२८ मंसिर, काठमाडौं । बाँकेमा कोरोना संक्रमणबाट दुई जनाको मृत्यु भएको छ ।
जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र बाँकेका फोकल पर्सन तेज वलीका अनुसार बाँके र डोटीका एक र एक जना कोरोना संक्रमितको मृत्यु भएको हो ।
बाँकेको नेपालगञ्ज उपमहानरपालिका ४ का ५० वर्षीय पुरुषको भेरी अस्पताल नेपालगञ्जमा उपचारको क्रममा आइतबार बिहान साढे ३ बजे मृत्यु भएको हो । स्वास्थ्यमा समस्या देखिएपछि मंसिर २४ गते भेरी अस्पतालमा कोरोना परीक्षण गर्दा त्यसको भोलिपल्ट रिपोर्ट पोजेटिभ आएको थियो । श्वासप्रश्वासमा थप समस्या आएपछि उहाँलाई मंसिर २७ गते भर्ना गरिएको थियो ।
यसैगरी डोटीको दिपायल सिलगडी ५ का ४९ वर्षीय पुरुषको नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचारका क्रममा शनिबार साँझ ६ः४५ बजे मृत्यु भएको छ । स्वास्थ्यमा समस्या आएपछि नेपालगञ्ज मेडिकल कलेजमा मंसिर २६ गते कोरोना परीक्षण गर्दा त्यसको भोलिपल्ट रिपोर्ट पोजेटिभ आएको थियो । कोरोना पुष्टि भएकै दिन आईसीयू कक्षमा राखेर उहाँको उपचार थालिए पनि सोही दिन साँझ उहाँको मृत्यु भएको वलीले बताउनु भयो ।