वीरजङ्गको सपना पुरा गरेर छाड्ने नेकपा प्रवक्ता प्रकाण्डको प्रतिवद्धता

साम्राज्यवादी दलालहरुले हत्या गरेको आरोप

२४ भाद्र,काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता खड्ग वहादुर विश्वकर्मा (प्रकाण्ड)ले एकीकृत जनक्रान्तिको माध्यम बाट वीरजङ्गको सपना पुरा गरेर छाड्ने प्रतिवद्धता जनाउनु भएको छ ।

सुक्रवार काठमाडौंमा वीरजङ्गको स्मृतिमा निकालिएको स्मृति ग्रन्थको सार्वजनिकरण कार्यक्रममा वोल्दै प्रवक्ता प्रकाण्डले वीरजङ्ग सहित अन्य सहिद तथा वेपत्ताहरुको सपना एकीकृत जनक्रान्तिको माध्यम वाट पुरा गर्ने प्रतिवद्धता जनाउनु भएको हो ।

प्रवक्ता प्रकाण्डले साम्राज्यवादी दलालहरुले योजनावद्ध तरिकाले वीरजङ्गको हत्या गरेको आरोप लगाउदै जेल भित्र हुदा अमानवीय तथा जंगली व्यवहार प्रदर्शन गरेर यातना दिएको वताउनु भयो ।

उहाँले दुश्मनको यातनाका कारण स्वास्थ्यमा समस्या आएर वीरजङ्गको उपचारका क्रममा भारतको म्याक्स अस्पतालमा मृत्यु हुन गएपनि साम्राज्यवादी दलालहरुको षड्यन्त्र यसमा रहेको आसंका गर्नु भयो ।

कुशल,सक्षम र जनताको नेता वीरजङ्ग रहेको स्पष्ट पार्दै उहाँले भावुक मुद्रामा नेता वीरजङ्ग प्रति श्रदाञ्जली व्यक्त गर्नु हुदै घर परिवार,सिंगो पार्टी पंक्ति प्रति समवेदना व्यक्त गर्नु भयो ।

प्रवक्ता प्रकाण्डले भन्नु भयो “नेपालमा एकीकृत जनक्रान्तिको माध्यम वाट वैज्ञानिक समाजवाद ल्याएर नेता वीरजङ्गको सपना पुरा गर्ने प्रतिवद्धता व्यक्त गर्दछौ, वीरजङ्ग पार्टीको खम्वा हुनुहुन्थ्यो, क्रान्तिकारी विचारको रक्षा र विकास गर्नेमा श्रेष्ठ भूमिका छ, विचार र राजनैतिमा कुशल हो, सक्षम संगठक हो,जनसम्वन्ध राम्रो भएको नेता हो, उहाँको पार्टीमा सधै अभाव खट्किने छ ।”

उहाँले नेता वीरजङ्गले क्रान्तिकारी आन्दोलनमा गरेको योगदान वारे थप चर्चा गदै नेकपा माओवादीको मुल नेतृत्वमा आएको विचलन देखि पार्टी भित्रको खराव विचारका विरुद्ध निरन्तर संघर्ष गर्दैै नेकपाको क्रान्तिकारी विचार र नेतृत्वको रक्षा र विकास गर्ने सम्म महत्वपूर्ण काम गरेको योद्धा भएको प्रष्ट्याउनु भयो ।

प्रवक्ता प्रकाण्डले दलालपूँजीपति वर्ग संगको लडाई वाहिर देखिएपनि यो साम्राज्यवादीहरु संगको लडाई भएको भन्दै यी दुवै प्रवृति पछिल्लो समय तीन बुँदे उल्लंघन गर्दै नेपाली जनताको मुक्तिको क्रान्ति विरुद्ध आएकोे र संघर्ष पेचिलो परेको खुलासा गर्नु भयो । उहाँले दलालपूजीपति वर्ग र सामाज्यवादी सवै खाले षड्यन्त्रका विरुद्ध क्रान्तिकारी शक्तिहरुले मोर्चा वनाएर संघर्ष गर्नुको विकल्प नभएको जिकिर गर्नु भयो ।

कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष ऋषि कटेलले जनताको मुक्तिका लागि नेता वीरजङ्गले महत्वपूर्ण काम गरेको चर्चा गर्दै उहाँ प्रति श्रद्धासुमन व्यक्त गर्नु भयो । उहाँले श्रद्धाञ्जली अर्पण गर्ने अधिकार इमान्दार क्रान्तिकारीहरुलाई मात्र हुने भन्दै क्रान्ति छोड्नेहरुले श्रद्धाञ्जली दिएर कुनै अर्थ नहुने वताउनु भयो ।

वैज्ञानिक समाजादी पार्टीका महासचिव विश्वभक्त दुलाल (आहुति)ले मृत्यु सवै प्राकृतिक विज्ञान भएपनि ढिलो चाडो संयोगको कुरा मात्र भएको प्रष्ट्याउनु भयो । उहाँले एउटा क्रान्तिकारी जस्तो हुनुपथ्र्यो नेता वीरजङ्ग त्यस्तै भएको टिप्पणी गर्दै दुश्मनको यातना मात्र मृत्युको कारण नभएर एलोेपेथिक औषधि विधि पनि भएको वताउनु भयो । उहाँले कम्युनिष्टहरुले एलोपेथिक र अन्य उपचार विधिहरुको संयोजन गरी वैज्ञानिक र डाक्टरहरुको सहयोग लिएर एकीकृत उपचार विधिको वारे चिन्तन गर्नु पर्ने तर्क गर्नु भयो ।

कार्यक्रममा नेकपा क्रान्तिकारी माओवादीका पिविएम चन्द्रहरी सुवेदीले वहुआयमिक,सरल व्यक्तित्व र क्रान्तिकारी योद्धा वीरजङग भएको वताउनु भयो ।

जनअधिकार अभियान नेपालका अध्यक्ष तथा वरिष्ठ अधिवक्ता एकराज भण्डारीले वीरजङ्गलाई सहिद घोषणा गर्न माग गर्नु भयो । उहाँले क्रान्तिमा लाल्दा लाग्दै दुश्मनको यातनाका कारण उपचारका क्रममा मृत्यू भएकाले सहिद घोषणा गर्दा कुनै फरक नपर्ने तर्क गर्नु भयो । नेता वीरजङ्गको सामान्य प्राकृतिक मृत्यु नभएर सरकारको यातनाका कारण मृत्यु भएको अधिवक्ता भण्डारीले दावी गर्नु भयो ।

तत्कालिन नेकपाका केन्द्रीय सदस्य नेता वीरजङ्ग २०७६ असोज ३० गते दाङको सीमा क्षेत्रमा आयोजना गरिएको पार्टी कार्यक्रम स्थल वाट सुराकीका कारण दलाल सत्ताले पक्राउ गरेको थियो । तीन वँुदे सहमति पछि नेता वीरजङ्ग २०७८ वैसाख १९ गते रिहाई हुनु भएको थियो । उहाँ रिहाई हुनु अगाडि जेलमा समेत विरामी हुनुहुन्थ्यो । उहाँलाई नेपालका चर्चित अस्पतालहरुमा उपचार गराएपनि विरामी ठिक हुन सकेन ।

पार्टीले उहाँलाई थप उपचारको लागि भारत नयाँ दिल्लीको म्याक्स अस्पतालमा पुर्याएको थियो । तर उहाँको मुटुको दोस्रो पटक गरिएको अप्रेसन पछि उपचारका क्रममा ६१ वर्षको उमेरमा २०७८ साल असोज २८ गते राती मृत्यु भएको थियो ।

स्मृति ग्रन्थ सार्वजनिक कार्यक्रममा नेकपा माओवादी समाजवादीका सचिव अरुण घिस्रिङ लगायतका वक्ताहरुले वीरजङ्गको योगदानको चर्चा गर्नु भएको थियो । नेकपाका नेता अनिल शर्मा विरहीको अध्यक्षतामा भएको कार्यक्रमको संचालन प्रकाश डुम्रेले गर्नु भएको थियो ।

 

प्रतिक्रिया दिनुहोस