रास्कोटमा शिक्षामा बार्षिक २० करोडको लगानी, उपलब्धी भने ‘बालुवामा पानी’

४ बैसाख, कालिकोट । रास्कोट नगरपालिकामा सरकारले शिक्षामा गरेको बार्षिक २० करोडको लगानी बालुवामा पानी हुन थालेको छ ।

प्रतिबर्ष नगरपालिका विद्यालयहरुमा सरकारले झण्डै २० करोडको लगानी गरेपनि नतिजा सोचे जस्तो नआउदा सरकारको लगानी बालुवामा पानी हुन थालको हो । यो रकम केबल शिक्षक कर्मचारी पाल्ने वाहेक केही उपलब्धीमा व्यक्त भएको छैन ।

रास्कोटका नगरशिक्षा शाखाका प्रमुख खेमराज शाहीले नगरमा भएका शिक्षक कर्मचारी र कार्यालय सहयोगीको तलव भत्ता, छात्रवृति,सशर्त अनुदान, दिवा खाजामा मात्र बार्षिक १९ देखि २० करोड रकम शिक्षामा लगानी हुने गरेको बताउनु भयो ।

नगरमा यतिका मोटो रकम शिक्षा क्षेत्रमा लगानी हुने गरेको भएपनि २०७९ देखि २०८१ सम्मको ३ बर्षको कक्षा ८ र ५ को विद्यार्थीको नतिजा केलाउदा निकै खस्किदो दरमा छ । नगरपालिकाको शिक्षा शाखाले २०७९ देखि कक्षा ८ र ५ को नगर स्तरिय परिक्षा लिन सुरु गरेको थियो ।

चालु बर्ष २०८१ मा रास्कोट नगरपालिकाको शिक्षा शाखाले लिएको कक्षा ८ र कक्षा ५ को नगरस्तरीय परिक्षामा कक्षा ८ मा ८.७५ प्रतिशत र कक्षा ५ मा १३.३० प्रतिशत विद्यार्थी मात्र उर्तिण भएका छन । यो नतिजाको परिणामले पनि रास्कोटमा करोडौ गरिएको शिक्षा क्षेत्रको लगानी बालुवामा पानी हुन थालेको अभिभावकहरुले बताएका छन ।

यो बर्ष कक्षा ८ मा नगरभरीका ८ वटा विद्यालयका ३७७ जना विद्यार्थी परिक्षामा सहभागी भएकोमा जम्मा ३३ जना विद्यार्थी मात्र उर्तिण भएका छन । यो प्रतिशतको हिसावले ८.७५ हो । अनुर्तिण भएका र ग्रेड वृद्धि गर्नुपर्ने विद्यार्थी संख्या ३४४ छ भने अनुर्तिण विद्यार्थी प्रतिशत ९१.२५ छ ।

नगर शिक्षा शाखाका प्रमुख शाहीका अनुसार २०८१ को परिक्षामा अनुर्तिण हुने विद्यार्थीहरुमा सबै भन्दा बढी गणित विषयमा छन । गणितमा ३४५ जना विद्यार्थी अनुर्तिण भएका छन । यस्तै दोस्रोमा विज्ञान २२५, तेस्रोमा अंग्रेजी २१३, चौथोमा सामाजिक १४५, पाँचौमा स्वास्थ्य १२४, छैटौंमा नेपाली ११० र सातौंमा स्थानीय विषय (हाम्रो रास्कोट हाम्रो पहिचान) मा ७१ जना विद्यार्थी अनुर्तिण भएका छन ।

जसमा कक्षा ८मा बडी मालिका माविबाट ७८ जना परिक्षार्थी मध्य ६ जना,जनजागृती माविमा ४५ जनामा ३ जना,मोतिराम माविमा ५६ जनामा ४ जना,कालशिल्ला माविमा ७४ जनामा ३ जना, पिंगला आधारभूति विद्यालयमा ३० जनामा ३ जना, पंच आधारभूत विद्यालयमा २३ जनामा १० जना, मालिका आधारभूति विद्यालयमा ४६ जनामा २ जना र सुन्दर आधारभूत विद्यालयमा २५ जनामा २ जना गरी ३३ जना विद्यार्थी मात्र उर्तिण भएको नगर शिक्षा शाखाले जनाएको छ।

गत बर्ष २०८० सालको नगर स्तरिय कक्षा ८ को परिक्षा पनि सन्तोसजनक थिएन । परिक्षामा ४०० जना विद्यार्थी सहभागी भएकोमा ३२ जना मात्र उर्तिण भएका थिए । परिक्षामा ३६८ जना विद्यार्थी अनुर्तिण भएका थिए ।

प्रतिशतका हिसाबले उर्तिण हुने विद्यार्थी ८ प्रतिशत मात्र थियो भने अनुर्तिण हुने विद्यार्थी ९२ प्रतिशत थियो ।

यस्तै नगरले २०७९ सालमा लिएको नगरस्तरिय कक्षा ८को परिक्षा पनि सन्तोसजनक छैन । यो बर्षपनि कक्षा ८ मा ४५० जना विद्यार्थी परिक्षामा सहभागी भएकोमा जम्मा ११ जना मात्र उर्तिण भएको शिक्षा शाखाको रेकर्डमा उल्लेख छ । परिक्षामा ४३९ जना विद्यार्थी अनुर्तिण भएका छन । यसरी हेर्दा २०७९ मा पनि प्रतिशतका हिसावलेः २.४४ प्रतिशत उर्तिण र ९७. ५६ प्रतिशत विद्यार्थी अनुर्तिण भएका छन ।

रास्कोट नगरपालिकाको नगर शिक्षा शाखाले २०८१ र २०८० मा लिएको कक्षा ५ को नजिता पनि राम्रो देखिएको छैन ।

नगरपालिकाको शिक्षा शाखाले २०८१ सालमा कक्षा ५ मा नगरभरीका १४ वटा विद्यालयबाट लिएको नगरस्तरीय परिक्षामा कुल ४०६ जना विद्यार्थी परिक्षामा सहभागी भएकोमा जम्मा ५४ जना मात्र उर्तिण भएका छन । परिक्षामा ३५२ जना विद्यार्थी अनुर्तिण भएका छन । यसरी हेर्दा उर्तिण हुने १३.३० र अनुर्तिण हुने ८६.७ प्रतिशत विद्यार्थी छन ।

जसमा परिक्षामा सहभागी बडी मालिका माविका ४८ जना विद्यार्थीमा ३ जना,जनजागृति माविमा ४३ जनामा ६ जना,मोतिराम माविमा ३९ जनामा १ जना, कालशिल्ला माविमा ४४ जनामा २ जना, पिंगला आधारभुत विद्यालयमा ५५ जनामा ८ जना,पंच आधारभूत विद्यालयमा २४ मा ६ जना, मालिका आधारभूत विद्यालयमा २० जनामा ३ जना,सुन्दर आधारभूत विद्यालयमा ३१ जनामा ३ जना,शम्भूनाथ आधारभूत विद्यालयमा २४ जनामा ४ जना उर्तिण भएका छन ।

यसैगरी कालिका आधारभूत विद्यालयमा १७ जनामा २ जना, मंगलदेवी आधारभूत विद्यालयमा १९ जनामा ३ जना,अन्नपूर्ण आधारभूत विद्यालयमा ९ जनामा ३ जना, पिपलकोट आधारभूत विद्यालयमा २१ जनामा ८ जना र राई ढुङगा आधारभूत विद्यालयमा १२ जनामा २ जना गरी जम्मा ५४ जना विद्यार्थी उतिर्ण भएको नगरशिक्षाले जनाएको छ ।

नगरशिक्षा शाखाले यसअघि गतबर्ष २०८० मा लिएको कक्षा ५ को परिक्षा पनि बालुवामा पानी जस्तै छ ।

परिक्षामा ३४४ विद्यार्थी सहभागी भएकोमा ४६ जना मात्र उर्तिण भएका छन भने २८९ जना अनुर्तिण भएका छन । परिक्षामा उर्तिण हुने विद्यार्थी १३. ३८ प्रतिशत र अनुर्तिण हुने विद्यार्थी ८६.६२ प्रतिशत रहेको छ ।

नगर शिक्षा शाखाले २०७९ मा भने कक्षा ५ को नगरस्तरिय परिक्षा लिएको थिएन । ०७९ मा कक्षा ९ लाई नगरस्तरीय परिक्षा बनाइएको थियो । कक्षा ९ को नजिता पनि खस्किदो दरमा छ ।

२०७९ को कक्षा ९ को परिक्षामा कुल ४३५ जना विद्यार्थी परिक्षामा सहभागी भएकोमा १३ जना मात्र उर्तिण भएका थिए । परिक्षामा ४२२ जना विद्यार्थी अनुर्तिण भएका थिए । परिक्षामा प्रतिशतका हिसावले २.९८ प्रतिशत विद्यार्थी उर्तिण र ९७.२ प्रतिशत विद्यार्थी अनुर्तिण भएका थिए ।

शिक्षामा प्रति बर्ष गरिएको २० करोडको लगानीले ३ बर्षमा करिब ६० करोड वरावरको सरकारको लगानी शिक्षामा छ । यो भौतिक पूर्वाधार क्षेत्रको लगानी छोडेर हो । तर नतिजा भने रास्कोटवासी अभिभावकहरुका लागि सन्तोसजनक नहुदा चिन्ता थपिएको छ ।

किन भयो ? लगानी बालुवामा पानी !

अभिभावकहरुले शिक्षाको लगानी बालुवामा पानी जस्तो भएको गुनासो गर्न थालेका छन । अभिभावकहरुले आफ्ना सन्तानहरु राम्रोसंग पढिरहका होलान भनेर विद्यालय पठाए पनि परिणाम शुन्य देखिदा सरकारको लगानी बालुवामा पानी भएको महसुस गरेका हुन ।
शिक्षामा बढी राजनीति हस्तक्षेपले गर्दा पनि परिणाम शुन्य हुन पुगेको अभिभावकको बुझाई छ ।

नगरसरकारले राम्रा र दक्ष जनशक्ति भन्दा पनि आफ्ना र आफ्नो पार्टीका भन्ने गर्दा पनि शिक्षामा समस्या आएको एक अभिभावकले बताएका छन ।

शिक्षकहरु पनि नियमित अध्यापन गर्न नजानु, राजनीतिक पार्टीहरुको कार्यकर्ता बन्नुले गर्दा पनि लगानीमा परिणाम विहिन हुन पुगेको सर्वत्र गुनासो छ ।

सरकारले दरवन्दी अनुसारका शिक्षक पनि राख्न नसन्नु कहि न कहि कमजोरी जोडिएको छ । प्रयाप्त दरवन्दी नहुदा धेरै जसो निजी श्रोतबाट शिक्षकहरु राख्नु पर्ने बाध्यता छ । जसको फाईदा पँहुच र पावरमा हुनेहरुले लिएका छन ।

नगरशिक्षाको अनुदान कोटाबाट शिक्षक राख्दा आफ्नो अनुकुलताको पात्र राख्ने गरिएको अभिभावकहरुको भनाई छ । जसले गर्दा दक्ष शिक्षकको अभाव छ ।

दक्ष शिक्षक नहुनु र भएका शिक्षकहरुले पनि आफ्नो काम कर्तव्यप्रति निष्ठावान नहुनुले राज्यको मोटो लगानीमा छोटो परिणाम भोग्नु पर्दा रास्कोटका लागि दुर्भाग्य जस्तै बनेको एक शिक्षकले बताएका छन ।

जनजागृति माध्यमिक विद्यालय फुकोटका विद्यालय व्यवस्थापन समितिका सदस्य संजय बरालले जग्गा धनी र आसेपासेलाई जागिर खुवाउदा योग्य शिक्षक नहुदा विद्यालयको शैक्षिक गुणस्तर खस्किन पुगेको टिप्पणी गर्नु भयो ।

नगरशिक्षा शाखाका शिक्षा शाखा प्रमुख शाहीले भने शिक्षामा दक्ष जनशक्तिकै अभावले लगानी अनुसारको परिणाम नआएको बताउनु भयो । रास्कोटमा शिक्षा क्षेत्रलाई लगानी अनुसार परिणामुखी बनाउन सबै क्षेत्रको सक्रियता,जिम्मेवारी र इमान्दारीता आवश्यक भएको अभिभावकहरुको सुझाब छ ।


प्रतिक्रिया दिनुहोस