प्यारी बहिनीलाई अभागी दाईको पत्रः तिम्रो हातको बाङ्गो टिको लगाउने रहर अधुरै छ बहिनी

प्यारी बहिनी सम्झना ।

यो मनले केही बोल्न खोज्छ अनि यि औलाहरुले केही लेख्न खोज्छन तर कुनै शब्दै नै भेटिदैनन् खै किन किन आज तिमी प्रति निशब्द भएको छु बहिनी । लगभग ३ बर्ष पुगेछ, तिमीले हाम्रो घरपरिवारलाई छोडेर गएको पनि । ठीक ३ वर्ष नै तिहार आयो बहिनी, तिम्रो हातले निधारमा सप्तरङ्गी टीका लगाउने मेरो रहर सदाका लागि अधुरै छ ।

सयपत्री फूलको मगमग बास्ना सहित यसपाली पनि तिहार आयो । तर अपसोच तिमी आइनौं । अचेत सयपत्री फूलले जिस्क्याए जस्तो लाग्छ । आँगनका डिलमा फुलेका सयपत्रीले गलामा सजिन नपाएर दुःख मनाए जस्तो लाग्छ । यसपाली पनि सयपत्री फूल सुके बहिनी ।

आज भन्दा ४ बर्ष अगाडि तिम्रा ति औलाहरुले निधारमा लगाएको टिका झर्यो, घाँटीमा पहिराएको माला सुक्यो तर पनि तिम्रो यादमा झर्ने आँसु कहिल्यै सुक्एन बहिनी । जब एकान्तमा हुन्छु, अनि सम्झन्छु । त्यो दिन कति खुशी थियौँ तिमि । जब भाइ टीकाको दिन सयपत्री र मखमलीको माला नजानी नजानी आफैँ उन्दै थियौ कयौंपटक सियोको टुप्पोले तिम्रा औंलामा घोचेको थियो, म कति हाँस्थे है तिम्रो दुखाईमा । मैले ठूलै गल्ती गरेँ कि बहिनी । जसको सजाय मैले तिहारमा अचेल पाउँदैछु ।

तिमीलाई सम्झना छैन होला टीकाको दिन तिमि नजानी नजानी टिका लगाई रहदा बाङ्गो टीको लगाईस भनेर मैले तिमि संग झगडा गर्दैै गर्दा अब तपाईलाई कहिल्यै टिका लगाइदिन्न भनेकी थियौ । हो, आज त्यही बाङ्गो टीका नलगाएको पनि ३ वर्ष भयो बहिनी ।

त्यो को मान्छे होला र आफ्नो घरपरिवार सँग बसेर चाडपर्व मनाउन नमान्ने आखिर सबैको मनै त हो नि । तर दुर्भाग्य दशै तिहार मनाउन घर आउने तयारी गर्दै गर्दा पापी कालले तिमिलाई हामिबाट सदाका लागि लगि सकेको थियो । तिम्रो हातबाट टिका लगाउने रहर पनि कहिल्यै पुरा नहुने गरि टुटिसकेको थियो बहिनी । तिम्रो मूख सम्म देख्न नपाउदै २०७५ साल असोज महिनाको २९ गते मेलाबाट तिमिलाई पापी कालले घर फर्किन दिएन । त्यसछिका हरेक दशैं हाम्रो लागि दशा बन्दै गए । तिमीसँगको बिछोडपछि हाम्रो परिवारमा एक पछि अर्को गर्दै खुसिहरु खोसिदै गए । हजुर बाबा र हजुरआमालाई पनि हामिलाई टुहुरो बनाएर लग्यो बहिनी ।

सबैका घरमा दशैं र तिहार आउँछ । बहिनी हाम्रा घरमा दशैं र तिहार नआएको ३ वर्ष भइसक्यो । हामिलाई न त दशैं छ, न त तिहार नै । भाइटीकामा जब सबैका दिदीबहिनी आउँछन् तब लाग्छ तिमी पनि आउँदैछौं तर मेरो आशा चैते हुरीले भत्काएको टहरोसरी भत्किन्छ । आँखाबाट अश्रुवर्षा बग्छ । यसपालि पनि दशैं तिहार आउदै गर्दा तिमिले दिएको असैह्य पिडाले मन सम्हाल्न सकिन र सामाजिक सञ्जाल मार्फत मैले यो चिठ्ठी स्वरुप दुईचार शब्द लेख्न बाध्य भएको हुँ ।

बहिनी तिहार आएपछि यो मनले सबै कुरा बिर्सिए पनि तिम्रो अभावमा खड्किरहन्छ । बहिनी ३ वटा तिहार त खाली निधारमै सकिए । जहिले दाई बहिनीको भेट हुन्छ नि त्यही बेला दशैं तिहार मनाउँला अनि रमाउँला नि है । मान्छेहरू भन्छन् पृथ्वी गोलो छ रे ! एकदिन हाम्रो पनि भेट होला ।

उही तिम्रो प्यारो दाजु

कर्ण बिश्वक्रर्मा ।

प्रतिक्रिया दिनुहोस