वालिका करणीको घटना मिलाउन खोजिएको घटना प्रति अखिल क्रान्तिकारीको आपत्ति

३१ साउन, जुम्ला । नेकपा निकट अखिल क्रान्तिकारी जुम्लाले वालिका वलात्कार गर्ने व्यक्तिलाई जोगाउन खोजीएको भन्दै आपत्ति जनाएको छ । अखिल क्रान्तिकारी जुम्लाले एक प्रेश विज्ञप्ति जारी गरी अभियुक्तलाई जोगाउने चलखेल भएको घटना प्रति आपत्ति जनाएको हो ।

अखिल क्रान्तिकारीले जारी गरेको विज्ञप्तिमा जिल्लाको चन्दननाथ न.पा वडा न.७ निबासी ४८ बर्षका ठेकेदार प्रेम राजा नामले चिनिने (प्रेमजंग महत) ले जाजरकोट जिल्ला कुसे गाउँपालिका निबासी हाल खलंगा बजार जुम्ला बस्दै आएकि र चन्दननाथ नमुना माध्यमिक विद्यालयमा कक्षा ४ मा अध्यनरत १३ बर्षिया छात्रालाई धर्म छोरी बनाएर पालनपोषण गर्ने सर्तमा आफ्नो घरमा राखेर निरन्तर ३ महिनादेखि करणी गर्दै आएको घटना वाहिरिएको प्रति संगठनको गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरिएको छ ।

विज्ञप्तिमा धर्म छोरी मानेर राखेकी नाबालिकालाई दिउँसो अरुको अगाडि बुवा भन्नु राति म श्रीमती स्वीकार्छु यदि घटना खुलासा गरेपछि मारी दिन्छु भनेर उर्दी गरिएकाले पिडालाई सहन नसकेर छात्राले मुसा मार्ने विष खाएर आत्महत्या गर्ने प्रयास गरेपछि घटना वाहिरीएको जनाईएको छ ।

क्रान्तिकारी विद्यार्थी संगठनले यस्तो घटनालाई सरकारी निकायका व्यक्तिहरु लगायतका गिरोहको मिलोमतोमा छात्राकि आमालाई आर्थिक प्रलोभनमा पारी नाबालिका करणी जस्तो जघन्य अपराधीक घटनालाई ७ लाखको चलखेलमा कागज बनाएर अपराधीलाई उम्काउन खोजीएको भन्दै यस्तो कार्यगर्ने व्यक्ति माथि समेत कार्वाही गरिनु पर्ने माग गरेको छ ।

विज्ञप्तिमा भनिएको छ “आरोपित महतलाई जोगाउन आर्थिक चलखेलमा मिलापत्र कागज गरि टालटुल पार्न खोज्ने काममा सामुदायिक प्रहरी केन्द्रमा कार्यरत करणीका आरोपित महतका दाजु ,मानवअधिकार आयोगमा कार्यरत सुरक्षा गार्ड, कालीबहादुर भण्डारी (स्वतन्त्र वडा सदस्य) चन्दननाथ नपा ५, जीवन महत, चन्दननाथ–४ का नवराज भारती, तातोपानी गापा–८ का ईश्वरी आरसी, कागज बनाउन सहयोग गर्ने अधिवक्ता दिलबहादुर महत र चन्दनाथ–७ का महेन्द्रबहादुर महत लगायतका संलग्न व्यक्तिलाई छिटोभन्दा छिटो नियन्त्रणमा लिई, तथ्य र सत्य अनुसन्धान गरि कानुन अनुसार कडा भन्दा कडा कारबाही गर्न र पीडित पक्षलाई न्याय दिन हाम्रो संगठन जोडदार माग गर्दै खबरदारी गर्दछ ।”

बालिका करणीका आरोपीत महतलाई भने साउन २८ गते राती जिल्ला प्रहरी कार्यालयले नियन्त्रणमा लिएको छ ।

अखिल क्रान्तिकारीले घटनालाई विभिन्न चलखेलमा कमजोर पारेर अपराधीहरु उम्काउने र पीडितलाई न्याय नदिने षड्यन्त्र भएमा भीषण संघर्ष गर्न बाध्य हुने चेतावनी दिएको छ ।

प्रतिक्रिया दिनुहोस