निजी सम्पत्तिको मोह नै भ्रष्टाचारको मुख्य कारण होः विप्लव सी

२० साउन, काठमाडौ । नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लव सीले निजी सम्पत्तिको मोह नै भ्रष्टाचारको मुख्य कारण भएको बताउनु भएको छ ।

माक्र्सवादी ज्ञानकेन्द्रले शनिवार आयोजना गरेको “भ्रष्टाचारको महारोग र नियन्त्रणका उपायहरु वारे” शिर्षकको अन्तक्र्रिया कार्यक्रमलाई जुम मिटिङ्गका माध्यमबाट सम्वोधन गर्दै महासचिव विप्लवले निजीत्व भनेको पशुत्व र अज्ञानताबाट जन्मिने गरेको बताउनु भएको हो ।

उहाँले निजी सम्पत्तिको मोह रहे सम्म भ्रष्टाचार पूँजीवादी व्यवस्थामा मात्र होईन समाजवादी व्यवस्थामा पनि हुन सक्ने बताउनु भयो ।
महासचिव विप्लवले भन्नु भयो “पूँजीवाद भ्रष्टाचारको मुख्य जन्मदाता हो । समाजवादमा अज्ञानता र विचारको अभावले भ्रष्टाचार हुन्छ । त्यसलाई नियन्त्रण गर्न सकिन्छ । तर पूँजीवादमा चाहेर पनि भ्रष्टाचारको अन्त्य गर्न सकिदैन ।”

पशुमा पनि निजीत्व हुन्छ, उसले अरुलाई बाँडन जानेको हुदैन र त्यो चेतना पनि हुदैन भन्दै महासचिव विप्लवले मानवमा निजीत्व भएपनि चेतनाको विकासले सामुहिकता तिर जानसक्ने बताउनु भयो ।

मान्छे भित्रको पशुत्व नहटाए सम्म भ्रष्टाचार रोक्न नसकिने बताउदै विप्लवले भ्रष्टाचार रोक्नका लागि मान्छेमा भएको निजि सम्पत्तिको मोह हट्नुपर्ने र मान्छे भित्रको पशुत्व हट्नुपर्नेे तर्क गर्नु भयो ।

उहाँले निजीत्वले राज्यसत्ताको जन्म गराएको र त्यसको विकास दलालपँजीवाद हुदै भुमण्डलकृत पुँजीवादी साम्राज्यवादी व्यवस्था सम्म पुगाएको दाबी गर्नु भयो ।

उहाँले भन्नु भयो “जव राज्यसत्ताको जन्म भयो । निजी सम्पत्तिको मोहमा प्रोत्साहन गरियो । भ्रष्टाचारको विकास भयो । एकले अर्को माथि शोषण गर्ने दमन गर्ने लगायतका समस्याहरु देखा परे । जसले गर्दा दासयुग देखि समान्तवादी युग हुदै पूँजीवादी युग सम्म पुग्दा भ्रष्टाचार बढेर गयो ।”

उहाँले अहिले पूँजीवाद भुमण्डलीकृत पूँजीवादका माध्यमबाट आएको र यसको नेतृत्व अमेरिकी साम्राज्यवादले गरेको दाबी गर्नु भयो । उहाँले जहिले सम्म निजीत्व हावी हन्छ र राज्यसत्ताले त्यसको संरक्षण गर्छ त्यतिवेला सम्म भ्रष्टाचारको अन्त्य हुन नसक्ने ठोकुवा गर्नु भयो ।

महासचिव विप्लवले भ्रष्टाचार निर्मूल पार्न सुरुमा निजीत्व र प्रलोभनको अन्त्य गर्नुपर्ने र दोस्रो राज्यसत्तामा गुणात्मक परिवर्तन गर्नुपर्ने विचार व्यक्त गर्नु भयो ।

उहाँले राज्यसत्तामा गुणात्मक परिवर्तन भनेको दलालपूँजीवाद तथा भुमण्डलीकृत पूँजीवादी व्यवस्था हटाएर त्यसको ठाउँमा वैज्ञानिक समाजवादी र साम्यवादी व्यवस्थाको स्थापना गर्नुपर्ने विचार व्यक्त गर्नु भयो ।

 

प्रतिक्रिया दिनुहोस