२९ असोज,काठमाडौँ । नेकपाका पूर्व पोलिटब्युरो तथा वर्तमान केन्द्रीय सदस्य चन्द्रबहादुर चन्द ‘वीरजङ्ग’ को ६१ वर्षको उमेरमा दुःखद् निधन भएको छ ।
विगतमा भएका ग्रामीण वर्गसङ्घर्ष, पञ्चायती निरङ्कुशता र दलाल संसदीय व्यवस्थाविरुद्ध जनयुद्ध हुँदै एकीकृत जनक्रान्तिको प्रतिबन्धको समयमा समेत लामो समयसम्म हिरासत र जेल जीवन व्यतीत गर्नु भएका नेता वीरजङ्गलाई जेलभित्रै मुटुको रोगले गाँजेको थियो ।
दुईपटकसम्म उहाँको मुटुको शल्यक्रिया भएको थियो । प्रतिबन्धको समयमा हिरासतभित्रै उहाँलाई कोरोना सङ्क्रमणसमेत भएको थियो । उपचारकै क्रममा भारत दिल्लीस्थित म्याक्स अस्पतालमा गएराती उहाँको दुःखद् निधन भएको हो ।
२०१७ साल फागुनमा रोल्पाको इरिबाङमा जन्मिनु भएका नेता वीरजङ्गको सम्पूर्ण जीवन राजनीतिमै व्यतित भएको छ । नेपालको कम्युनिस्ट आन्दोलनमा वीरजङ्गलाई क्रान्तिकारी, अत्यन्त इमानदार छवि भएका व्यक्तित्वका रूपमा चिनिन्छ । नेता वीरजङ्ग नेकपाका महासचिव विप्लवका सहोदर दाजु पनि हुनुहुन्छ । वीरजङ्गका आमा, श्रीमती, दुई छोरा–बुहारी छन् ।
नेता वीरजङ्गको शव अस्पतालबाट भोलि नेपाल ल्याइने र उहाँको हाल बसोबास रहेको कपिलवस्तु शिवगढीस्थित घरमा पार्टी महासचिव विप्लव, केन्द्रीय सचिवालय सदस्यहरू, केन्द्रीय सदस्यहरू सहित पार्टीका नेता–कार्यकर्ता र जनसमुदायका बीच श्रद्धाञ्जलीसभा आयोजना गरि अन्त्यष्टि गरिने पार्टीको केन्द्रीय स्रोतले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस