सल्यानमा तेस्रो विवाह गरेको आरोपमा वडाध्यक्ष पक्राउ


१९ मंसिर, सल्यान । सल्यानमा बहुविवाहको आरोपमा एकजना वडाध्यक्ष पक्राउ पर्नु भएको छ । पक्राउ पर्नेमा वनगाड कुपिण्डे नगरपालिका ९ का वडाध्यक्ष ईन्द्रबहादुर कुमाई रहनु भएको छ । वडाध्यक्ष कुमाईलाई शुक्रबार बेलुका जयतपानी बजारबाट प्रहरीले नियन्त्रणमा लिएको हो ।
वडाध्यक्ष कुमाईसहित उहाँकी कान्छी श्रीमती भनिएकी ग्वाँमी विष्ट कुमाईलाई समेत प्रहरीले नियन्त्रणमा लिएको छ ।
घरमा दुई जना श्रीमती र दुवै श्रीमतीतर्फ ४ जना छोराछोरी हुँदाहुँदै तेस्रो श्रीमती बिहे गरेको आरोपमा स्थानीय ५ जनाले उहाँविरुद्ध बहुविवाह गरेको आरोपमा उजुरी दिएका थिए ।
सोही उजुरीका आधारमा अदालत सल्यानबाट अनुमति लिएर आरोपित दुवैजनालाई नियन्त्रणमा लिएको प्रहरी प्रवक्ता एवं प्रहरी निरीक्षक लक्ष्मण ओलीले जानकारी दिनु भयो ।
पक्राउ परेका दुवै जनालाई जिल्ला प्रहरी कार्यालय सल्यानको हिरासतमा राखी थप अनुसन्धान कार्य गरिरहेको उहाँले बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस