वहसमा दशैं ः ‘कम्युनिस्टहरु पनि रुढीवादी भए’

अनिल शर्मा ‘विरही’

परम्परागत संस्कार र संस्कृतिको वैज्ञानिक र व्यावहारिक विकल्प खोज्नुपर्छ । संस्कृतिको कुरा गर्दा चाहे सत्तारूढ होस्, चाहे पिछडिएको होस्, त्यो त्यसै आएको हुँदैन । संस्कृति तत्कालीन समाजको आवश्यकताअनुसार पैदा भएको हुन्छ । समाज विकासका क्रममा जुन वस्तुगत जीवनको विकास हुन्छ, त्यसले नयाँ संस्कृतिको माग गर्दछ । पछौटे चेतना भएका मान्छे पुरानै चेतनामा रहन चाहन्छन्, अग्रगामी विचार भएकाले नयाँ र वैज्ञानिक संस्कृति निर्माण गर्न चाहन्छन् ।

वस्तुगत आवश्यकता अनुसार नयाँ संस्कृति बनाउन चाहने र पुरानै चाहिराख्नेबीच टक्कर हुन जान्छ । पुरानो संस्कृति भत्काएर नयाँ निर्माण गर्न सुरु गर्दा दुई संस्कृतिबीच टक्कर भएके छ । त्यस्तो ठाउँमा नयाँ संस्कृति अभिव्यक्त भएको छ । यो जीवनवादी र वैज्ञानिक संस्कृति हो । यो आवश्यक छ र अनुकरणीय पनि छ ।

पुरानो संस्कृति मान्नेलाई घृणा मात्र गर्नु हुँदैन । हामीले आक्रामक बनेर मात्र हुँदैन । रूपचन्द्र बिस्ट ‘अवसर नपाएर इमानदार बनेका भातेहरू’ भन्थे । त्यस्तो गर्नु भएन । नसकेर सहिदिएको जस्तो पनि गर्नु भएन। आफ्नो विचारमाथि वा कार्यक्रममाथि हमला गर्लान् भनेर अर्को विचार र संस्कृति भएकालाई नबोलाउने होइन । मानौँ, अहिले पुरानो संस्कार र संस्कृति मान्नेहरू बलिया छन् रे । हामी पनि भोलि बलिया भयौँ भने हामीले पनि हमला गरे भयो नि त । त्यस्तो गर्नु हुँदैन ।

संस्कृतिमा अरूलाई आक्रामक तरीकाले हमला गरेर जाने तरिका हामीले सोच्नु हुँदैन । नयाँ संस्कृतिको कुरा गर्दा पुरानोको विकल्प दिनुपर्छ भन्नु सही हो । तर पुरानो संस्कृति पनि त्यसै बनेको होइन । अहिले जुन आचरण र व्यवहार छन्, ती एकाएक बनेका होइनन् । नयाँ संस्कृति पनि एकाएक बन्दैन र यो घोषणा गरेर मात्र हुने विषय पनि होइन । हामीले गर्दैगर्दै जाँदा यो बिस्तारै सूत्रबद्ध हुँदै जान्छ र निश्चित समयमा यसलाई लिपिबद्ध गर्न सकिन्छ । अहिले नै लेखिहाल्ने, पंक्तिवद्ध गराइहाल्ने र थालिहाल्ने कुरा सही हुन सक्दैन । तत्काल त्यसो गर्न लगियो भने प्रत्युत्पादक हुन्छ ।

कम्युनिस्ट आन्दोलनमा संस्कारका रूपमा केही रूढीहरू पनि छन् । जस्तै, जनवादी बिहे भन्ने तर छोरीलाई दाइजो पनि नदिने र अंश पनि नदिने । छोरीलाई दाइजो दिनुपर्छ भनेर कयौं मान्छेले कम्युनिस्टले गर्ने गरेको जस्तो प्रगतिशील बिहे गर्ने अनि दाइजो पनि नदिने, सम्पत्ति पनि नदिने गरेका छने । त्यो ठीक होइन ।

प्रगतिशील विवाह भनेको त जनवादी राज्यसत्ताले माग गरेको प्रणाली हो । यसमा त पहिला केटा र केटीबीच प्रेम हुनुपर्यो । छोरीलाई अंश दिएको हुनुपर्यो । विचारमा समानता हुनुपर्यो । पण्डित बाजे र लमीको सट्टा कम्युनिस्ट पार्टीको एउटा नेता लमी बन्छ । बिहे हुन्छ अनि जनवादी बिहे भनिहाल्ने, यस्तो हुँदैन । यस्ता थुपै्र रूढीहरू छन् । यस विषयमा अलि लामो छलफल चलाउनुपर्छ ।

जनवादी बिहेको कुरा गर्दा पनि कम्युनिस्टको जीवन त मलामीको यात्रा होइन होला नि । त्यसकारण बिहे त रमाइलो हुनुपर्यो नि । प्रगतिशील बिहे पनि रमाइलो हुनुपर्यो, नाच्नुपर्यो, सम्भव छ भने मीठो खानु पनि पर्यो । बाजासाजा हुनुपर्यो । भैँसीले त म्युजिक बजाएपछि बढी दूध दिन्छ भन्ने अनुसन्धान भइरहेको समयमा हामीकोमा एउटा बाजा पनि हुनु नपर्ने । खगेन्द्र सङ्ग्रौलालाई प्रमुख अतिथि राखेर प्रगतिशील बिहे गर्ने अनि घर लगेर सिन्दुर लगाइदिने, यस्तो पनि भइरहेको छ प्रगतिशील भन्ने बिहे प्रणालीमा । यस्तो हुनु हुँदैन । बिहे भन्ने चीज थोरै त रमाइलो पनि हुनुपर्छ ।

उता शोक कार्यक्रमहरू पनि शोक जनाउने किसिमका हुनुपर्यो । मान्छे मर्दा थुप्रै मान्छे रुनुपर्यो । हो, श्रद्धाञ्जली भनेपछि शोकमग्न वातावरण हुनुपर्यो । जस्तै, रातो वा रंगीचंगी भनेको रमाइलो हो भने सेतो लगाएर कपाल फिँजाएर बस्दा नरमाइलो हुने भयो । किरिया बस्ने चलन त्यसरी पो आएको हो कि । के हो त शोक मनाउने भनेको ? हामी हाम्रा अग्रजहरूलाई सम्झेर शोक मनाउँछौं । पछि वर्गसंघर्षका क्रममा शासकहरूले आफ्नो अनुकूलमा गरुडपुराणसम्म ल्याइदिए । शोक मनाउन हामीले नयाँ चलन चलाउनुपर्यो ।

जनयुद्धकै क्रममा हामी पनि सहादत प्राप्त गर्ने कमरेडहरूलाई सलाम गरेर हिँड्थ्यौँ । कतिपयलाई झण्डासम्म ओढाउँथ्यौँ । सम्भव भएसम्म ठूलाठूला सभाहरू राखेर विशिष्ट ढङ्गले पनि श्रद्धाञ्जली व्यक्त गर्थ्यौं । त्यसकारण तत्कालीन अवस्थामा जे गर्दाखेरि वातावरण शोकमग्न हुन्छ, त्यही गर्ने हो ।

संस्कार र संस्कृति परिस्थिति सापेक्ष हुन्छ । साझा जीवनले साझा संस्कृति पैदा हुने हो । समग्रमा अन्धविश्वासी–रूढीवादी परम्परा र अवैज्ञानिकताका विरुद्ध वैज्ञानिकताका पक्षमा बहस आरम्भ हुनु राम्रो हो । यसलाई अभियानका रूपमा लैजानुपर्छ ।

प्रतिक्रिया दिनुहोस