अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि गोली प्रहार

३० असार, काठमाडौं । अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि गोली प्रहार भएको छ ।

अमेरिकी समयअनुसार शनिबार राति पेन्सिलभेनियाको बटलरमा भएको चुनावी सभामा पूर्व राष्ट्रपतिमाथि भएको गोली प्रहारमा उनी सामान्य घाइते भएको बीबीसीले जनाएको छ ।

घटनास्थलको तस्वीरहरुमा ट्रम्पको कान नेरबाट गालासम्म रगत बगेको देखिन्छ । उनलाई सुरक्षा टोलीले त्यहाँबाट अस्पताल पुर्‍याएका थिए । प्रत्यक्षदर्शीका अनुसार उनीमाथि करिब ३०० यार्डबाट राइफलबाट गोली हानिएको थियो । त्यसक्रममा गोली चलेका थुप्रै आवाजहरु सुनिएको थियो ।

एक बन्दुकधारी र एक दर्शकको मृत्यु भएको अधिकारीहरूले जनाएको बीबीसीले उल्लेख गरेको छ । र्‍यालीमा सहभागी दुई जना गम्भीर घाइते भएको जनाइएको छ । ट्रम्पले सामाजिक सञ्जालमा आफूलाई दाहिने कानको माथिल्लो भागमा गोली लागेको उल्लेख गरेका छन् । राष्ट्रपति जो बाइडेनले घटनाको निन्दा गरेका छन् ।

प्रतिक्रिया दिनुहोस