सरकार गैरजिम्मेवार, शंकास्पद मृत्युमा कोरोना परीक्षण नहुने


३१ भदौ, काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको इन्सिडेण्ट कमाण्ड सिस्टमले शंकास्पद मृत्यु भएको व्यक्तिको कोरोना परीक्षण नगर्ने निर्णय गरेको छ ।
बुधबार नियमित प्रेस ब्रिफिङमा प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले सरकारको यो निर्णय सार्वजनिक गर्नु भएको हो । उहाँले भन्नु भयो ‘शंकास्पद मृत्युको सन्दर्भमा शव व्यवस्थापन गर्दा सबै सावधानी अपनाउने, नजिकको सम्पर्कमा आएका सबै अनिवार्य १४ दिन क्वारेन्टिनमा बस्ने, तर शंकास्पद मृत्यु भएको व्यक्तिको कोभिड–१९ परीक्षण नगर्ने नगराउने ।’
मृत्यु भएका व्यक्तिको पीसीआर परीक्षण गर्दा आफन्तले अव्यवहारिक झमेला व्यहोर्नु परेकाले यो निर्णय गरेको मन्त्रालयको तर्क छ । मन्त्रालयको इन्सिडेण्ट कमाण्ड चिफ डा. गुणराज लोहनीले ‘व्यवहारिक झन्झट हटाउन यो निर्णय गरिएको वताउनु भएको छ ।
तर जनस्वास्थ्य विज्ञहरु भने एकपछि अर्को गलत निर्णय गरेर विवादमा फस्दै गएको मन्त्रालयको यो निर्णय पनि जनस्वास्थ्यको हिसाबले गलत भएको बताएका छन ।
किनकी शंकास्पद व्यक्तिको मृत्यु भएपछि पीसीआर परीक्षण नगर्दा संक्रमण भएको वा नभएको थाहा हुन्न । यसले कोरोना संक्रमणका कारण भएको मृत्युको वास्तविक तथ्यांक पनि लुक्छ भने संक्रमित पहिचानमा पनि समस्या हुने संक्रामक रोग विशेषज्ञ डा. अनुप सुवेदीले वताउनु भएको छ ।
मृत्यु भएपछि परीक्षण नै नगरी शंकास्पद मान्दैमा कन्ट्याक्ट ट्रेसिङ गर्ने र सम्पर्कमा आएकाहरुको परीक्षण गर्ने कुरै भएन । उहाँले भन्नु भयो ‘एउटा शंकास्पद मृत्युको परीक्षण नगर्नु भनेको अरु धेरै केसहरुलाई नजरअन्दाज गर्नु हो ।’
साथै सरकारको यो निर्णयले मृतकको आफन्तहरुलाई झञ्झटबाट मुक्त होइन, मानसिक तनाव थपिदिएको छ । ‘परीक्षण नगरी क्वारेन्टिनमा राख्दा यदि त्यो केस नेगेटिभ रहेछ भने आफन्तले विनाकारण दुःख पाए, पोजेटिभ रहेछ भने पनि क्वारेन्टिनमा राखेर मात्र नहोला’ डा. सुवेदीले भन्नु भयो ‘परीक्षण नै नगरी कोभिड पुष्टि भए जसरी दाहसंसकार गर्नु र आफन्तलाई क्वारेन्टिनमा राख्नुको अर्थ के हुन्छ ?’
सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनले पनि मन्त्रालयको निर्णयले झन् अलमल वनाएको वताउनु भएको छ ।
यो निर्णयले अस्पतालमा भर्ना भएर मृत्यु भएका सबै मानिसको परिवार र मलामीले कोभिड–१९ को शव व्यवस्थापन सम्बन्धी निर्देशिका पालन गर्नुपर्ने अर्थ दिएको उहाको तर्क छ ।
यसले संक्रमण नभएका व्यक्तिको मृत्युपछि अन्त्येष्टि प्रक्रियामा मलामी नै नपाउन सक्ने सम्भावना हुन्छ । अनिवार्य १४ दिन क्वारेण्टिन बस्ने झन्झटले मानिसहरु मलामीसमेत जान नचाहने उहाको कथन छ ।
’शंकास्पद मृत्युको मापदण्ड के हो ? अस्पताल भर्ना भएर मृत्यु भएका धेरैमा केही न केही कोभिडसँग मिल्दो लक्षण देखिन्छ, अस्पतालमा मृत्यु भएका सबैले बिना परीक्षण कोभिडको शव व्यवस्थापन सम्बन्धी मापदण्ड फलो गर्नुपर्ने हो ?’ डा. पुन भन्नुहुन्छ ’हरेक मान्छे मर्दा उनीहरुमा कुनै न कुनै संक्रामक रोगको लक्षण हुन्छ, त्यसलाई परीक्षण नगरिकन कोरोना नै भन्ने ?’
जनस्वास्थ्य जस्तो संवेदनशील विषयमा शंकाको भरमा निर्णय लिँदा घातक परिणाम निम्तने उहाले वताउनु भयो । यो निर्णयले अस्पतालमा मृत्यु हुने हरेक व्यक्तिको परिवारलाई कोरोना लागेको ट्याग लाग्ने खतरा हुन्छ, जुन प्रमाणित हुन्न । शंका र परीक्षणमा आकाश र जमिनको फरक रहेको बताउँदै उहाले ‘यो निर्णय त हावामा गरिएको आरोप लगाउनु भयो ।
कोरोना परीक्षण गर्ने टेस्ट किट बचाउन अथवा मृतकको सङ्ख्या कम देखाउन सरकारले यो निर्णय गरेको हुनसक्ने संक्रामक रोग विशेषज्ञ डा. प्रभात अधिकारीले वताउनु भएको छ ।

 

प्रतिक्रिया दिनुहोस