नेकपाको जारी महाधिवेशनमा केन्द्रीय सदस्य सहित २२ जनाले धारणा राखे

२९ असोज,कपिलवस्तु । नेपाल कम्युनिष्ट पार्टीको जारी नवौं महाधिवेशनको चौथो दिनको बन्दसत्र सम्म केन्द्रीय सदस्य सहित जम्मा २२ जनाले आ आफ्नो धारणा राखेका छन । जसमध्य १५ जना समूहका नेता रहेका छन भने ७ जना पार्टीको केन्द्रीय समितिका सदस्यहरु रहेका छन ।
सुक्रवार समूहका ९ जना नेताहरुले आ आफ्नो समूहको धारणा राखेकोमा शनिवार ६ जनाले मात्र धारणा राखेका छन ।

सुक्रवार धारणा राख्नेहरुमा समूहका नेताहरु असललिम्वु,अजय,आरोह,विमल,राजकुमारी,ध्रुव,असिना,संघर्ष र देवेन्द्र रहेका छन भने शनिवार धारणा राख्नेमा रणदीप,विवेक,नारायण,उषा,पाटन जंगली र उत्सव रहेका छन ।

यस्तै शनिवार पार्टीका केन्द्रीय सदस्यहरु अनिल,भेषराज भुसाल,सुवास, सञ्जीव,एटम, भगतसिंह र दिपेशले दस्तावेज माथिको धारणा राखेका छन । महाधिवेशनमा पेश भएको राजनैतिक प्रतिवेदन,विधान र जातीय प्रस्ताव वारे धारणा राख्न बन्दसत्रमा २० वटा समूह गठन गरिएको थियो । गठित समूह मध्य अब ५ वटा समूह नेताहरुले सुझाव पेश गर्न वाँकी छ । उनीहरुले आईतवार पेश गर्नेछन ।

धारणा राख्ने समूह नेता तथा पार्टीका केन्द्रीय सदस्यहरुले महासचिवले पेश गरेको राजनैतिक प्रस्ताव मुल स्प्रिडमा ठीक र वस्तुवादी भएको दावी गरेका छन । उनीहरुले साम्राज्यवाद र दलाल पूँजीवादका विरुद्ध लडेर विजयी हुन र नेपालमा वैज्ञानिक समाजवाद ल्याउन सकिने विचार निमार्ण गर्न महाधिवेशन ऐतिहासिक हुने ठोकुवा गरेका छन ।

धारणा राख्ने नेताहरुले पार्टीमा जनवादी केन्द्रीयताको विषयलाई सहि तरिकाले लागु गर्न सकेमा मात्र पार्टी संगठनमा गति पैदा हुने सुझाव दिएका छन ।

समूहका नेताहरुले उत्तर साम्राज्यवाद र भूमण्डलीकृत पूँजीवादका विषयमा पार्टीले थप स्पष्ट पार्नुपर्ने माग गरेका छन । समूह नेताहरुले जनजातिको अघि आदिवासी थप्नु पर्ने, दुई ध्रुवको ठाउँमा बहुध्रुव भन्नु पर्ने, चुनाव र फुटवादीहरुको समिक्षा गर्नुपर्ने,समाजवादी संस्कृतिको स्पष्ट खाका ल्याउनु पर्ने,जातीय मुक्ति सम्वन्धिको प्रस्तावलाई राजनैतिक प्रस्ताव संगै ल्याउनु पर्ने जस्ता सुझावहरु दिएका छन ।

प्रतिक्रिया दिनुहोस