श्रावण २२ काठमाडौँ : लेबनानको राजधानी बेइरुतमा भएको ठूलो विस्फोटमा परी ज्यान गुमाउनेको सङ्ख्या १३५ पुगेको छ ।
मङ्गलबार भएको उक्त विस्फोटमा परी चार हजारजना घाइते भएका छन् । घटनापछि भग्नावशेषमा केही मानिस फसिरहेको हुनसक्ने र मृतकको सङ्ख्या बढ्नसक्ने अनुमान गरिएको छ ।
घटनास्थलमा उद्धारकार्य चलिरहेको छ । विस्फोटका बारेमा अनुसन्धान सुरु गर्नु अघि राजधानी सहरको उक्त बन्दरगाहका केही अधिकारीहरूलाई उनीहरूकै निवासमा नजरबन्दमा राखिएको लेबनान सरकारले जनाएको छ ।
लेबनानी राष्ट्रपति मिसेल आउनका अनुसार असुरक्षित रूपमा राखिएको २,७५० टन अमोनियम नाइट्रेट विस्फोटन भएको थियो । विस्फोटको आवाज २४० किलोमिटर टाढासम्म सुनिएको थियो ।
यूकेस्थित सेफिल्ड विश्वविद्यालयका विशेषज्ञहरूले बेइरुत विस्फोटको शक्ति दोस्रो विश्वयुद्धका बेला जापानको हिरोसिमामा खसालिएको अणु बमको शक्तिसँग तुलना गर्दा त्यो १० भागको एक भाग रहेको अनुमान गरेका छन् ।
उनीहरूले पछिल्लो घटना ‘निःसन्देह आधुनिक इतिहासको सबैभन्दा ठूलो गैरआणविक विस्फोटमध्येको एक’ बताएका छन् । स्रोत : बीबीसी