बैशाख २२,कालिकोट । नेपाल कम्युनिष्ट पार्टीबाट रास्काेट नगरपालिकामा स्वतन्त्र नगर प्रमुखकाे उम्मेदवारी दिनुभएका पहिलो महिला नेत्री धिरिन्द्रा कुमारी उपाध्याय “भृकुटी” ले जनताले आफुलाई विजयी गराएमा सबैभन्दा पहिला भ्रष्टाचारको जराे उखेल्ने बताउनु भएको छ ।
चुनाव प्रचारप्रसारका क्रममा बिहीबार स्यूनाका मतदाता सँगकाे भेटघाटमा नगर प्रमुखका उम्मेदवार भृकुटीले यस्तो बताउनु भएको हाे ।
उहाँले स्थानीय निकायमा भ्रष्टाचारले गहिरो जरा गाडेको भन्दै यसलाई जरैबाट नउखेल्य सम्म नगरको विकास र समृद्धि नहुने ठाेकुवा गर्नुभयो ।
नगर प्रमुखका उम्मेदवार भृकुटीले भन्नुभयो “नगर भित्र भ्रष्टाचार माैलाएकाे छ, जाड रक्सी जुवा तासको विकृति फैलिएको छ, यसलाई म जुनसुकै हालमा पनि राेक्नेछु ।”
उहाँले रास्काेट नगरपालिका भ्रष्टाचारको अखडा भएको र आफ्ना कार्यकर्ता पाल्ने थलो भएको जिकिर गर्नुभयो ।
जनताको लागि मालिक नभएर सेवक हुने प्रतिबद्धता जाहेर गर्दै जनताले विजय गराएमा अरूभन्दा नयाँ काम गर्ने बताउनुभयो ।