जीवनको सुख कहाँ छ ?

सुख । दुई अक्षरले बनेको यो शब्द वरीपरी नै हाम्रो जीवन घुमेको छ । हामी धन कमाउँछौ किन ? सुखका लागि । हामी सफल बन्न चाहन्छौ किन ? सुखका लागि । हामी उन्नती गर्न चाहन्छौ किन ? सुखका लागि । हामी घर किन्छौ, गाडी किन्छौ, बैंक ब्यालेन्स गर्छौ किन ? सुखका लागि ।

अर्थात हामी जीवनमा जे-जति यत्न गरिरहेका छौं, त्यसको एउटै गन्तव्य हो सुख । हामी परिवारबाट सुख खोजिरहेका हुन्छौ । आफ्नो पेशा-व्यवसायबाट सुख खोजिरहेका हुन्छौ । हामी आफ्ना कर्महरुबाट सुख खोजिरहेका हुन्छौ । प्रतिष्ठा आर्जन गर्नु, प्रख्याती कमाउनु, उन्नती गर्नुको भित्री भोक पनि सुख नै हो ।

सुख के हो त ?

त्यही सुखका लागि हामी जीवनभर भौतारिन्छौ । जीवनभर अनेक प्रयास गर्छौ । हामीले खोज गर्ने भौतिक कुराहरु सुखका खातिर हुन् । जबकी सुख एक भावनात्मक अवस्था हो ।

गाडीले हामीलाई सुख दिदैन । सुविधा दिन्छ । त्यही सुविधामा हामी सुख प्राप्त गर्छौ । मिष्ठान्न भोजनले हामीलाई सुख दिदैन, सन्तुष्ट दिन्छ । त्यही सन्तुष्टमा हामी सुख प्राप्त गर्छौ ।

सुखको स्रोत के हो ? सुखको मुहान के हो ? सुख कहाँबाट प्राप्त हुन्छ त ? सुख आफैमा कुनै भौतिक उपलब्धीबाट प्राप्त हुने कुरा होइन । तर, हामी भौतिक उपलब्धीबाटै सुखको खोज गरिरहेका हुन्छौ । भलै यसबाट हामीले सुखको माध्याम फेला पार्न सकिएला । यद्यपी तृप्त हुन सकिदैन ।

सुखको चक्करमा आपसी खिचातानी

अहिले हामी धन दौलतमा खिचातानी गरिरहेका छौ । आफ्नै दाजुभाई पनि सत्रु भइरहेका छौ । अनेक दाउपेच गरिरहेका छौ । के का लागि ? सम्पतिका लागि । सम्पति केका लागि ? जीवनलाई सहज बनाउनका लागि । जीवनलाई सहज किन बनाउने ? सुखका लागि ।

हामी सुखको खोज उल्टो ढंगले गरिरहेका छौ । यसको अर्थ यो होइन कि हामीलाई धन दौलत, गाडी, घर, सुनचाँदी चाहिदैन । चाहिन्छ । तर, ति उपभोग्य बस्तु हुन् । उपभोग गरेपछि त्यसको आयु समाप्त हुन्छ । अतः यी भौतिक कुरा सुखका मुहान भने होइनन् । सुखको मुहान चाहि हामीभित्र नै छ । सुख हामीले भौतिक बस्तुमा खोजेर कहिल्यै तृप्त हुन सकिदैन । बरु आफ्नै मनभित्र पस्नुपर्छ । आफ्नै मनभित्र खोज्नुपर्छ ।

सुख एक भाव

सुख एक मानसिक स्थिती  हो र यो एक अनुभूति हो । त्यसैले यसलाई बाहिर खोजेर प्राप्त हुँदैन । यो व्यक्ति र उसको स्वभावमा निर्भर रहन्छ । त्यसैगरी सुख हरेकका लागि फरक-फरक हुन्छ ।

सुख दीर्घगामी स्वस्तिको अनुभूति हो । मनको शान्ति र जीवनबाट सन्तुष्ट हुनको भाव हो । हामी सधै सुखको कामना गर्छौ । हामी यस्तो सोच्छौ कि, मिठो खानेकुरा खान पाइयोस्, महंगो लुगा लगाउन पाइयोस्, सधै मोज गर्न पाइयोस्, तब हामी सुखी हुन्छौ । तर, यस्तो हुँदैन । हामी आफ्नो आवश्यक्ता र इच्छाहरु पुरा भएमा सुख पाइन्छ भन्ने ठान्छौ । यद्यपी यस किसिमको चिन्तनले हामीलाई एक्लोपन र डिप्रेसनको रोगी बनाउँछ ।

सुख पैसामा होइन, सन्तुष्टिमा

पैसा नै सुखको आधार हुँदो हो त संसारका सबैभन्दा धनाड्य सुखी हुने थिए । तर, अथाह धन दौलत भएकाहरु पनि मनमा दुःख राखेर बाँचेका छन् । दुःख साँधेर बाँचेका छन् । जबकी कंगालहरु सुख अनुभूत गरिरहेका हुनसक्छन् ।

सुख पैसाले खरिद गर्न सकिदैन । पैसाले त हामी सुविधा प्राप्त गर्न सक्छौ । सुविधा प्राप्त हुँदैमा सुख हुन्छ भन्ने छैन । किनभने सुविधाले मात्र सवै अवस्थामा हामीलाई सुखी तुल्याउँदैन ।

सुखको मुहान

बुद्धले भनेका छन् कि, सुखको सबैभन्दा ठूलो स्रोत भनेको अरुलाई आफ्नो हृदयमा स्थान दिनु हो । जब हामी पूर्ण समर्पित भावले अरुको भलाई र सुखको परवाह गर्छौ, तब हाम्रो हृदय स्नेले भरिन्छ । यतिबेला हामी शारीरिक रुपले पनि एकदमै आनन्दित अनुभूत गरिरहेका हुन्छौ ।

हामी अरुबाट लिएर, अरुबाट खोसेर हामी कहिल्यै पूर्ण हुँदैनौ । साथै सुखी पनि । अरुको धन लिएर, अरुको पसिना लिएर हामी सन्तुष्ट हुन सक्दैनौ । अरुको कारण नै हामी सुखी हुनुपर्छ भन्ने अपेक्षाले हामीलाई थप दुःखमा पुर्‍याउँछ । बरु, अरुको लागि आफुले केही गरियो भने त्यसले सुख प्राप्त हुन्छ । यस्तै सुख दिगो हुन्छ । सुख समताको भाव हो । यो सन्तुष्टिबाट मिल्छ ।

प्रतिक्रिया दिनुहोस