जनपत्रकार संगठनद्धारा मिडिया क्षेत्रमा देखिएका समस्या सामाधान गर्न संचारमन्त्रीको ध्यानाकर्षण

२२ भदौ,काठमाडौं। जनपत्रकार संगठन नेपालले सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्मालाई साना तथा स्वरोजगारमूलक मिडियाहरु समस्यामा परेको भन्दै उनीहरुको संरक्षणका लागि पहल गर्न ध्यानाकर्षण गराएको छ ।

संगठनका अध्यक्ष शेरबहादुर विश्वकर्माको नेतृत्वमा गएको टिमले शुक्रबार मन्त्रालयमा मन्त्रीलाई भेट्दै ध्यानाकर्षण पत्र वुझाएको हो ।

ध्यानाकर्षणपत्र वुझदै मन्त्री शर्माले कानूनी जटिलताका कारण पत्रकारका माग सम्बोधन गर्न नसकेको बताउनु भएको छ ।

आफूले श्रमजीवि पत्रकारहरुको पक्षमा काम गर्न खोजेको भएपनि कानूनी जटिलताका कारण पत्रकारहरुको मागहरु सम्बोधन गर्न नसकेको बताउनु भयो ।
नेपाल सरकारको प्रवक्तासमेत रहनु भएका मन्त्री शर्माले पुराना कानूनले सूचना प्रविधि क्षेत्रमा भएको विकासलाई समेट्न नसकेको जिकिर गर्दै नयाँ कानून बनाउन धेरै जटिलताहरु रहेको बताउनु भयो ।

‘हामीले छापा संचार माध्ययमका लागि बनाएको कानून अनुसार सबै मिडिया व्यवस्थापन गरिरहेका छौं । यस क्षेत्रमा नयाँ कानूनको आवश्यकता छ ।’, उहाँले भन्नु भयो , ‘तर नयाँ कानून बनाउन सजिलौ छैन । सजिलो नभएपनि साना तथा स्वरोजगारमूलक संचार माध्ययमलाई व्यवस्थित गर्न निर्देशिका बनाएर भएपनि तपाईंका मागहरु सम्बोधन गछौं ।’

पत्रकारहरुको न्युनतम पारिश्रमिकको विषयलाई लिएर बेलाबेलामा समस्याहरु आइरहने बताउँदै पारिश्रमिक नदिने संचार माध्ययमलाई कानून बनाएर कडाई गर्नुपर्नेमा उहाँको जिकिर थियो ।

अनलाइन संचारमाध्ययमलाई कानूनले समेट्न नसकेको बताउँदै मन्त्री शर्माले छिट्टै कानून बन्न नसकेपनि निर्देशिका बनाएर व्यवस्थित गर्ने प्रतिबद्धता जनाउनु भयो । जनपत्रकार संगठन नेपालका अध्यक्ष शेरबहादुर विश्वकर्माको नेतृत्वमा गएको संगठनको टोलीले मन्त्रालयमै पुगेर मन्त्री शर्मालाई ५ बुँदे ध्यानाकषर्ण पत्र बुझाएको थियो ।

प्रतिक्रिया दिनुहोस