२३ जेठ, कालिकोट । कालिकोट नरहरीनाथ घर भएका चर्चित कलाकार पाण्डब विष्ट र सुदूरपश्चिमकी चर्चित कलाकार पवित्रा भण्डारी बिचको १९ बर्ष अघि भएको बैवाहिक विछोड फेरी पुनर्मिलनतिर गएको छ ।
शुक्रवार नरहरीनाथ गाउँपालिकाले उनीहरुको बैवाहिक सम्वन्धलाई फेरी जोडिहोस भन्दै स्वागत गरेको छ ।
गाउँपालिकाका अध्यक्ष नगेन्द्र विष्टले कलाकार पाण्डव विष्ट र कलाकार पवित्रा भण्डारीलाई खाँदा ओढाएर बैवाहिक जीवन फेरी जोडिहोस भन्दै अग्रीम शुभकामना दिनु भयो ।
अध्यक्ष विष्टले यो जोडिलाई फेरि एउटै ठाउँमा देख्न पाउदा एकदमै खुसी लागेको बताउनु भयो । उहाँले पाण्डव विष्टलाई सफल बनाउन धेरै प्रयास असफल भएको तर्क गर्दै यो प्रयास सफल हुने र आफ्नो तर्फबाट गर्नपर्ने सहयोग गर्न तयार भएको बताउनु भयो ।
अध्यक्ष विष्टले भन्नु भयो, ‘स्थानीय सरकारले के गर्नुपर्छ गित निकाल्नुपर्ने होकी ? अरू के के गर्नुपर्ने हो ? तयार छ । मैले यसलाई आफ्नो कार्यकालको सबैभन्दा ठुलो उपलब्धिका रूपमा लिएको छु । बाटो घाटो त जो कोहीले पनि बनाउछ । एकजना मान्छेलाई साँच्चिकै मान्छे बनाउन पाइयो भने र पहिलेको ठाउँमा पुर्याउन पाइयो भन्ने त्यो भन्दा ठुलो उपलब्धि के नै हुन सक्छ ?’
जनयुद्धका वाल कलाकारको रुपमा परिचित कलाकार विष्ट १४ बर्षको उमेर देखि माओवादी जनयुद्धमा कलाकार भएर लागेका थिए ।
माओवादी जनयुद्धमा लाग्दै गर्दा एरिया कलाकार, जिल्ला कलाकार, व्यूरो स्तरिय कलाकार हुदै केन्द्रीय सामना कलाकारसम्म पुगेका थिए ।
कला र गलाका धनी विष्ट सुदूर तथा मध्यपश्चिम क्षेत्रमा चर्चित देउडा गायक कलाकारको रुपमा धेरैले चिन्ने गर्दछन ।
कलाकार विष्टले २०६३ सालमा शान्ति प्रक्रिया सुरु लगत्तै सुदूरपश्चिमकी कलाकार भण्डारीसंग विवाह गरेका थिए ।
तर विष्टले तत्कालिन नेकपा (माओवादी) पार्टीसंग सल्लाह नगरेर आफै विवाह गरेका थिए । पार्टीको अनुमति र सल्लाह विना विवाह गरेकोमा पार्टीले केही समय कलाकार विष्टलाई कार्वाही समेत गर्यो ।
त्यसपछि कलाकार विष्ट माओवादीबाट टाढिदै गए । श्रीमती भण्डारीसंग केही समय राम्रो सम्वन्ध भएपनि पछि सम्वन्ध विग्रिन पुग्यो । जसले गर्दा उनीहरु बिचको सम्वन्ध विछोडसम्म पुग्यो ।
यसबाट कलाकार विष्ट विरक्तिएका थिए । त्यसपछि कलाकार विष्टले निकै पीडादायी तथा भावनात्मक गितहरु दर्जनौ गाएका छन ।
स्वागत कार्यक्रममा कलाकार विष्टले भावुक हुदै मानवता, धैर्यता, विश्वास र इमान्दारिता भयो भने कुनैदिन पनि गुमेको कुरा प्राप्त हुने विश्वास व्यक्त गरेका छन ।
उनले भने ‘यो कसरी सम्भव भयो भने जब म विरामी भए मिडियाको माध्यमबाट पवित्रा सम्म पुगेछु उसको म प्रतिको साहनुभूति र मानवताले अहिले मसँग जोडिन पुगेकि हुन ।’
‘अशक्त, असाहय, अनाथ, आकाशको बाँस, सडकको साथ, धुलो माटोको गाँस, मर्नु र बाँच्नुको दोसाधमा तडपिएको, अड्कीएको र खड्किएको मलाई साथ दिन तयार भइन धेरै धेरै धन्यवाद दिन चाहान्छु’ विष्टले भने ।
विष्टले दुवैको जीवन संघर्ष र कठिनपूर्ण रहेको भन्दै पवित्रा संगको कुराकानी ५।६ महिना अगाडि मानव सेवा आश्रम हुदादेखि नै शुरू भएको बताए । उनले भने ‘यता आएपछि पनि लगातार सम्पर्कमै थियौं अहिले यो विन्दुमा पुग्यौं ।’
कलाकार भण्डारीले आफूहरूको आन्तरिक कारणले सम्बन्ध बिग्रिएको भन्दै अब पाण्डवले सुधारिएर जानुपर्ने र आफूले साथ दिने बताईन । उनले कर्णालीको एक मात्रै गायक भएको भन्दै अझै स्रोताको मनमुटुमा पाण्डव रहेको तारिफ गरिन ।
सम्वन्ध विग्रिएपछि कलाकार विष्टले विछोडको पीडा र वेदनाले आफूलाई समाल्न नसकेर अत्यधिक मादक पदार्थ सेवन गर्नेतिर लागे । उनको मादक पदार्थ सेवनकै कारण केही बर्ष अघि लडेर ढाड्मा चोट समेत लाग्यो । कलाकार विष्ट अहिले अशक्त पनि छन ।
राजनीतिबाट टाढा रहदै आएका विष्टलाई विभिन्न राजनीतिक पार्टीहरुले प्रयोग गरे । कार्यक्रममा सामान्य खर्च दिएर गित गाउनसम्म लगाए । तर उनको उपचारमा कसैले ध्यान दिन सकेनन् ।
कलाकार विष्टको सानै उमेरमा आमा वुवा वितेका थिए । उनलाई पारिवारिक रुपमा नियन्त्रण गर्ने अभिभावक पनि कोही हुन सकेन । मादक पदार्थ सेवन गर्ने कार्य उनको नियन्त्रण भन्दा वाहिर जान थाल्यो । गाँस वाँसको समस्याले उनको कला र क्षमता ओझेलमा पर्न गएको थियो । कर्णालीको गहना भएपनि उनको गहना कर्णालीका राजनीतिक पार्टीहरुले समाल्न सकेनन् ।
निकै दुखदायी जीवन विताईरहेका विष्टको आफ्नो भन्नु कोही थिएन । वैवाहिक जीवनमा आएको धक्काकै कारण जीवन अन्धकारमा धकेलिए जस्तो थियो । पुरानै बैवाहिक जीवन अव फेरी जोडिन सक्ने सम्भावना बढेको छ । यसले कालिकोटे जनतालाई हर्षित पनि बनाएको छ ।
कलाकार विष्टको अन्धकारलाई उज्यालो दिशा छाउने गरी करिव २ दशकपछि पुरानै वैवाहिक सम्वन्ध जोडिएमा निकै राम्रो हुनेछ । यसले समाजमा सकरात्मक सन्देश पनि दिनेछ ।
दुवै कलाकारको दुखदायी र एक्ला एक्लै वितेको जीवन आगामी दिनमा सुखमय हुने आसा गरिएको छ । उनीहरु दुवै जनाले आउने दिनमा संगै बस्ने र संगै मर्ने वाचा कसम खावन कालिकोटे जनताको भावना छ । कलाकार विष्ट र कलाकार भण्डारीको आगामी दिनमा दाम्पत्य जीवन फेरी जोडिहोस अग्रिम शुभकामना ।