गोन्जालोलाई सहिद घोषणा गर्दै विप्लव द्धारा साम्यवादको महान् झन्डा फहराइरहने प्रतिवद्धता

२७ भाद्र,काठमाडौँ । नेकपाका महासचिव नेत्रविक्रम चन्द (विप्लव)ले विश्व कम्युनिस्ट आन्दोलनका नेता एवम् पेरू कम्युनिस्ट पार्टीका अध्यक्ष अभिमायल गुज्मान गोन्जालोलाई महान् सहिद घोषणा गर्नु भएको छ ।

उहाँले प्रतिक्रियावादी शासकहरूले क्रान्तिकारी योद्धा गोन्जालोको हत्या गरे पनि मानव जातिको मुक्ति नभएसम्म गोन्जालोले उठाएको साम्यवादको महान् झन्डा फहराइरहने उद्घोष गर्नु भएको छ ।

आइतबार श्रद्धाञ्जली वक्तव्य जारी गर्दै महासचिव विप्लवले भन्नु भयो , ‘कमरेड गोन्जालो फासिस्ट पुँजीवादी सत्ताका विरुद्ध सङ्घर्ष गर्दागर्दै सहिद हुनुभएको छ । सर्वहारा वर्गका इमानदार नेताको निधनले हामी विश्वभरिका क्रान्तिकारी कम्युनिस्टहरूलाई दुःखी बनाए पनि उहाँको वैज्ञानिक समाजवाद– साम्यवादप्रतिको प्रतिबद्धता र दृढताले गौरवान्वित बनाएको छ ।’
‘कमरेड गोन्जालोप्रति श्रद्धाञ्जली’ शीर्षकमा महासचिव विप्लवद्वारा जारी वक्तव्यमा ‘पेरू कम्युनिस्ट पार्टीका अध्यक्ष तथा विश्व कम्युनिस्ट आन्दोलनका नेता कमरेड गोन्जालोको ११ सेप्टेम्बर, २०२१ मा पेरूको क्रूर प्रतिक्रियावादी सत्ताको सैन्य अस्पतालमा दुःखद् निधन भएकोे उल्लेख गरिएको छ ।

महासचिव विप्लवले गोन्जालोप्रति नेपाल कम्युनिस्ट पार्टी, नेपाली श्रमिक जनता र योद्धाहरूका तर्फबाट उच्च सम्मान, श्रद्धासहित गहिरो श्रद्धाञ्जली प्रकट गर्नु भएको छ ।
उहाँले आफ्नो प्रिय नेता र कमरेडको निधनले शोकाकुल हुनुभएका पेरू कम्युनिस्ट पार्टीका नेता, कार्यकर्ता र श्रमिक जनताप्रति समवेदना व्यक्त गर्नु भएको छ ।
नेकपाले मानव जातिको उच्चतम् सभ्यताका लागि समर्पित नेता एवम् योद्धालाई आजीवन जेलमा बन्द गरेर ज्यान लिने हत्यारो पेरू सरकारप्रति घृणा र आक्रोश समेत व्यक्त गरेको छ ।
महासचिवको वक्तव्यमा अगाडि भनिएको छ, ‘कमरेड गोन्जालोले १९८० को दशकमा पेरूमा जनयुद्धको महान् झन्डा उठाउनुभयो । उहाँले पेरूको प्रतिक्रियावादी सत्ताका विरुद्ध मात्र नभएर विश्वमै रक्षात्मक देखिएको क्रान्तिकारी आन्दोलनलाई नै नयाँ शक्ति र चेतना सञ्चार प्रवाह गर्नुभयो । निकै छोटो अवधिमा त्यहाँको प्रतिक्रियावादी सत्तालाई धुलोपिठो पार्दै र जनताको सत्ता निर्माण गर्दै देशको अधिकांश भागमा नियन्त्रण गर्न सफल हुनुभयो । उहाँले नै विश्व–कम्युनिस्ट आन्दोलनमा देखिएको अन्योललाई चिर्दै माक्र्सवाद–लेनिनवादलाई विकासको अर्को उचाइका रूपमा माओवादको संश्लेषण गर्नुभयो । माओवादको संश्लेषण र पेरूको सफलता–उन्मुख जनयुद्धले विश्वका क्रान्तिकारीलाई एकताबद्ध बन्न र क्रान्ति सञ्चालन गर्न ठूलो प्रेरणा र सहयोग गरेको थियो । नेपाली क्रान्तिकारीहरूलाई पनि जनयुद्धमा प्रवेश गर्नका लागि ऊर्जा थपिदिएको थियो ।’

वक्तव्यमा भनिएको छ, ‘जनयुद्धको विकास, विस्तार र विश्वमा परेको प्रभावबाट पेरूको सत्ता मात्र होइन, अमेरिकी साम्राज्यवादको निद्रासमेत उडेको थियो । उनीहरूले संयुक्त रूपले दमन र नेतृत्वको गिरफ्तारीलाई जोड दिए । दुःखको कुरा, कमरेड गोन्जालो लिमामा पुगेको बेला सन् १९९२ सेप्टेम्बर १२ मा फासिस्ट एवम् अमेरिकी दलाल फुजिमोरी सरकारको गिरफ्तारीमा पर्नुभयो । उहाँको गिरफ्तारीले विश्वभरिका क्रान्तिकारीहरूलाई स्तब्ध बनायो ।’
वक्तव्यमा भनिएको छ ‘थुप्रै माग र सङ्घर्षलाई बेवास्ता गर्दै पेरूको फासिस्ट सरकारले कमरेड गोन्जालोलाई आजीवन काराबासको सजाय सुनायो । उहाँका बारेमा अनेकौँ भ्रामक समाचारहरू पनि फैलायो तर उहाँ महान् मानवसभ्यता वैज्ञानिक समाजवाद– साम्यवादका लागि अनवरत सङ्घर्षरत रहनुभयो । उहाँले जेलबाट, अदालतबाट घोषणा गर्नुभयो– मालेमावाद– जिन्दावाद, वैज्ञानिक समाजवाद– साम्यवाद जिन्दावाद !’
वक्तव्यमा तीस वर्षको लामो जेलजीवन, पाको उमेर, अनेकौँ स्वास्थ्य समस्याका कारण कमरेड गोन्जालोको ८६ वर्षको उमेरमा निधन भएको छ उल्लेख गरिएको छ ।
वक्तव्यको अन्त्यमा हामी नेपाली क्रान्तिकारीहरूले आजको जटिल एवम् सङ्कटपूर्ण साथै सम्भावनायुक्त राष्ट्रिय राजनीतिमा कमरेड गोन्जालोबाट शिक्षा र आदर्श सिक्दै यहाँको दलाल पुँजीवादी सत्ता मिल्काउन र यसको ठाउँमा वैज्ञानिक समाजवाद स्थापना गर्न दृढतापूर्वक अगाडि बढ्नुपर्छ भनिएको छ ।
श्रद्धाञ्जली वक्तव्यको पूर्णपाठ‘

प्रतिक्रिया दिनुहोस