रूस–युक्रेन संकट ः धमाधम युरोप छिर्दै नेपाली

२८ फागुन, बार्सिलोना । काभ्रेपलान्चोक, बनेपा नगरपालिका–१४ का विवेक बस्नेत युक्रेन गएको ६ महिना पुग्दै थियो । युक्रेन पुग्न उहाँले १०–१२ लाख रुपैयाँ एजेन्टलाई बुझाउनु भयो । विद्यार्थीको रूपमा पुगे पनि उहाँको उद्देश्य अर्कै थियो । युरोप छिर्ने, कार्ड बनाउने र त्यतै ‘सेटल’ हुने ।

उहाँ युक्रेन छिरेको ६ महिना नबित्दै रूस–युक्रेन तनाव उत्कर्षमा पुग्यो । ‘भाग्यले बाँचियो, धेरै दुःख पनि पाइयो । मरिन्छ कि बाँचिन्छ ठेगान नै थिएन’ उहाँले भन्नु भयो , ‘बम र बारुदको आवाजले बेला बेला त जीवन अब यत्ति नै रहेछ भन्ने पनि लाग्थ्यो ।’

डर र त्रासदीको जस्तोसुकै सास्ती खेप्नु परे पनि उहाँ अहिले आफैंले चाहेको गन्तव्य मुलुक पोर्चुगल पुगिसक्नु भएको छ । त्यहाँ बसेर ‘रेसिडेन्सी कार्ड’ बनाउने र भविष्य सुनिश्चित गर्ने उहाँको सपना छ ।

युक्रेनको बोर्डर हुँदै २०७८ फागुन दोस्रो साता उहाँ पोल्याण्ड पुग्नु भयो । त्यहाँ एकदिन मात्रै बस्नु भयो । उहाँको उद्देश्य जीवन जोगाउनु मात्रै थिएन भविष्य पनि जोगाउनु थियो । उहाँले जर्मनी, फ्रान्स, स्पेन हुँदै पोर्चुगलको यात्रा गर्नु भयो । ‘युक्रेन बसेको डकुमेन्ट देखाएपछि हामीलाई केही समस्या परेन’ उहाँले भन्नु भयो ‘रेल यात्रामा पनि सम्बन्धित देशका अधिकारीहरूले सहयोग गरे ।’

‘यथार्थमा यो युद्धले म लगायत युक्रेन छिरेका सयौं विद्यार्थीलाई नेगेटिभ÷पोजेटिभ दुवै असर गरेको छ’ बस्नेतले आफ्नो उद्देश्य नलुकाई भन्नु भयो , ‘एकथरी रूपमा हेर्दा छिट्टै र सजिलै युरोप छिर्न पाइयो, अर्कोथरी रूपमा हेर्दा ज्यानको भर थिएन, भाग्यले बाँचियो ।’
पोर्चुगल छिरेका विवेक एक्ला पात्र हुनुहुन्न । शुक्रबार राति स्पेनको राजधानीस्थित एक रेल्वे स्टेशनमा उहाँसँगै ३७ जनाको समूह थियो । जहाँ ६ महिलासहित १३ नेपाली सँगै थिए । बाँकी भारतीय विद्यार्थी रहेको उहाँले वताउनु भयो । एनआरएनए स्पेन र रेल्वे स्टेशनका कर्मचारीहरूको सहयोगमा उनीहरूलाई खाना खुवाइएको थियो ।

‘पोल्याण्डदेखि जर्मनीको बर्लिन हुँदै फ्रान्सको पेरिस पुग्यौं । पेरिसमा आएर एक रात बस्यौं । त्यहाँ हामीले खासै कसैलाई भेटेनौं’ उहाँले भन्नु भयो , ‘पेरिसदेखि स्पेनको बार्सिलोनाको टिकट लिएर आयौं । बार्सिलोनादेखि स्पेनको राजधानी म्याड्रिड हुँदै पोर्चुगल आइपुगेका हौं ।’

युक्रेनमा पढ्ने उद्देश्यले गएका र युद्धमा ज्यान जोगाउन युरोप छिरेकाहरूको कुरै अर्कै छ । रामेछापको गोकुलगंगा गाउँपालिका–४ बेतालीकी ज्योति कार्की पनि पोल्याण्ड छोडेर अहिले जर्मनी पुगिसक्नु भएको छ । उहाँ अहिले आफन्तसँगै जर्मनीमा हुनुहन्छ । ‘दाइ लिन आउनुभएको थियो ।

त्यसैले जर्मनी आइपुगें । यहाँ नै कलेज ट्रान्सफर गरेर पढ्न मिलेमा बसेर पढ्छु । हैन भने त नेपाल नै फर्कन्छु’, कार्कीले भन्नु भयो । आफू युरोप छिर्न नभएर अध्ययनकै लागि युक्रेन पुगेको उहाँले सुनाउनु भयो ।

तर, विद्यार्थीको रूपमा युक्रेन आउनेहरूको संख्या सयौं रहेको उहाँको भनाइ छ । ‘युक्रेनबाट आएका नेपालीले पोल्याण्ड छोड्ने क्रम बढिरहेको छ । सबैले आ–आफ्नो बारेमा सोचिसक्नुभएको छ’, कार्कीले भन्नु भयो । उहाँका भनाइमा पोर्चुगललाई गन्तव्य बनाउने नेपाली पोल्याण्ड छोडेर हिंडिसकेका छन् ।

पोल्याण्ड बोर्डरमा आएका नेपालीहरु

नुवाकोट किस्पाङ गाउँपालिका–२ का प्रशान्त तामाङको युक्रेन भोगाइ नमिठो छ । उहाँ ८ लाख रुपैयाँ खर्च गरेर ६ महिना पहिले युक्रेन पुग्नु भएको थियो । उहाँले स्टोनियाका लागि भिजिट भिसाको पनि आवेदन दिनु भएको थियो ।
‘१० दिनलाई ‘सेन्जेन कन्ट्री’ (युरोपका देशहरू) को लागि भिजिट भिसा लागेको थियो । मैले त्यसका लागि झन्डै ५ हजार युरो खर्च गरें । तर मेरो खर्च बेकार भयो’ उहाँले थप्नु भयो , ‘मलाई ठूलो नोक्सान भयो । तपाईं आफैं हेर्नु न, जस्तै मान्छे पनि अहिले ‘सेन्जेन कन्ट्री’ छिरेको छ । मेरो त रकम पनि खर्च भयो । दुःख पनि त्यस्तै भयो ।’

भिजिट भिसा एप्लाई गर्दा इन्भिटेसन पठाइदिने र युक्रेनमा ग्यारेन्टी बसिदिने मान्छे महत्वपूर्ण रहेको भन्दै उहाँले भन्नु भयो ‘मैले यी दुवै पक्षलाई चिन्दिनँ । मलाई भिसासँग मात्र सरोकार थियो । यसैका लागि ठूलो खर्च गर्नु परेको हो ।’
स्टोनियाबाट १० दिनको सेन्जेन भिसा प्राप्त गरेको उहाँले वताउनु भयो । ‘फेव्रअरी २३ मा भिसा रिसिभ गरें । २४ मा नै पहिलो ब्लाष्ट भयो । त्यसपछि भागदौड मच्चियो’ उहाँले भन्नु भयो , ‘व्यर्थमा पैसा खर्च भयो । अहिले सबै जना त्यसै सेन्जेन छिरिरहेका छन् ।’
हवाई मार्ग बन्द भएपछि उहाँ पनि अन्य साथीहरूसँगै राजधानी किएभ छोडेर पोल्याण्डको बोर्डरतर्फ लाग्नु भएको थियो ।
‘भिसा लागेर खर्च भए अनुसार फ्लाइटबाट उड्न पाएको भए पनि हुन्थ्यो । खल्तीमा सेन्जेनको भिसा छ । तीन–तीन दिनसम्म न खाना छ, न पानी, न सुत्न नै ।’ दुःख सुनाउँदै उहाँले भन्नु भयो ‘युक्रेनसम्म आउन ८ लाख खर्च भएको थियो तर सेन्जेन भिसाका लागि थप ७ लाख रुपैयाँ खर्च भयो । १५ लाख रुपैयाँको भारी बोकिएको छ ।’

अब युद्ध रोकियो भने नेपालबाट युक्रेनको सपना देखाउँदै एजेन्टहरू सलबलाउने प्रशान्तको आशंका छ । ‘हेर्दै जानुहोस् युक्रेनदेखि विना डकुमेन्ट ‘सेञ्जेन कन्ट्री छिर्न पाइन्छ भन्दै एजेन्टहरूले नयाँ खेल सुरु गर्नेछन’ उहाँले भन्नु भयो े, ‘सचेतनाका लागि मैले आफ्नो यथार्थ बताएको हुँ, सबै जना सचेत रहनुहोला ।’

वास्तविक विद्यार्थीको बिचल्ली

सप्तरी राजविराज मूल घर भएका राकेश चौरसिया तीन वर्षअघि युक्रेन पुग्नु भएको थियो । उहाँले भन्नु भयो सेन्जेनलाई लक्ष्य बनाएर आएका नक्कली विद्यार्थी होइनन् । चिकित्सा शिक्षा अध्ययनका लागि युक्रेन पुग्नु भएका उहाँले ६ वर्षमा पूरा हुने कोर्स आधा मात्रै पूरा गर्न पाउनु भएको छ । पोल्याण्डको वार्सामा रहनु भएका उहाँले भन्नु भयो , ‘एमबीबीएस अध्ययन गर्न युक्रेन आएको । थर्ड इयरको सेकेण्ड सेमेष्टर गर्दै थिएँ । बीचैमा यस्तो हुनपुग्यो ।’

एनआरएनए पोल्याण्डले उपलब्ध गराएको होस्टलमा बसिरहनु भएका उहाँलाई युरोपमा बसेर कार्ड बनाउनु छैन । उहाँको चिन्ता आफ्नो अध्ययन पूरा गर्नुछ । अध्ययनका लागि उहाँले हालसम्म २५ लाख रुपैयाँभन्दा बढी खर्च गरिसक्नु भएको छ ।
तत्काल नेपाल फर्कन सक्ने अवस्था नरहेको भन्दै उहाँले , ‘आमा–बालाई कसरी मुख देखाउने । लाखौं रकम खर्च भइसकेको छ । आफैंलाई नराम्रो लाग्छ ।’ अमेरिकामा रहेकी दिदीको सहयोगमा आफूले अध्ययन गरिरहेको पनि उहाँले सुनाउनु भयो ।

प्रतिक्रिया दिनुहोस