२७ माघ, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीसहित ६ राजनीतिक पार्टी र २ मोर्चाले वुधवार देशैभरी एमसीसी विरुद्ध विरोध प्रदर्शन गरेका छन् ।
शेर बहादुर देउवा नेतृत्वको गठबन्धन सरकारले राष्ट्रघाती सम्झौता संसदबाट अनुमोदन गर्न गरेको प्रयत्न नेपालको राष्ट्रिय स्वाधीनता माथिको निर्मम प्रहार र दुस्साहस भएको ठहर गर्दै एमसीसी विरुद्ध उक्त पार्टी र मोर्चाको आयोजनामा काठमाडौं लगायत देशभर विरोध प्रदर्शन गरिएको छ ।
काठमाडौं माइतीघरबाट जुलुससहित सुरु भएको विरोध प्रदर्शन संसदभवन अगाडि बानेश्वरमा विरोध सभामा परिणत भएको थियोे । विरोध सभामा नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य चिरण पुन मिलन, राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्र बहादुर केसी, देशभक्त गणतान्त्रिक मोर्चाका सचिव परी थापा, नेकपा (मसाल) का नेता समीर सिंह, नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष ऋषि कट्टेल, नेकपा (क्रान्तिकारी माओवादी) का पोलिट ब्युरो सदस्य दिनेश शर्मा, नेकपा माओवादी केन्द्र समाजवादीका अध्यक्ष कर्णजीत बुढाथोकी लगायतले सम्बोधन गर्दै सत्ताधारी दलहरूलाई राष्ट्रघाती एमसीसीसम्झौता अनुमोदन नगर्न आग्रह गरेका थिए
एमसीसी विरुद्धको आन्दोलन नेपालको स्वाधीनताको भएको बताउदै कुनै पनि हालतमा एमसीसी लागू गर्न नदिने उद्घोष गरेका थिए ।
विरोध सभामा बोल्दै नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य चिरण पुन मिलन यो आवाज सम्पूर्ण जनताको आवाज भएकाले राष्ट्रघाती एमसीसी सम्झौता खारेज गर्न माग गर्नु भयो ।
नेपाली जनताको स्वाधीनताको आन्दोलन भएकोले अमेरिकाको पैसा, पावर, हतियारसँग नडराउने स्पष्ट पार्नु भयो । यसैगरि कपिलवस्तु,वुटवल,वाँके वर्दिया लगायतका देशभरका जिल्लामा एमसीसी विरुद्ध विरोध सभाहरु भएका छन ।