दैलेखमा एकाघरका पाँचजनाद्वारा आत्महत्या

२६ फागुन दैलेख । दैलेख जिल्लाको आठबीस नगरपालिका–३, निमायलकी ३५ वर्षीया सुकी बडुवालले आइतबार चार छोराछोरीसहित कर्णाली नदीमा हामफालेर आत्महत्या गर्नु भएको छ ।

मंगलबार बेलुकासम्म सुकी उहाका छोरीहरू १५ वर्षीया कल्पना र १२ वर्षीया सरिता तथा १० वर्षीय छोरा ललितको शव फेला परेको छ । अर्की छोरी पाँच वर्षकी रजनी अझै बेपत्ता छन ।

इलाका प्रहरी कार्यालय दुल्लुका प्रहरी निरीक्षक खिम खड्काका अनुसार कल्पना र सरिताको शव सोमबार तथा सुकी र ललितको शव मंगलबार फेलापरेको हो ।

कल्पना र सरिताको शव अछामको पञ्चदेवल विनायक नगरपालिका–४, बेलखेतनजिकै फेलापरेको थियो । प्रहरीका अनुसार सरिताको पाखुरामा र कल्पनाको कम्मरमा डोरी बाँधिएको थियो ।

‘घटनाको प्रकृति हेर्दा कल्पना र सरितालाई डोरीले बाँधेर नदीमा फालेको देखिन्छ,’ प्रहरी निरीक्षक खड्काले भन्नु भयो ‘छोेरा ललितको शव आमा सुकीको पिठ्युँमा पटुकाले बाँधेको अवस्थामा भेटिएको छ ।’

मध्यपहाडी राजमार्गको बेलखेत पुल नजिकैबाट उनीहरूले कर्णालीमा हामफालेको प्रहरीले बताएको छ । नदीमा हामफालेको ठाउँमा पाँचैजनाका चप्पल मिलाएर राखिएका छन् ।

कर्णालीमा हामफालेका पाँचमध्ये चारजनाको शव सुदूरपश्चिम प्रदेशको अछाममा भेटिएकाले पोस्टमार्टम र थप अनुसन्धानको काम पनि जिल्ला प्रहरी कार्यालय अछामले गर्नेछ ।

दैलेख प्रहरीले सुकीका पति मानसिंहलाई पक्राउ गरेर अछाम प्रहरीको जिम्मा लगाएको छ । घरेलु हिंसाका कारण सुकीले छोराछोरी सहित आत्महत्या गरेको स्थानीयको भनाइ छ ।

आठबीस नगरपालिकाकी उपप्रमुख दीपा बोहराले मानसिंहले मदिरा सेवन गरेर कुटपिट गरिरहने भएकाले पत्नी र छोराछोरीले आत्महत्या गरेको हुनसक्ने बताउनु भयोे ।

‘घटना भएको दिन पनि मानसिंहले मदिरा सेवन गरेर झगडा गरेको सुन्नमा आएको छ,’ उपप्रमुख बोहराले भन्नु भयो , ‘आत्महत्या गर्नुको कारण त्यही हुनसक्छ ।’
प्रहरीसँगको प्रारम्भिक बयानमा मानसिंहले घरमा झगडा हुने गरेको स्वीकार गर्नु भएको छ । उहाले आइतबार बेलुका चार बजेतिर घाँस काट्न जान्छु भनेर हिँडेकी पत्नी फर्केर नआएको प्रहरीसँग बताउनु भएको छ ।

‘आइतबार म घरमै थिएँ, घाँस काट्न जान्छु भनेर घरबाट गएकी हुन्,’ मानसिंहलाई उद्धृत गदै प्रहरी स्रोतले भन्यो, ‘साँझसम्म नआएपछि माइत गई होला भनेर मैले कतै खबर गरिनँ ।’

सुकीको माइत घरदेखि ३० मिनेटको पैदल दूरीमा पर्छ । एकै परिवारका पाँचजनाले कर्णालीमा आत्महत्या गरेको घटना कर्णालीको लागि सार्रै दुखद र पहिलो हो ।

प्रतिक्रिया दिनुहोस