देउवा सरकारको पहिलो निर्णय ः चैत मशान्तसम्म सबै नागरिकलाई खोप

३० असार, काठमाडौं । शेरबहादुर देउवा नेतृत्वको सरकारको पहिलो बैठकले सबै नागरिकलाई चैत मसान्तभित्र कोरोनाविरुद्धको खोप लगाइसक्ने निर्णय गरेको छ ।

देउवा प्रधानमन्त्री भएपछि मंगलबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले असोज मसान्तसम्म एक तिहाई नागरिकलाई खोप लगाउने र चैत मशान्तसम्म खोप लगाउन योग्य सबै नेपालीलाई खोप लगाउने निर्णय भएको कानून, न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिनु भयो ।

सरकारको प्रवक्ताको जिम्मेवारीसमेत पाउनु भएका मन्त्री कार्कीले बैठकले कोरोनाविरुद्ध अहिलेसम्म भएको खर्च विवरण सार्वजनिक गर्ने निर्णय भएको बताउनु भयो ।

साथै कोरोनाविरुद्ध अग्रमोर्चामा रहेर काम गर्दै आएका स्वास्थ्यकर्मी, सरसफाईकर्मी र सुरक्षाकर्मीलाई एक हप्ताभित्र जोखिम भत्ता उपलब्ध गराउन सुरु गर्ने निर्णय भएको छ ।

मन्त्रिपरिषद्को बैठकले सरकारको विभिन्न प्राथमिकता निर्धारण गरेको छ । त्यसमा शान्ति सुव्यवस्था कायम गर्ने विषयलाई प्रमुख प्राथमिकतामा राखिएको छ । कोभिड–१९ को रोकथाम, नियन्त्रण र उपचार, आर्थिक समृद्धि, कोभिड–१९ बाट प्रभावित अर्थतन्त्रको शिघ्र पुनरुत्थान गर्ने विषय पनि सरकारको उच्च महत्वमा रहेको छ ।

विकास निर्माण कार्यमा तीव्रता, दिँदै सार्वजनिक सेवाको प्रभावकारी वितरण वर्तमान सरकारको प्रमुख दायित्वमा रुपमा निर्धारण गरिएको छ ।

संविधानको रक्षा, सङ्घीय लोकतान्त्रिक गणतन्त्रको सुदुढीकरणलाई नवगठित सरकारले महत्वका साथ प्राथमिकतामा समेटेको छ ।

विपद्को प्राथमिकताका आधारमा व्यवस्थापन गरिनेछ । त्यस्तै, सरकारले स्थानीय तहको निर्वाचनलाई पनि आफ्नो प्राथमिकतामा समावेश गरेको छ ।

प्रतिक्रिया दिनुहोस