२५ कात्तिक,जाजरकोट । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले जाजरकोटको भूकम्प प्रभावित बस्ती नलगाड नगरपालिका १ को चिउरी बस्तीबाट पार्टीको भूकम्प पुनर्निर्माण अभियानको उद्घाटन गर्नु भएको छ । साथमा पार्टी प्रवक्ता प्रकाण्डको समेत सहभागिता रहेको थियो ।
भूकम्पमा घर भत्केका एकल परिवार कले विकको घर पुनर्निर्माण गरि उद्घाटन गर्नु भएको हो ।
नलगाड संगै जाजरकोटका अन्य प्रभावित बस्तीमा पार्टीले पुनर्निर्माण अभियान सञ्चालन गर्ने तयारी भईरहेको जाजरकोटका जिल्ला ईन्चार्ज विराजनले बताउनु भयो ।
पार्टी द्वारा संकलित राहत सामग्री शुक्रबार जाजरकोट सदरमुकाममा जिल्ला विपत् व्यवस्थापन समितिलाई हस्तान्तरण गरि राति अबेर नलगाड पुग्नु भएका महासचिव विप्लव र प्रवक्ता प्रकाण्डले स्थानीय जनप्रतिनिधि र पार्टीका नेता कार्यकर्ताहरुसंगको छलफल पछि शनिबार बिहान नलगाड आसपासका भूकम्प पीडितहरुसंग भेटघाट गरी यो जटिल अफ्ट्यारोमा आफ्नो पार्टी जनतासँग संगै भएको बताउनु भएको थियो । नालगाड गाउँमा १३ जनाको भूकम्पमा परी मृत्यु भएको छ ।
गत कार्तिक १७ गते शुक्रबार राती ११ः४७ बजे जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु बनाएर गएको ६.४ रेक्टर स्केलको भूकम्पले नलगाड गाउँ स्तब्ध छ । सबै घरहरू भत्केका छन् । मृतकका परिवारमा विचल्लि भएको छ ।
भूकम्प पीडित भएका जाजरकोट र रुकुम पश्चिम जिल्लाका भूकम्प पीडितको राहत तथा उद्वारका लागि नेकपाका झण्डै डेढ सय नेता कार्यकर्ता यस अगाडि देखिनै नियमित राहत वितरण,उद्वार,स्वास्थ उपचार तथा आधारभूत अस्थायी संरचना बनाउन सक्रियता पूर्वक लागिरहेका छन् ।
सोही गाउँमा पार्टी निकट अखिल नेपाल जनस्वास्थ्यकर्मी महासंघका महासचिव डाक्टर प्रकाश सी,पिताम्बर सी,मान्यता सी नेतृत्वको मेडिकल टोली जाजरकोटका एकदमै दुर्गम गाउँ बस्तीमा उपचारमा खटिएका छन् । जाजरकोट पछि महासचिव विप्लवको केन्द्रीय टोली रुकुम र सल्यान जाने कार्यक्रम रहेको छ । जनपत्रिकाबाट साभार