२३ असाेज कालिकोट । नेकपाका स्थायी समिति सदस्य भरत सीले नेपालका क्रान्तिकारी कम्युनिष्टहरुको लागि दलालपुँजीवाद र प्रतिक्रान्ति मुख्य दुश्मन भएको बताउनुभएको छ ।
मंगलबार चार पार्टीको कालिकोट जिल्लाको समाजवादी मोर्चा घोषणा कार्यक्रमलाई सम्वोधन गर्दै स्थायी समिति सदस्य भरत सीले दलालपुँजीवाद र प्रतिक्रान्ति मुख्य दुश्मन भएको बताउनु भएको हाे ।
उहाँले समाजवादी मोर्चा भनेको अबको क्रान्तिलाई नेपाली विशेषताको समावादमा पु्र्याउन गठन भएको दाबी गर्नुभयो । उहाँले नेपालका सबै कम्युनिष्टहरु एमालेदेखि, वैद्य, मोहन विक्रम, रोहीत सबैलाई समाजवादी मोर्चामा आउन अपिल पनि गर्नुभयो ।
नेता भरत सीले नेपालको काङग्रेस भित्रको विपि काईरालाको समाजवाद मान्य शक्ति पनि समाजवादी मोर्चामा अटाउन सक्ने बताउनु भयो ।
उहाँले भन्नुभयो “समाजवादी मोर्चा भंग हुनुहुदैन । कम्युनिष्ट जनमत धेरै छ । सबै नेपालका कम्युनिष्टहरु समावेश हुनुपर्छ । विपीको समाजवाद मान्यलाई पनि ल्याउनु पर्छ । नेपालमा एउटै कम्युनिष्ट पार्टी बनाउने उद्देश्य सहित समाजवादी मोर्चा अगाडि बढाउनु पर्छ ।”
नेता भरत सीले अमेरिका हस्तक्षेपकारी नीति सहित नेपालमा आएको वताउदै नेपालमा एमसीसी कुनै पनि हालतमा कार्यान्वयन गर्न दिन नहुने बताउनुभयो ।
उहाँले १२ बुँदे व्याख्यात्मक टिप्पणीलाई एमसीसीको लिखित अंग बनाएर मान्न तयार अमेरिका भए मात्र सोच्न सकिने बताउनु भयाे । नेता भरतले कोही कसैको मौखिक कुराले १२ बुँदे मान्छौ भन्दैमा विश्वास गर्न नसकिने ठोकुवा गर्नुभयो ।
कार्यक्रममा नेकपा एकीकृत समाजवादीका नेता तथा संविधानसभा सदस्य तुलराज विष्टले समाजवादी मोर्चा अहिलेको आवश्यकता भएको भन्दै उहाँले सरकार र सदनबाट समाजवाद नआउने तर्क गर्नुभयो ।
कार्यक्रममा नेकपा (माओवादी केन्द्र)का कर्णाली प्रदेश सचिव धनजीत शाहीले नेपालको जनवाद राष्ट्रवादकाे स्वतन्त्र चाहिने भन्दै साम्राज्यवादको हस्तक्षेपलाई परास्त गरेको तर बैदेशिक हस्तक्षेप अन्त्य नभएको बताउनुभयो ।
नेकपा (माओवादी केन्द्र) कालिकोटको संयोजक शैलेन्द्र चाैंलागाईकाे अध्यक्षता रहेकोे कार्यक्रमकाे संचालन नेकपा (एस) का जिल्ला उपाध्यक्ष चित्रसिंह गाउले गर्नुभएको थियो । कार्यक्रममा नेकपाका जिल्ला सेक्रेटरी शाहासीले स्वागत मन्तव्य राख्नु भएको थियो भने जसपा जिल्ला संयोजक माधव उपाध्यायले अवधारणा पत्र प्रस्तुत गर्नुभएको थियो ।
कार्यक्रममा नेकपा केन्द्रीय सदस्य तथा समाजवादी माेर्चा कर्णाली प्रदेश सदस्य विराट सी, नेकपा मध्य कर्णाली ब्युरो इन्चार्ज विवेक सी, नेकपाका जिल्ला इन्चार्ज बलवान् सी, नेकपा (एस) का प्रदेश सदस्य विजया विष्ट, नेकपा (माओवादी केन्द्र) का प्रदेश सदस्य तथा माेर्चाका कर्णाली प्रदेश सदस्य दिनेश चदारा, गंगा खड्का लगायतका नेताहरू रहेकाे आतिथ्यता रहेको थियो ।