चैत्र २१, काठमाडौं । केन्द्रीय समिति सदस्य स्वतः महाधिवेशन प्रतिनिधि हुन नपाउने निर्णय उल्टिएपछि नेपाली काँग्रेसका ५५ जना जिल्ला सभापतिले पार्टी सभापति शेरबहादुर देउवालाई निर्णय सच्याउँन आग्रह गरेका छन् ।
काठमाडौंमा आज सम्पन्न दुई दिने भेलाले केन्द्रीय समितिलाई आफ्नो निर्णय सच्याउन दबाब दिने र त्यसो नगरे विशेष महाधिवेशनसम्म जाने निर्णय गरेको छ । गत पुसमा सम्पन्न पार्टी महासमिति बैठकले केन्द्रीय समितिका सदस्य स्वतः महाधिवेशन प्रतिनिधि हुन नपाउने र आफ्नो क्रियाशिल सदस्य भएको क्षेत्रबाट निर्वाचित भएर आउनुपर्ने निर्णय गरेको थियो ।
विधान संशोधनका लागि केन्द्रीय समिति बैठकले उक्त निर्णय अनुमोदन गर्नुपर्नेमा उल्ट्याएको थियो । फागुन १२ गते सम्पन्न केन्द्रीय समिति बैठकले महासमितिको बैठकको उक्त निर्णय उल्ट्याएको हो । त्यसपछि रामचन्द्र पौडेल र कृष्ण सिटौला निकट जिल्ला सभापति असन्तुष्ट बनेका थिए ।
आज सम्पन्न भेलामा ४४ जिल्लाका सभापतिको उपस्थिति रहेको र ११ जिल्लाका सभापतिले भेलाको निर्णयमा समर्थन जनाएको नुवाकोट जिल्ला सभापति जगदिश्वर नरसिंह केसीले जानकारी दिनुभयो । नेपाली काँग्रेस केन्द्रीय समिति बैठक पर्सी शनिबार बस्दै छ ।