राजनीतिक परिस्थितिले सुरक्षा चुनौती आउन सक्ने सेनाको चिन्ता

२३ जेठ, काठमाडौं । संसद विघटनपछि सिर्जित परिस्थितिले सुरक्षा चुनौती ल्याउन सक्ने भन्दै नेपाली सेनाले चिन्ता व्यक्त गरेको छ ।

कार्यकालको एक हजार दिन पूरा भएको अवसरमा पत्रकारहरुसँग बोल्दै प्रधानसेनापति पूर्णचन्द्र थापाले पछिल्लो राजनीतिक परिस्थितिले सुरक्षा चुनौती ल्याउन सक्नेमा सेना सजग र सतर्क हुनुपर्ने बताउनु भयो ।

परिस्थितिहरुको संवैधानिक प्रक्रियाबाटै समाधान खोज्नुपर्ने थापाले वताउदै सेनाले पछिल्लो राजनीतिक घटनाक्रमलाई नजिकबाट नियालेको पनि जानकारी दिनु भयो ।

थापाले नेपाली सेना आफ्नो संवैधानिक दायित्वबाट बाहिर नजाने पनि बताउनु भयो । उहाँले भन्नु भयो ‘हरेक संकटमा सेनाको दायित्व र जिम्मेवारी संविधानले प्रष्ट गरेको छ ।’ सोही अवसरमा थापाले सेनामा नेतृत्व हस्तान्तरणको प्रक्रिया सुरु गरेको पनि जानकारी दिनु भयो ।

कार्यकाल सकिन तीन महीना बाँकी रहँदै उहाले नेतृत्व हस्तान्तरणको प्रक्रिया सुरु गर्नु भएको हो । अन्तिम एक महीना विदामा बस्ने परम्परा अनुरुप त्यसअगावै नेतृत्व हस्तान्तरणलाई निष्ठापूर्वक र विस्तृत रुपमा गरिने थापाले बताउनु भयो ।

सेनामा रथी प्रभुराम शर्मा थापाको उत्तराधिकारी बन्ने लाइनमा हुनुहुन्छ ।

प्रतिक्रिया दिनुहोस