनुसन्धान सुरु गरिएको छ । भारतीवाडा स्थित अशोक नमूना आधारभुत विद्यालय परिसरमा लगेर बालिकामाथि यौन दुव्र्यवहार गरेका भारतीलाई आफन्तले फेला पारेका थिए ।

पीडित बालिकाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालमा स्वास्थ्य परीक्षण गरी परिवारको जिम्मा लगाइएको छ । दुव्र्यवहार विरुद्ध प्रहरीमा जाहेरी दिएपछि बालिकाको परिवारलाई धम्की आइरहेको पीडित परिवारका सदस्यले बताएका छन् ।

प्रहरी निरीक्षक नवीन ओलीका अनुसार पीडित पक्ष आरोपितको दवावमा मिलापत्र गर्न खोज्दै थिए । तर सार्वजनिक भइसकेको घटनाबारे प्रहरीले अडान लिएपछि मात्र पीडित पक्षले जाहेरी दर्ता गराएका हुन् ।

प्रतिक्रिया दिनुहोस