२१ कार्तिक,काठमाडौ । नेपाल कम्युनिस्ट पार्टीले आफूलाई राष्ट्रिय स्वाधीनताको पक्षमा खरो उभ्याउदै पार्टी पूनर्गठन दिवसको अवसर पारेर वैदेशिक हस्तक्षेपबिरुद्ध राजधानीमा बृहत् प्रदर्शन सहित सभा गर्ने भएको छ ।
नेकपा सम्वद्ध जनवर्गीय संगठन तथा मोर्चाहरुका प्रमुखहरुको उपस्थितिमा बुधवार काठमाडौमा सम्पन्न संयुक्त बैठकले आगामी मंसिर ८ गते पार्टी पूनर्गठन दिवसलाई राष्ट्रिय स्वाधीनताको पक्षमा र बैदेशिक हस्तक्षप विरुद्ध वृहत प्रदर्शन सहित सभा गरेर मनाउने निर्णय गरेको हो ।
बैठकमा नेकपाका प्रवक्ता तथा पार्टी स्थायी समिति सदस्य प्रकाण्ड सीले पार्टीको पूनर्गठन दिवस भव्य पर्वका रुपमा मनाउने गरी तयारी गर्न बैठकमा सहभागी नेताहरुलाई विशेष निर्देशन दिनु भयो ।
२०६९ सालमा मोहन वैद्य (किरण) को नेतृत्वमा प्रचण्डवाट पहिलो पटक पार्टी विभाजन भएको थियो । त्यसको करिव २ बर्ष २०७१ साल मंसिर ८ गते किरणबाट समेत क्रान्तिकारी आन्दोलनमा गति बढ्न नसक्ने ठहर गरेर विप्लवको नेतृत्वमा नेकपा पूनर्गठन भएको थियो । आगामी मंसिर ८ मा नेकपा पूनर्गठन भएको १० बर्ष पुरा हुदैछ ।
नेकपा पूनर्गठन भएको दिनलाई ऐतिहासिक दिनको रूपमा स्मरण गर्दै प्रवक्ता प्रकाण्डले मङ्सिर ८ गते नेपालका मजदुर, किसान , मध्यमबर्ग लगायत क्रान्तिकारी जनताले आफ्नो पार्टी, बिचार र संगठन पूनर्गठन गरेको विशेष दिन भएको भन्दै उत्सवको रुपमा मनाउनु पर्ने बैठकमा बताउनु भयो ।
प्रवक्ता प्रकाण्डले पूनर्गठन दिवसमा सक्भर प्रधानमन्त्री एवम् नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली, पूर्वप्रधानमन्त्रीहरु प्रचण्ड, माधवकुमार नेपाल, डा.बाबुराम भट्टराई, क्रान्तिकारी माओवादीका महासचिव मोहन बैद्य (किरण) आहुती लगायत कम्युनिस्ट पार्टीका प्रमुख नेताहरूलाई सम्बोधनका लागि निमन्त्रणा गरिने जानकारी दिनु भयो ।
उहाँले देशमा साम्राज्यवादी शक्ति र दलाल पुँजीपतिवर्गको गठजोड निकै उच्चतामा पुगेको भन्दै देशको स्वाधीनताको सवाल गम्भीर रहेकोले राष्ट्रिय स्वाधीनताको पक्षमा एक हुनुपर्ने बेला आएको बताउनु भयो । उहाँले पश्चिमाहरुले जसरी बङ्गलादेशलाई रणनीतिक उद्देश्यमा प्रयोग गरे त्यसरी नेपाललाई पनि बङ्गलादेश बनाउने प्रयत्न भैरहेको भन्दै सचेत हुन आग्रह गर्नु भयो । पार्टी पूनर्गठन दिवसको प्रदर्शन सहितको कार्याक्रम काठमाडौको भृकुटीमण्डपमा मंसिर ८ गते हुने नेकपाले जनाएको छ ।