‘युद्ध भनेको वर्गहरू, जातिहरू, राज्यहरू वा राजनीतिक समूहहरूका बीचको अन्तरविरोधहरू कुनै निश्चित चरणसम्म विकसित भएपछि, त्यसको समाधानार्थ गरिने सङ्घर्षको सर्वोच्च रूप हो र निजी सम्पत्ति तथा वर्गहरूको उत्पत्तिदेखि यसको अस्तित्व रहेको छ । तपाईं युद्धको वास्तविक स्थिति, त्यसको स्वरूप र अन्य चीजहरूसितको त्यसको सम्बन्धलाई बुझ्नुहुन्न भने तपाईंले युद्ध–नियमहरूलाई वा त्यसको सञ्चालन कसरी गर्ने भन्ने कुरालाई बुझ्नु हुनेछैन वा विजय प्राप्त गर्नुहुने छैन ।’
–(माओ त्सेतुङका सैन्य रचनाहरू) भाग १, पृष्ठ ५६ ।
१. युद्ध र क्रान्तिबारे
जब युद्ध वा क्रान्तिको कुरा उठ्छ धेरै मान्छेहरू तर्सिन्छन् वा सुन्न–बुझ्नसमेत चासो गर्दैनन् । उनीहरू भयभीत वा त्रसित हुन्छन् र भाग्छन् । सायद यो स्वाभाबिक मानवीय विशेषता हो र सामान्य रूपमा यसो हुनु बिल्कुल स्वाभाविक पनि छ किनकि मान्छे नै एउटा यस्तो शान्तिप्रिय प्राणी हो जसले सधैँ शान्ति, अहिंसा र एकता चाहन्छ । यो मान्छेको चेतनाको सामान्य मानवीय गुण हो । तर समाजमा सबभन्दा हिंसा मच्चाउने, सामाजिक अनेकता पैदा गर्ने पनि मानिस नै हो । मानिस यस्तो प्राणी पनि हो जसमा पशुवत् गुण पनि लुकेर बसेको हुन्छ जो बेलाबखतमा उसको व्यवहारबाट प्रकट हुन्छ ।
हिंसा, क्रोध, ईष्र्या, डाहा, व्यक्तिगत स्वार्थ, लोभ आदि उसका पशुवत् गुण हुन् । यो अदृश्य र सुषुप्त हुन्छ । खासखास बेलामा यसले मान्छेलाई हिंश्रक बनाइरहेको हुन्छ । यसलाई स्वयम् मान्छेले मन पराइरहेको हुँदैन र विरोध गरिरहेको हुन्छ । यही नै युद्ध वा क्रान्ति पनि होइन । सामान्य मान्छेले यी दुई अलग पक्षहरूलाई एउटै बुझ्ने गल्ती गरिरहेको हुन्छ र आफैँआफैँ तर्सिरहेको हुन्छ ।
लामो मानव इतिहासले मान्छेको चेतनालाई विकसित पनि पनि खण्डित तथा वर्गीकरण पनि गरिदिएको छ जसले मानव जातिलाई नै खण्डित र समूह–समूहमा बाँडिदिएको छ । मानिस अरू पशुभन्दा भिन्नै हुनु उसको चेतनाको उपज हो । चेतना उसको श्रमको उपज हो । यो जिउनका लागि प्रकृतिसँगको सङ्घर्ष, उत्पादन सङ्घर्ष र वर्गसङ्घर्षका क्रममा मानव जाति आफैँले आर्जन गरेको अद्भुत चीज हो जो अन्य प्राणीहरूभन्दा फरक छ । यही उन्नत चेतना र विकसित मानव नै आज हिंसा र युद्धको जग बन्न पुग्यो ।
समाजमा बस्ने सबै मान्छे एउटै हुन् र एउटै मानव जातिभित्र पर्दछन् तर मान्छे वर्गमा विभाजित छ । यो केही मान्छेहरूले भनेझैँ कुनै ‘भगवान्’ ले बनाएको होइन । मानव श्रमले पैदा गरेको हो । हामी देख्छौँ, आज समाजमा मान्छेहरू विभिन्न वर्गमा छन् । उनीहरूको सामान्य बाहिरी स्वभाव हेर्दा केही फरक छैन । सबैको चाहना शान्तिभन्दा अलग छैन । सबैले शान्ति र समृद्धिकै कुरा गर्छन् ।
यो उनीहरूको सामान्य मानवीय स्वभाव हो तर उनीहरूको सोच्ने, बुझ्ने, व्याख्या गर्ने र प्रयोग गर्ने तरिकाहरू भने फरकफरक छन् । जस्तो कि ‘युद्ध र क्रान्ति’ बारे बुझाइलाई नै हेरौँ : एकजना सामान्य किसान, जसको चेतना तुलनात्मक रूपले पछि छ तर उनीहरू ‘युद्ध र क्रान्ति’ को कुरा गर्दा नबुझेरै तर्सन्छन् । तर्सन्छन् मात्र होइन, बेस्सरी तर्सन्छन् जब कि उनीहरू हरेक क्षण, हरेक पल युद्धको चपेटामा पिल्सिरहेका हुन्छन् । जब उनीहरू कुरा बुझ्छन् आफैँ त्यसको समर्थन गर्छन् वा क्रान्ति वा युद्धको बाहक पनि बन्छन् ।
दोस्रोथरी मान्छेहरू कथित बुद्धिजीवी र पढेलेखेका भनाउँदाहरू हुन्छन् जो राज्यसत्ताको जुठोपुरोमा बाँचिरहेका हुन्छन् । ती बुझीबुझीकनै युद्ध वा क्रान्तिबाट थरथर काँपिरहेका हुन्छन् । उनीहरू युद्ध–हिंसा वा कुनै पनि सामाजिक सङ्घर्षबाट अलग रहेर शान्तिपूर्ण जीवन बाँच्न चाहन्छन् । अनायासै शान्तिपूर्ण समाजको परिकल्पना गरिरहेका हुन्छन् र अरूलाई आफ्नो बुर्जुवा आडम्बरको आदर्श छाँटिरहेका हुन्छन् । तेस्रोथरी मान्छे हुन्छन्– साधु, सन्त–महन्त तथा आधुनिक ऋषिमुनीहरू र कथित धर्मगुरु तथा पादरीहरू । उनीहरू मानव समाजलाई बडो शान्ति र आदर्शका धार्मिक उपदेशहरू दिइरहेका हुन्छन् तर स्वयम् उनीहरू नै अशान्ति र युद्धका स्रोत बनिरहेका हुन्छन् ।
चौथोथरी मान्छेहरू सत्ताधारी वर्ग र शासकहरू हुन्छन् जसले आफैँ अन्यायपूर्ण युद्ध थोपरिरहेका ह्ुन्छन् र यसको नेतृत्वसमेत गरिरहेका हुन्छन् । उनीहरू स्वयम् युद्धको जननीका रूपमा खडा भएर बसेका हुन्छन् । युद्धका स्रोत बनिरहेका हुन्छन् । जानीजानी युद्ध थोपरिरहेका हुन्छन् तर मुखमा शान्तिको मन्त्र जप्दै ‘युद्ध र क्रान्ति’ को विरोध गरिरहेका हुन्छन् । यिनीहरू नै एक नम्बर क्रान्तिविरोधी हुन्छन् ।
यहाँ पाचौँथरी मान्छे पनि छन् जो समाजको सबैभन्दा सचेत र वैज्ञानिक विचार–चेतनायुक्त हुन्छन् । उनीहरू कम्युनिस्ट हुन् । उनीहरू युद्धलाई मानव समाजको एक अनिवार्य चरण वा प्रक्रियाका रूपमा लिन्छन् र यसलाई सचेत रूपमा छिटोभन्दा छिटो मानव समाजबाट युद्धको अन्त्य गर्न चाहन्छन् तर त्यो शान्तिपूर्ण र शालीन तरिकाले सम्भव देख्दैनन् । त्यसैले यसका निम्ति क्रान्ति अनिवार्य ठान्छन् । उनीहरू विश्व मानव समाज वा समग्र मानव जातिबाटै सदाका लागि युद्धको अन्त्य गर्न र दिगो शान्ति स्थापनाका लागि एकपटक सचेततापूर्वक युद्धको साहारा लिनु अनिवार्य बाध्यता ठान्छन् ।
यो सत्य छ– सचेत रूपले युद्धलाई अघि नसार्ने हो भने यहाँ अन्यायपूर्ण र असङ्गतिपूर्ण युद्ध हुनेछ र धेरै मानव जातिको क्षति हुनेछ । ‘युद्ध र क्रान्ति’ वा ‘सङ्घर्ष र आन्दोलन’ को विरोध गर्ने दोस्रो, तेस्रो, चौथोथरी मान्छेहरूले ‘फलामले फलाम काट्छ’ भन्ने प्रचलित उखान आफैँ बनाएका हुन् । यसलाई चटक्कै बिर्सेर सरासर झूठ बोलिरहेका छन् । सत्य यही हो– फलामलाई फलामले काट्छ, हीरालाई हीराले नै काट्छ । काठ, ढुङ्गा वा माटोले काट्दैन । यसरी नै अन्यायपूर्ण युद्धलाई न्यायपूर्ण युद्धले र प्रतिक्रान्तिलाई क्रान्तिले मात्रै रोक्दछ ।
मान्छेको सबभन्दा ठूलो शत्रु पनि मान्छे नै हो । युद्ध मान्छेले नै गर्दछ र यसलाई रोक्ने पनि मान्छे नै हो । त्यसैले संसारबाट युद्धको समाप्त गर्न युद्ध गर्नुपर्ने, हतियारबाट छुट्कारा पाउन हतियार उठाउनु अनिवार्य बनेको हो । त्यसैले युद्ध रहर होइन, बाध्यता हो । यो पाँचौँथरी मान्छे अर्थात् कम्युनिस्टहरूको विचार हो ।
हतियारको कुरा गर्ने हो भने आज संसारमा सबभन्दा बढी र खतर्नाक हतियारहरू अमेरिकासँग छन् । क्षेप्यास्त्र र परमाणु हतियार (Nuclear Arms) सबभन्दा धेरै अमेरिकाले राखेको छ । तर अरूलाई किन राख्न दिँदैन ? यो बुझ्न जरुरी छ । हालसम्म ‘न्युक्लियर पावर’ अर्थात् परमाणु शक्ति भएका ९ देशमध्ये इरान र उत्तरकोरियालाई आणविक शक्ति राष्ट्र मान्न इन्कार गर्दै तिनलाई निःशस्त्रीकरण गर्न अमेरिकाले निरन्तर दबाब दिँदै आएको छ र एकप्रकारको अघोषित युद्ध सञ्चालन गरिरहेको छ ।
हालसम्मको आणविक शक्ति राष्ट्रहरूमध्ये अमेरिका नै पहिलो देश हो जोसँग ८०० भन्दा बढी आणविक हतियारहरू छन् । दोस्रोमा रुससँग करिब ७०० को सङ्ख्यामा यस्ता हतियार छन् । यसपछि फ्रान्स, बेलायत, चीन, भारत, पाकिस्तान, इरान र उत्तरकोरिया छन् । यीमध्ये सबभन्दा कम परमाणु हतियार भएको देश उत्तरकोरिया हो र दोस्रो सबभन्दा कम हतियार भएको राष्ट्र इरान हो । यद्यपि उसले आफूसँग कुनै परमाणु अस्त्र नभएको दाबी गर्दै आएको छ ।
अमेरिका यिनैलाई निःशस्त्र गराउन लागिपरेको छ किनभने अमेरिकाका लागि कम्युनिस्ट देशहरू र मुस्लिम देशहरू सबभन्दा खतरा हुनसक्छन् । अमेरिकालाई सबभन्दा बढी डर कम्युनिस्ट देशहरूबाट छ र दोस्रो मुस्लिम देशहरूबाट । अमेरिकाले विश्वका झन्डै सवा दुई सय देशमध्ये करिब १५० देशमा आफ्नो सैन्य अड्डा राखेर अमेरिकी सेना तैनाथ गरेको छ । उसले भनेको नमानेपछि तुरुन्त युद्ध भड्काउँछ, आक्रमण गर्छ र नाकाबन्दी गर्छ । सिरिया र उत्तरकोरियामा गरेको क्षेप्यास्त्र प्रहार र नाकाबन्दी यसको उदाहरण हो ।
विगतको इराक–इरानबीचको लामो युद्ध, दक्षिणअफ्रिकामा चलेको लामो युद्ध, इराकमा सद्दाम हुसेनका विरुद्ध चलाएको लामो युद्ध र पछि राष्ट्रपति सद्दाम हुसेनलाई निःशस्त्रीकरणपछि पनि गिरफ्तार गरी हत्या गर्नु, कथित आतङ्ककारीका नाममा तालिवानहरूको विरुद्ध गरिरहेको युद्ध, सिरियाको गृहयुद्ध, टर्कीको असफल सैन्य विद्रोह, प्यालेस्टाइन– इजरायल युद्ध, ल्याटिन अमेरिकी मुलुकहरू मेक्सिको, भेनेजुयला, क्युवामा लामो समयदेखि गरिरहेको दवाव र हस्तक्षेपलगायत तमाम क्षेत्रीय युद्ध र गृहयुद्ध तथा नरसंहार गर्नेमा अमेरिकी सामाज्यवाद नै प्रमुख रहँदै आएको छ ।
अहिले मध्यपूर्व र पूर्वी एसियाको कोरिया प्रायद्वीपमा, दक्षिण चीन सागरमा देखापरेको तनाव र युद्ध विभीषिकाको पनि मुख्य कारण अमेरिकी साम्राज्यवाद नै हो । नेपालमा चलेको १० वर्षको जनयुद्धको दमन, असफलता र कथित शान्तिप्रक्रियाको षड्यन्त्रको मुख्य ‘गेम प्लानर’ पनि अमेरिकी साम्राज्यवाद र भारतीय साम्राज्यवाद नै हुन् । अहिले नेपालमा क्रान्तिको विरोध र युद्धको सन्त्रास देखाएर आफ्नो प्रत्यक्ष र अप्रत्यक्ष दलाल र कठपुतली सत्ता कायम राख्न खोज्ने पनि यिनै साम्राज्यवादीहरू र यिनैका अवैध नेपाली सन्तानहरू (दलाल र सामाजिक दलालहरू) नै हुन् । जब कि उनीहरू दिनानुदिन युद्ध भड्काइरहेका छन् ।
कमरेड माओले भन्नुभएझैँ जबसम्म समाजमा वर्गहरू रहन्छन्, जातिहरू रहन्छन्, राजनीतिक समूहहरू रहन्छन्, तिनका बीच अन्तरविरोधहरू चर्किंदै जान्छन् । त्यो अन्तरविरोधले वर्गसङ्घर्ष पैदा गर्दछ र वर्गसङ्घर्षको रूप धारण गर्दछ । त्यो वर्ग सङ्घर्षको सर्वोच्च रूप नै हतियारबद्ध सङ्घर्ष बन्न पुग्छ । यही नै वर्गयुद्ध, गृहयुद्ध, राष्ट्रिय मुक्तियुद्धमा विकसित हुन्छ र यसले विश्वयुद्धलाई समेत जन्म दिन्छ । यसलाई क्रान्तिले मात्र रोक्दछ । त्यसैले युद्ध सामाजिक रूपान्तरण प्रक्रियाको एक अनिवार्य नियम हो र यसलाई रोक्ने एक मात्र विकल्प क्रान्ति हो । क्रान्ति आफैँ युद्ध होइन तर क्रान्तिले युद्ध जन्माउँछ ।
युद्धले क्रान्तिलाई जन्म दिन्छ । त्यही क्रान्तिले नै युद्धलाई रोक्छ । जब क्रान्ति सम्पन्न हुन्छ, युद्ध सदाका लागि अन्त्य हुन्छ । क्रान्ति र युद्धका सार्वभौम नियम र विशिष्ट नियमहरूको एकीकृत नियम नै सैन्य कार्यदिशा हो जो हरेक राष्ट्र र देशहरूमा हुने क्रान्तिका रूप र नियमहरू एउटै हुन सक्दैनन् र जस्ताको तस्तै लागू हुँदैन । एकीकृत सैन्य कार्यदिशाको सार यही हो ।
२. युद्धका सामान्य र विशिष्ट रूपहरूलाई कसरी बुझ्ने ?
कमरेड माओ भन्नुहुन्छ –
(१) युद्धको नियम एउटा यस्तो समस्या हो जसको अध्ययन र समाधान युद्धको सञ्चालन गरिरहेका सबैले गर्नु पर्दछ ।
(२) क्रान्तिकारी युद्धका समस्याहरू यस्ता समस्या हुन् जसको अध्ययन र समाधान क्रान्तिकारी युद्ध सञ्चालन गरिरहेका सबैले गर्नु पर्दछ ।
(३) चीनका क्रान्तिकारी युद्धका नियमहरू यस्ता समस्या हुन् जसको अध्ययन र समाधान चीनको क्रान्तिकारी युद्ध सञ्चालन गरिरहेका सबैले गर्नु पर्दछ ।
– (माओ सङ्कलित सैन्य रचनाहरू भाग १)
भनिन्छ, मानव जातिको इतिहास युद्व नै युद्धको इतिहास हो । उसले आफ्नो ९० प्रतिशत समय युद्धमा खर्चेको छ र बाँकी १० प्रतिशत समय पनि शीतयुद्ध र कुनै न कुनै रूपमा युद्धकै तयारीमा बिताएको छ । नेपालको इतिहासलाई हेर्ने हो भने पनि युद्धैयुद्धको इतिहास पाइन्छ । गोपालवंशबाट सुरु भएको नेपालको इतिहास युद्धैयुद्धमा देखिन्छ । गोपालवंशलाई महिषपाल वंशले जितेर राज्य हडपेको छ ।
महिषपाल वंशलाई किराँत वंशले युद्धबाटै हराएर राज्य गरेको छ । यसरी नै किराँतहरूलाई लिच्छविहरूले, लिच्छविहरूलाई मल्लहरूले र मल्ल राज्यलाई शाहवंशले युद्धबाट हराएर आधुनिक नेपाल निर्माण गरेको पाइन्छ । तत्कालीन उपत्यकाका समृद्ध र सम्पन्नशाली मल्लहरूविरुद्ध लामो समय खर्चेर पृथ्वीनारायण शाहले दीर्घकालीन युद्ध रणनीति अपनाएर राज्य हातमा लिएका छन् ।
पृथ्वीनारायण शाहभन्दा अगाडि अहिलेको नेपालभित्र ६० भन्दा बढी सासाना टाकुरे राज्यहरू आपसमा लडिरहन्थे । अहिलेको नेपालको चारकिल्ला अङ्ग्रेजहरूसँगको लामो युद्धबाटै निर्धारित भएको हो । आधुनिक नेपाल निर्माणपछि पनि राजाका भाइभारदारहरूका बीचमा निरन्तर आन्तरिक पर्वहरू भई नै रहे । अलौपर्व, मकैपर्व, भण्डारखालपर्व, कोतपर्वजस्ता अनेक पर्वहरू आन्तरिक युद्धकै रूपहरू थिए । यसै क्रममा भएको कोतपर्वबाट जङ्गबहादुरको उदय भयो र राणाहरूले १०४ वर्ष जहानिया निरङ्कुश शासन चलाए । राजाहरू आलङ्कारिक मात्र बने । यस बेला राणा परिवारभित्र पनि आपसमा भित्री सङ्घर्ष चली नै रह्यो । बाह्य युद्धहरू पनि चली नै रहे ।
सन् १९४७ मा भारतमा अङ्ग्रेजविरुद्धको स्वतन्त्रता सङ्ग्राम सम्पन्न भयो । भारत अङ्गे्रजहरूबाट स्वतन्त्र भयो । यसको प्रभाव नेपालमा पनि पर्यो । नेपालमा राणा शासनका विरुद्ध वि.सं. १९३३ मा गोर्खा बुङ्कोटमा क्याप्टेन लखन थापामगरले गरेको विद्रोह, २००७ सालमा राजा त्रिभुवन र नेपाली काङ्ग्रेसको विद्रोह, २००८ सालको डा. केआई सिंहको विद्रोह, २००८/९ वरिपरि पश्चिमनेपालमा भीमदत्त पन्तले गरेको सशस्त्र विद्रोह, २०१०/११ तिर पश्चिम नेपालका राप्ती, भेरी, कर्णाली क्षेत्रमा कामी बुढामगरले गरेको विद्रोह, २०१८ र ०२५ सालमा नेपाली काङ्ग्रेसका नेता गिरिजाप्रसाद कोइरालाले पञ्चायतका विरुद्ध गरेको असफल सशस्त्र विद्रोह, ०२८ सालको झापा विद्रोह, ०३६ र ०४६ सालका जनआन्दोलन, ०५२ फागुन १ बाट सुरु भएको इतिहासकै उथलपुथलकारी दस वर्षको जनयुद्ध, ०६२/६३ को माओवादी र सात संसदीय दलहरूको १९ दिने संयुक्त आन्दोलनलगायत विभिन्न सानाठूला विद्रोह, सङ्घर्ष र आन्दोलनहरू भिन्नाभिन्नै समय, स्वरूप र परिस्थितिमा भए पनि नेपालको इतिहासलाई कुनै न कुनै रूपमा प्रभाव पार्ने युद्धका रूपहरू थिए । यसरी नेपालको इतिहास कहिल्यै शान्तिपूर्ण देखिँदैन र अझै एउटा अन्तिम युद्ध बाँकी नै छ किनकि हामी दलाल पुँजीवादी राज्यसत्ताको चपेटामा छौँ । अर्थात् नेपालमा अझै प्रतिक्रियावादी/पुँजीवादी राज्यसत्ता कायम छ । जनताको सत्ता आएको छैन । जबसम्म जनताको सत्ता आउँदैन र वैज्ञानिक समाजवादमा पाइला टेक्दैनौँ यस्ता सङ्घर्ष, आन्दोलन र युद्धहरू कुनै न कुनै रूपमा भई नै रहनेछन् ।
यसरी मानवइतिहास मात्र होइन, नेपालकै इतिहास पनि युद्ध नै युद्धबाट यहँसम्म आएको छ । मारामार गर्नु मात्र युद्ध होइन । यसलाई कमरेड माओले स्पष्ट पार्दै भन्नुभएको छ, ‘युद्ध भनेको हिंसात्मक राजनीति हो भने राजनीति भनेको अहिंसात्मक युद्ध हो ।’ राजनीतिले हिंसा पनि जन्माउँछ र राजनीतिले नै हिंसा पनि रोक्छ । राजनीतिले नै युद्धको अन्त्य गर्दछ । त्यसैले हाम्रो इतिहास युद्धैयुद्धबाट गुज्रेको छ । हामी सचेत मान्छेले समाजमा अनावश्यक हिंसा हुन नदिने तरिका के होला ? अनावश्यक युद्ध हुन नदिने उपाय के होला भनेर सोच्ने कुरा नै क्रान्तिकारी सैन्य कार्यदिशा तय गर्नु हो ।
युद्ध त अनिवार्य छ तर कमभन्दा कम क्षतिमा, कमभन्दा कम रगत बगाएर, कमभन्दा कम बलिदानीबाट समाजमा हुने हिंसा र युद्धको अन्त्य कसरी गर्ने भन्ने रणनीति तय गर्नु नै क्रान्तिकारी कार्यदिशा तय गर्नु हो । कमरेड माओले चीनमा कमभन्दा कम क्षतिमा क्रान्ति सम्पन्न गर्ने तरिकालाई ‘दीर्घकालीन जनयुद्ध’ भन्नुभयो र यसबाट प्राप्त गरिने सत्ता अर्थात् राजनीतिक कार्यक्रमलाई ‘ नयाँ जनवाद’ भन्नुभयो । नयाँ जनवादमा पुग्ने प्रक्रियालाई नयाँ जनवादी क्रान्ति भन्नुभयो । तर उहाँले नयाँ जनवादलाई वैज्ञानिक समाजवादमा पुग्ने खुड्किलोका रूपमा लिनुभयो । । त्यसैले १९४९ मा चीनमा नयाँ जनवादी क्रान्ति सम्पन्न गरेलगत्तै ५ वर्षपछि नै १९५४ मा ‘समाजवादी चीन निर्माण’ को नारा दिनुभयो ।
हाम्रो देशमा क्रान्ति सम्पन्न भएको त छैन तर राष्ट्रिय/अन्तर्राष्ट्रिय परिस्थितिमा आएको बदलाव, दस वर्षको जनयुद्धको प्रभाव, जनयुद्धको नेतृत्वसहितको एक हिस्सा प्रतिक्रियावादी सत्तामा सामेल हुन पुग्नु र देशको अर्थतन्त्र दलाल पुँजीवादको हातमा पुग्नुका साथै गत चुनावको परिणामपछि कथित वामका नाममा ‘सामाजिक दलाल पुँजीवाद’ सत्तासीन हुनुलगायत कारण राजनीतिक कार्यदिशाका साथै सैन्य कार्यदिशामा पनि केही बदलाव आएको छ । यसले क्रान्तिकारी सैन्य रणनीति र कार्यनीतिमा पनि स्वभावैले प्रभाव पार्दछ ।
यहीँनिर कमरेड माओले भन्नुभएजस्तै युद्धको अध्ययन कसरी गर्ने, युद्धको स्वरूप र नियमलाई कसरी बुझ्ने ? हाम्रोजस्तो देशमा यसको प्रयोग कसरी गर्ने ? भन्नेजस्ता प्रश्नहरू महत्वपूर्ण छन् । एकपटक भीषण जनयुद्धबाट गुज्रिँदै त्यसले गम्भीर प्रतिधक्का खाएको अवस्था, करिब २० हजार जनमुक्ति सेनाको अकल्पनीय रूपले गरिएको विघटन र विसर्जनपछि जनमुक्ति सेना निर्माण र सैन्य कार्यदिशा अझ जटिल बनेको छ । यो हिजोको जनयुद्धको जस्तो सरल र सहज छैन । यसै अवस्थामा माथि कमरेड माओले भन्नुभएका ३ महत्वपूर्ण पक्षहरूलाई गम्भीर रूपले ध्यान दिनुपर्दछ ।
पहिलो, आमयुद्धको स्वरूपबारे धेरै भनिरहनु पर्ने छैन किनकि आमयुद्ध युद्धको आमचरित्रको हो । सबै राष्ट्रले यसबारे आफ्नो प्रतिरक्षा प्रणालीमा विकास गरिरहेकै हुन्छन् । उत्तरकोरियाजस्तो सानो राष्ट्रले पनि अमेरिकाजस्तो ठूलो र शक्तिशाली राष्ट्रलाई कसरी चुनौती दिने तागत राख्दछ भन्ने कुरा यो आमयुद्धमा तर यसलाई यो स्थानमा पुर्याउने ताकत यसको विशिष्ट चरित्रले मात्र निर्माण गर्दछ । आमयुद्ध एक राष्ट्र र अर्को राष्ट्रबीच हुने कुनै पनि रूप र प्रकारको हतियारबद्ध लडाइँ हो । यसको चरित्र सार्वभौम प्रकारको हुन्छ ।
यसमा हरेक राष्ट्रले आफूलाई सशक्त र सर्वश्रेष्ठ बनाउन युद्धनीति, सैन्य सिद्धान्त, सैन्य शक्ति विस्तार, हतियार, युद्धसामग्री, आणविक शक्ति र हतियार निर्माण, अन्य यौद्धिक यन्त्रहरू लडाकु जहाज, पन्डुब्बीदेखि साइवर वार, स्पेस वार, स्टार वारसम्मका प्रयासहरू गरिरहेका छन् । यी सबै आमयुद्धका तयारी हुन् । अमेरिकाले संसारभरिका सामरिक क्षेत्र र आर्थिक केन्द्रहरू कब्जा गर्दै संसारको सबभन्दा शक्तिशाली हातहतियारले सुसज्जित र सर्वश्रेष्ठ बनाउन आफ्नो सैन्यशक्ति विस्तार गरिरहेको छ र अरूलाई संयुक्त राष्ट्रसङ्घमार्फत निःशस्त्रीकरणका नाममा नियन्त्रण गरिरहेको छ । यो एक भयानक युद्धको सङ्केत हो ।
दोस्रोथरी युद्ध एउटै देशभित्र हुने युद्ध हो । यसलाई गृहयुद्ध (Civil warfire) पनि भन्ने गरिन्छ । यो राज्य र विद्रोही पक्षबीच हुने युद्ध हो । यो वर्गमा आधारित वा एउटै वर्गका बीचमा पनि हुने गर्दछ । यो पनि युद्धकै एउटा रूप हो । दस वर्षको जनयुद्ध एक प्रकारको गृहयुद्ध नै थियो तर यसको स्वरूप वर्गमा आधारित थियो । श्रीलङ्कामा लामो समय चलेको तमिल विद्रोही र राज्य पक्षबीचको युद्ध, सोमालिया र युगान्डामा चलेका युद्धहरू र हाल सिरियामा चलिरहेको युद्ध पनि गृहयुद्ध नै हुन् तर ती वर्गमा आधारित युद्ध होइनन् । ती एउटै वर्गका बीचमा सत्ताका लागि चरिरहेका युद्धहरू हुन् ।
तेस्रोथरी क्रान्तिकारी युद्ध हो । यो वर्गीय हुन्छ । उत्पीडित जनता र उत्पीडक शासक वा राज्य पक्षसँगको युद्ध हो । यसको स्वरूप वर्गमा आधारित हुन्छ । पेरिसमा सन् १८७१ मा मजदुर हरूले गरेको मजदुर विद्रोह, सन् १९१७ मा रुसमा भएको महान् अक्टोबर क्रान्ति, चीनको नयाँ जनवादी क्रान्ति, भारतमा भएको नक्सलवादी आन्दोलन र हाल भाकपाले गरिरहेको जनयुद्ध, पेरूमा पेकपा (साइनिङपाथ) ले गरेको जनयुद्ध, उत्तरकोरिया, भियतनाम, क्युबालगायत देशमा भएका क्रान्तिका स्वरूपहरू यही क्रान्तिकारी युद्धका रूप थिए ।
नेपालमा चलेको दस वर्षको जनयुद्ध पनि क्रान्तिकारी युद्ध नै थियो । यी युद्धहरूलाई ‘न्यायपूर्ण युद्ध’ पनि भनिन्छ किनकि यी युद्धहरू कुनै न कुनै रूपमा प्रतिक्रियावादी राज्यसत्ताबाट जनतामा भइरहेको शोषण, दमन, उत्पीडन र हरेक अन्यायपूर्ण युद्धका विरुद्धमा प्रतिरोध युद्धका रूपमा विकसित युद्ध हुन् । यो प्रतिक्रियावादी सत्ताका विरुद्ध सञ्चालन गरिने युद्ध पनि हो । यो पछिल्लो समयमा विकसित युद्ध सिद्धान्त हो । यसको विकास राष्ट्रिय प्रतिरक्षा युद्धसम्म जाने गर्दछ । रुसमा जर्मन नाजी सेनाले गरेको हमला, क. स्टालिनले नाजी सेनालाई धुलो चटाएर धपाएको युद्ध र चीनमा जापानविरोधी र अमेरिकाविरोधी युद्धहरू यसैका रूप हुन् ।
चौथो महत्वपूर्ण र क्रान्तिकारी युद्धसँग गाँसिएको र कमरेड माओले जोड दिनुभएको कुरा चीनको सन्दर्भमा लडिने युद्ध र यसको स्वरूप, नियम र विजयको पक्षसँग सम्बन्धित छ । उहाँले चीनमा लडिने युद्धको अध्ययन गर्ने, यसका नियमहरूलाई बुझ्ने र आफ्नो मौलिकतामा लागू गर्ने कुरामा सबभन्दा बढी जोड दिनुभएको छ । यो हाम्रो सन्दर्भमा पनि सत्य हो । माओले चीनको सन्दर्भको युद्धमा किन यतिसाह्रो जोड दिनुभयो भने त्यस बेला रुसमा पढेर आएका, आफूलाई माओभन्दा अग्रज, पढेलेखेको, जान्ने ठान्ने केही कम्युनिस्ट नेताहरूले रुसी क्रान्तिको नक्कल गरेर चीनमा पनि रुसको जस्तै सहरी विद्रोह अर्थात् जनविद्रोह (Insurection) बाटै क्रान्ति गर्नेमा जोड दिइरहेका थिए र माओको कुरा सुनिरहेका थिएनन् । उनीहरूका अनुसार क्रान्ति गर्दा चिनियाँ जनमुक्ति सेनाले ठूलाठूला क्षतिहरू बेहोरिरहेको थियो र युद्ध हारिरहेको थियो ।
उनीहरूले के बुझेनन् भने चीनको र रुसको वस्तुस्थिति भिन्न छ । शासन प्रणाली र उत्पादन सम्बन्ध भिन्न छ । जनताको चेतना, भौगोलिक अवस्था र अनुकूलता तथा प्रतिकूलताहरू भिन्नै छन् । साम्राज्यवादको हस्तक्षेपको प्रकृति भिन्नै छ । यस्तो अवस्थामा रुसको क्रान्तिको मोडल जस्ताको तस्तै चीनमा सफल हुँदैन । यो उनीहरूको यान्त्रिक बुझाइ थियो । कमरेड माओले यही सत्यलाई पकड्नुभयो र अरू सबै पढेलेखेका विद्वान् बुद्धिजीवी भन्नेहरू असफल भए । अन्त्यमा माओकै सिद्धान्त सफल भयो । नयाँ जनवादी क्रान्ति र दीर्घकालीन जनयुद्ध, छापामार युद्ध, चलायमान युद्ध र मोर्चाबद्ध युद्ध । हान र भाग, घुमी–घुमी लड, शत्रुलाई थकाऊ र जित । कमजोर भागमा हान । गाउँबाट सहर घेर । आधारइलाकाहरू बनाऊ । इलाकाहरू छुट्ट्याउ र त्यसअनुसारका कारबाहीहरू गर आदिआदि । यी कमरेड माओको सैन्य कार्यदिशाका मौलिक देन हुन् ।
यहाँ हाम्रो सन्दर्भमा पनि यो पक्ष महत्वपूर्ण छ । हामीले युद्धको अध्ययन गर्दा आमयुद्धको पनि अध्ययन गर्नैपर्छ तर हाम्रो देशको युद्धको अध्ययनमा सर्वाधिक जोड दिनु पर्दछ । नेपालको इतिहास, इतिहासमा नेपालमा भएका युद्धहरू, गृहयुद्ध, जनयुद्ध र तमाम प्रकारका सफल असफल सङ्घर्ष र आन्दोलन, विद्रोहरूलाई गहिराइमा अध्ययन गर्न जरुरी छ । माथि पनि उल्लेख गरियो– नेपालमा पनि पर्याप्त युद्ध र सङ्घर्षको इतिहास छ । यसबारे नेकपामा धेरै बहसहरू भएका छन् । त्यसैमा मतैक्य नहुँदा पार्टीहरू टुक्राटुक्रा हुँदै आएका छन् ।
कम्युनिस्टहरू फुट्नुको कारण नै कार्यदिशामा नमिलेर हो । यस अर्थमा उनीहरूले क्रान्तिका लागि गहिरिएर युद्धको अध्ययन गरेका छैनन् । उनीहरू माक्र्सवादको अध्ययन त गरे तर दह्रोसँग पकड्न सकेनन् । किन दह्रोसँग पकड्न सकेनन् ? उत्तरहरू धेरै छन् । त्यता नजाऔँ । यहाँ यति मात्र भनौँ चीनमा माओकालीन ‘साढे २८ बोल्सेभिकहरू’ को अवस्था नेपालमा पनि दोहोरियो तर भिन्न रूपमा । अहिलेसम्मको ६ दशक लामो नेकपाको इतिहासमा केस सेतो भएर फुलिसक्दा पनि नेपाली समाज र नेपालको क्रान्तिकारी युद्धको अध्ययन र यसका नियमहरूको अध्ययन गर्न नसक्नु र त्यसलाई नेपालको सन्दर्भमा नेपाली मौलिकताको युद्ध लड्न नसक्नु विडम्बना भएको छ ।
पछिल्लो समयमा जनयुद्ध पनि नेतृत्वको विचलन र आत्मसमर्पणका कारण असफलतामा गएर टुङ्गियो । यसले झन् गम्भीर बनाएको छ । नयाँ खालको क्रान्तिकारी युद्धका नियमहरूको अध्ययन, खोज–अनुसन्धान र वैज्ञानिक प्रयोग अबको नयाँ पुस्ताको काँधमा आएको छ । नेकपाको आठौँ महाधिवेशनबाट पारित ‘एकीकृत जनक्रान्ति’ को राजनीतिक कार्यदिशा यसैको उपज हो । यसले धेरै नयाँ कुराहरूलाई उजागर गरेको छ ।
३. एकीकृत जनक्रान्ति नेपालको मौलिक कार्यदिशा
एकीकृत जनक्रान्तिको कार्यदिशा निर्माण गर्दा सकेसम्म कार्यदिशा जीवन्त र वैज्ञानिक बनोस् र वस्तुस्थिति मिल्दो होस् भन्नाका खातिर निम्न पाटापक्षहरूमा भरपूर ध्यान पु¥याइएको छ :
(१) एकीकृत जनक्रान्ति जनयुद्ध र जनविद्रोहको विरोधी वा विकल्प होइन, बरु यसको विकास हो ।
(२) यसमा विश्वका सफल क्रान्तिका साथै जनयुद्ध र जनविद्रोहका सार्वभौम पक्षहरू पनि अन्तरनिहित छन् ।
(३) यसभित्र समग्र युद्ध र सामान्य युद्ध नियमहरू पनि अन्तरनिहित छन् ।
(४) यो कार्यदिशा निर्माण गरिरहँदा क्रान्तिकारी युद्ध रणनीति, क्रान्तिकारी युद्ध सिद्धान्त, क्रान्तिकारी युद्ध नियमहरूलाई पनि ध्यान दिइएको छ ।
(५) यसमा नेपालको भौगोलिक तथा सामरिक अवस्थालाई पनि ध्यान दिइएको छ ।
(६) यसको निर्माण गर्दा नेपालका समस्त जनता, क्रान्तिकारी जनता, उत्पीडित जनसमुदाय र समग्र नेपाली समाजलाई पनि ध्यान दिइएको छ ।
(७) यसमा नेपालको आर्थिक, सामाजिक, राजनीतिक, सैन्य, प्रविधिसम्मको अवस्थालाई पनि ध्यान दिइएको छ ।
(८) हाम्रा दुई छिमेकी देशहरू चीन र भारतको रणनीति, अवस्था र विशेषतालाई पनि ध्यान दिइएको छ ।
(९) समग्र अन्तर्राष्ट्रिय परिस्थिति, आजको साम्राज्यवादका विशेषताहरूलाई पनि ध्यान दिइएको छ ।
(१०) यसमा समग्र विश्वकम्युनिस्ट आन्दोलन, नेपाली कम्युनिस्ट आन्दोलनका सकारात्मक र नकारात्मक पक्षहरूलाई पनि समुचित ध्यान दिइएको छ ।
(११) यो कार्यदिशा निर्माण गर्दा अहिलेसम्मका नेताहरूको सफलता र असफलता, मूल नेतृत्वको विचलन, आत्मसमर्पण, गद्दारी, पलायन, दलालीकरण, भ्रष्टीकरण आदिलाई केलाउने प्रयास गरिएको छ ।
(१२) यसमा अहिलेसम्मको नेपालको इतिहास, ऐतिहासिक घटनाक्रमहरू र इतिहासका विशेषविशेष पात्रहरूलाई पनि ध्यान दिइएको छ ।
(१३) यसमा नेपालको नयाँ वर्गविश्लेषण, जनताको आर्थिक अवस्था, राज्यको अर्थप्रणाली, क्रान्तिकारी अर्थप्रणाली आदिलाई पनि ध्यान दिइएको छ ।
(१४) यसमा सङ्गठन, सङ्घर्षका संवाहक तत्व, नेपाली क्रान्तिका आधारभूत शक्ति, सहायक शक्ति र समर्थक शक्तिलाई पनि पर्याप्त ध्यान दिइएको छ ।
(१५) यसमा नेपाली क्रान्तिका सम्भावित दुर्घटना, आकस्मिक घटना, नेपालको राजनीतिमा निरन्तर चल्दै आएको षड्यन्त्र, कूटनीति, हस्तक्षेप, परनिर्भरता आदिका बारेमा पनि ध्यान दिइएको छ ।
(१६) यो लामो समयदेखिको सफल र असफल घटनाक्रम र क्रान्तिहरू विशेषतः १० वर्षको महान् जनयुद्धको असफलतापछि गरिएको समीक्षा, मूल्याङ्कन र शिक्षाबाट निकालिएको संश्लेषण र निष्कर्ष हो ।
(१७) यसमा समग्र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अन्तरविरोधहरू मुख्यतः क्रान्तिकारीहरूको आन्तरिक अन्तरविरोधहहरूमा ध्यान दिइएको छ ।
(१८) यसमा सकेसम्म कमभन्दा कम क्षतिमा क्रान्ति कसरी पूरा गर्ने भन्ने पक्षमा पनि ध्यान दिइएको छ ।
(१९) हरेक क्रान्तिको सफलता र असफलताको कारक तत्व उसको आन्तरिक पक्ष नै हो र जनयुद्धको असफलता र नेतृत्वको विचलनको मुख्य कारण पनि आन्तरिक पक्ष नै हो भन्ने यसको निष्कर्ष रहेको छ ।
(२०) उपरोक्त सबै पक्षहरूको निचोडमा अबको अधुरो क्रान्ति पूरा गर्ने क्रान्तिको कार्यदिशा जनयुद्ध वा जनविद्रोह नभएर यसको विकसित रूप एकीकृत जनक्रान्ति हुनेछ भन्ने निष्कर्षका साथ एकीकृत जनक्रान्तिको कार्यदिशा तय गरिएको छ ।
४. एकीकृत सैन्य कार्यदिशा
यही नयाँ कार्यदिशा ‘एकीकृत जनक्रान्तिको कार्यदिशा’ को आलोकमा नेपालमा गरिने क्रान्तिको सैन्य कार्यदिशा नै ‘एकीकृत सैन्य कार्यदिशा’ हुनेछ भनेर डेढ वर्षअगाडि सम्पन्न जनमुक्ति सेनाको दोस्रो राष्ट्रिय भेलाको विधान तथा प्रतिवेदनले स्पष्ट गरेको छ । यसअनुसार नेपालमा अब (१) गाउँ र सहर जोडेर लड्नुपर्ने, (२) किसान र मजदुर वर्गसँगै मध्यम वर्ग (नयाँ श्रमिक वर्ग लाई जोड्नुपर्ने, (३) युद्धको मुख्य निशाना दलाल पँुजीवाद हुने र यसका विरुद्ध राष्ट्रिय पुँजीपति वर्ग, देशभक्त–राष्ट्रवादी शक्तिहरूसँग सहकार्य र संयुक्त मोर्चा बनाउँदै राष्ट्रिय स्वाधीनतामाथिको हस्तक्षेपका विरुद्ध गोलबन्द गर्ने, (४) प्रधान दुस्मनका विरुद्ध सम्पूर्ण मित्र शक्तिहरूलाई मोर्चाबद्ध गरी दुस्मनलाई सानो घेरामा पारेर आक्रमण गर्ने, (५) राष्ट्रिय/अन्तर्राष्ट्रिय शक्तिहरूको परिचालन गर्ने, (६) प्रविधिको विकास तथा तालिम प्रशिक्षणमा जोड दिने, (७) संसारभरका क्रान्तिकारी र आमयुद्धका सार्वभौम पक्षलाई पनि आत्मसात गर्दै नेपाली मौलिकताका युद्ध नियमहरूमा जोड दिने, (८) दस वर्षको जनयुद्धको जनमुक्ति सेनाका सबल र दुर्बल पाटा–पक्षहरू केलाउँदै त्यसमा विकास गर्नेलगायत पक्षहरूको जगमा एकीकृत सैन्य कार्यदिशा बनाइएको छ । यसले आम युद्ध, विश्वभरिका क्रान्तिकारी युद्धहरू र विगतको दस वर्षको जनयुद्धलाई सन्दर्भ सामग्रीका रूपमा लिँदै यसका सार्वभौम पक्षलाई नेपाली मौलिकता र विशेषतासँग जोडेर मात्र अबको सैन्य र राजनीतिक चुनौतीहरूको सामना गर्न सकिन्छ भन्ने निष्कर्ष नै एकीकृत सैन्य कार्यदिशा हो । यो प्रचण्डको असफलता, सिङ्गो विश्व कम्युनिस्ट आन्दोलनको समीक्षा र अध्ययनको बीचबाट विकसित कार्यदिशा पनि हो ।
५. निष्कर्ष
जहाँ मौलिक विशेषतासहित क्रान्तिहरू भएका छन् त्यहाँ क्रान्ति सफल भएका छन् । जहाँ नक्कल गर्न खोजिएको छ त्यहाँ क्रान्तिहरू यान्त्रिक भौतिकवादको सिकार भएका छन् । नेपाली क्रान्ति पनि यसको सिकार हुँदै आएको छ । यति बेला एकातिर सत्ताधारी वर्गले पनि एकीकृत जनक्रान्तिको सैन्य कार्यदिशाबारे चासो गरिरहेको सन्दर्भ र अर्कोतिर कतिपय पार्टीबाहिरका र विशेषतः हिजो जनयुद्ध लडेको शक्ति, जनमुक्ति सेनाका साथीहरू र हाम्रो आन्तरिक पङ्क्तिले समेत यसबारेमा जिज्ञासाहरू प्रकट गरिरहेको र स्पष्टताको माग गरिरहेको सन्दर्भमा यो प्रश्न अति महत्वपूर्ण र संवेदनशील पनि बनेको अवस्था छ ।
हाम्रो पार्टी नेकपाले पार्टी पुनर्गठनपछि प्रथम राष्ट्रिय सम्मेलनलगत्तै काठमाडाैँ र भक्तपुरमा सम्पन्न दुईदिने कार्यशालाबाट हाम्रो पार्टीको सैन्य रणनीति र सिद्धान्त स्पष्ट गरेको छ । यसका साथै २०७२ असोजमा सम्पन्न जनमुक्ति सेनाको दोस्रो राष्ट्रिय भेलामा एकीकृत सैन्य रणनीति र कार्यनीतिलाई अझ स्पष्ट गरेको छ । यो कुरामा कुनै द्विविधा छैन– नेपालमा सशस्त्र क्रान्ति सम्भव छ । त्यसैले हाम्रो पार्टीको प्रथम राष्ट्रिय सम्मेलन, पहिलो सैन्य कार्यशाला, जनमुक्ति सेनाको दोस्रो राष्ट्रिय भेला र आठौँ महाधिवेशनले एकीकृत जनक्रान्तिको सैन्य रणनीतिबारे स्पष्ट गरेको छ– नेपालमा अब एउटा अन्तिम क्रान्ति बाँकी छ ।
त्यो एकीकृत जनक्रान्तिबाट सम्पन्न हुनेछ । यो क्रान्ति (१) यो सशस्त्र हुनेछ (२) जनमुक्ति सेना (जनसेना) अनिवार्य हुनेछ । (३) आम पार्टीपङ्क्ति नै सैन्यीकृत हुनेछ । (४) यसको प्रमुख निशाना दलाल पुँजीवाद र यसका संवाहकहरू हुनेछन् । (५) यसले राष्ट्रवादी/देशभक्तहरू, जनवादी वामपन्थी शक्तिहरू र असली लोकतन्त्रवादी शक्तिहरूसँग सहकार्य गर्दै अघि बढ्नेछ । (७) यसले गाउँ र सहरलाई जोड्नेछ । (८) यसले किसान, मजदुर र मध्यम वर्ग (नयाँ श्रमिक वर्ग लाई साथ लिएर लड्नेछ । (९) वैज्ञानिक समाजवादी व्यवस्था स्थापना यसको मुख्य लक्ष्य हुनेछ । (१०) दुवै छिमेकी मित्र राष्ट्रसंँग देश र जनताको हितमा सहकार्य र हस्तक्षेपमा आलोचना र विरोधको नीति लिनेछ ।
यो नै मूलभूत रूपमा एकीकृत जनक्रान्तिको सैन्य कार्यदिशा हो । यसले शान्तिपूर्ण सङ्क्रमण र दलाल संसदीय व्यवस्था तथा भ्रष्टाचारयुक्त राजनीतिक व्यवस्थाको पूर्ण अन्त्य गर्दै देशलाई पूर्ण भ्रष्टाचारमुक्त, उत्पीडनमुक्त, बाह्य हस्तक्षेपमुक्त, पूर्ण स्वाधीन र समृद्ध नेपाल स्थापना गर्ने उद्देश्यलाई आफ्नो आदर्श बनाएको छ । यही नै एकीकृत जनक्रान्तिको सैन्य कार्यदिशाको घोषित लक्ष्य हो ।