करिब ४ बर्ष अगाडी म जतिबेला गाउँमा थिए । राजनीति के हो ? अहिले पनि मज्जाले बुझ्न सकेको छैन । त्यो बेला त राजनीतिबारे चासो लिनुपर्ने आवश्यकता पनि थिएन । निर्णयात्मक भुमिकामा दलितहरु पछि छन् है । अधिकारको लडाईमा बर्षौदेखि लडिरहेका छन् । गाँउमा हुने कार्यक्रममा अग्रज दलित नेताहरुले भाषण गरेको सुनेर थाह पाउथे । कसरी हामी दलित पछि परेका रहेछौं ? थाहा थिएन ।
तर, त्यसै सेरोफेरोमा एकजनाले भनेको सुने, “दलितले जति मै हु भने नि के गर्नु ? अधिकार मागे नि दिए नि काम छैन दलितहरुको । यसो तल्लो स्तरको काम गर्ने मात्र न हुन् ।’ मनमा च्वास्सै विझ्यो, आफु दलित भएको हैसियतले ।” हप्तौसम्म मनमा यो कुरा खेलिरहयो । हामी मान्छे भएर पनि कहिले सम्म अपहेलित भएर बस्ने हो ? दलितलाई किन निच व्यवहार गर्छ हाम्रो समाजमा ? यो अपहेलित व्यवहारले गर्दा दलितहरु आफ्नो तह तप्कामा रहेर अधिकार प्राप्तिका लागि लड्नुपर्छ भन्ने कुरा मानसपटलमा छायो ।
प्लस टु सक्काए पछि २०६८ सालमा उच्च शिक्षाको लागि कैलाली बसाइँको क्रमा केही समय रेडियोमा प्राबिधिकको रुपमा काम गरेपनि समाज, समाचार, पत्रकार, पत्रकारिता र देशबारे बुझ्न सकेको थिएन् । त्यसपछि २०७४ साल मंसिर महिना देखि कालिकोट जिल्लामा रहेको रेडियो नयाँ कर्णालीमा काम गर्ने अवसर पाए । रेडियामा काम गरेको करिव दुई वर्षको यात्रा प्रश्चात विभिन्न चुनौतिहरुको सामना गर्दै आफ्नै ज्वाला खवर डट्कम अनलाईन पत्रिका र ज्वाला खवर राष्ट्रिय त्र्रमासिक पत्रिका चलाई रहेको छु । मलाई समाज, समाचार, पत्रकार, पत्रकारिता र देशबारे वुझन र कलम चलाउन वाध्य वनाएको छ । मैले ज्वाला खबर अनलाइन र त्रैमासिक पत्रिका संचालन गरेको पनि १९ महिना पुग्यो । पत्रकारितामा प्रवेशको यो ४ बर्षको समयमा भोग्नु परेकोका थुप्रै अवसर, चुनौतीहरुको भोगाई वाट शिक्षा लिदै अवसरको नयाँ सम्भावनाको यात्रामा छु । समाचार लेखेकै र जनताको पक्षमा यथार्थ कुरा वोलेकै कारण राज्य द्धारा पनि दमनको सामना गर्नु पर्ने अनौठो अवस्था सम्म भोगीयो ।
रेडियो नयाँ कर्णालीमा काम गर्दै गर्दा २०७५ साल चैत्र ७ गते समाचार लेखेकै कारणले स्टुडियो कोठाबाटै पक्रउ गरि ८/८ दिन सम्म हिरासतमा बन्धक बनाई शारिरीक तथा मानसिक यातना दिएको स्मरण भइरहन्छ । त्यति बेला म २५ बर्षको थिए । त्यस्तो वेला पनि कतिपय अग्रज पत्रकार ठान्नेहरुबाट पनि सहयोग नपाईएको भोगाइ छ । त्यसैले पनि उत्पीडित वर्गका तर्फ वाट मिडियाको आवश्यता जरुरी भयो । जनताको पक्षमा वकालत गर्ने मिडिया नहुदा आज वर्ग स्वार्थमा मिडिया प्रयोग भइरहेको छ । दलालपुजीपति वर्गको रक्षा या सर्वहारा श्रमिजिवी वर्गको अधिकार सहितको सत्ता स्थापना यि दुवै धारमा मिडिया विभाजित छ । यो दुई धार मध्य सर्वहारा श्रमिजिवी वर्गको अधिकार सहितको सत्ता स्थापनाको जनपक्षिय धारलाई आत्मसात गर्दै मेरो दाई बसन्त बिश्वक्रर्मा र म मिलेर मिडिया संचालन गर्न वाध्य भयौं । दाईको लामो समयको पत्रकारितामा अनुभव भएकाले पनि हामी स्थापित हुन गार्हो भएन । दाई जिल्लामा नबस्ने भएकाले पनि होला । मलाई एक्लै देखेर होला आफुलाई अग्रज पत्रकार ठान्ने केहि पत्रकार साथीहरुले भन्ने गर्थे ‘यस्तो फुच्चेले पत्रिका खोलेर के प्रगति गर्छ ?’ ‘कर्णलाई त समाचार लेख्न नै आउदैन । रेडियाको प्राविधिक मात्रै हो ।’ यस्तै यस्तै भनाईहरु सुन्न पाइन्थ्यो । तर पनि जनताको मुक्तिको लागि, जनपक्षिय पत्रकारिताको लाईनमा लाग्दा विरोधीहरुका आग्रह पूर्वाग्रह, षड्न्त्रहरु स्वत खरानी हुदा रहेछन । त्यसैले पनि मैले तत्काल हार खाइन र यसको प्रतिवाद गरिरहन पनि उचित ठानिन ।
पत्रिका शुरु गरेपछि हामीले अफिस ब्यवस्थापन देखि ल्यापटप, कम्प्युटर लगायत अन्य अफिसियल समाग्री जोड्यौ । बिस्तारै हामी आत्मनिर्भरतालाई जोड दिन थाल्यौ । हाम्रो पत्रिकाले लेख्ने समाचारहरु समाजका विकृति विंगति, दलाल र दलालीकर अनि भ्रष्टचारीको विरुद्ध हुन्थे । कुनै न कुनै हिसाबले प्रहरी प्रशासन सम्म पुग्थ्यो । त्यसैले गर्दा पनि होला प्रहरी प्रशासन लगायत भ्रष्टहरु संग त्यति राम्रो सम्बन्ध थिएन । हामी आफ्नो यात्रालाई निरन्तरता दिदै गयौ । जुन कुरा तत्कालिन सिडिओ चन्द्र बहादुर कार्की र डिएसपि बिनोद शर्माले मन पराएका थिएनन् ।
हामीले लेख्ने समाचार नरुचाएका सिडिओ डिएसपिले मलाई पटक पटक पक्राउको प्रयास गरे । उनीहरुले समाजलाई भड्काउने समाचार लेख्छ भन्दै पक्राउको लागि हरेक प्रयास गरे । दलीय आवरणमा चलेका केही स्थानीय रेडियो र पत्रकारहरुले पनि मलाई असहयोग गर्दै आए । जुन त्यो सञ्चार माध्यमहरुले दलीय कुरालाई प्रतिनिधित्व गर्छ । म कति पनि बिचलित भएन ।
धेरै पत्रकारहरु दलीय रुपमा विभाजित थिए । एकअर्कामा दलीय प्रतिशोध साध्ने र त्यही प्रकारलाई दलीय समाचारहरुलाई पक्षपोषण गर्थे । हाम्रा लेख्ने समाचार परिवर्तनका पक्षमा हुन्थे । समाजका विकृति विंगति विरुद्ध हुन्थे । दलाल र दलालीकर अनि भ्रष्टचारीका विरुद्ध हुन्थे । दलाल र भ्रष्टचारीलाई मन पर्ने कुरै थिएन । ग्रामीण पत्रकारिताको दुख एक हदसम्म त थियो नै । अर्को राजनीतिक कार्यकर्ताले गरेको गलत क्रियाकलाप र भ्रष्टाचारका कुरालाई समाचार बनाउदा दलीय कार्यकर्ता र दलमा आवद्ध पत्रकारिता गर्नेहरुबाट निकै समस्यामा थिए ।
परिवतनका लागि विकृति विसंगति, दलाल र दलालीकर अनि भ्रष्टाचारीका विरुद्ध समाचारहरु लेख्दा राजनीतिक कार्यकर्ताहरुबाट त्यसलाई खण्डन गर्ने र दलमा आवद्ध पत्रकारहरुले त्यो समाचारलाई गलत बनाउने प्रयास हुन्थे । अर्को कुरा दलितको जिल्लामा एक मात्रै हाम्रो मिडिया थियो । त्यसमा पनि जनपक्षिय आस्था राख्ने भएकै कारण मेरो परिपक्कता र क्षमतामाथि प्रश्न उठाउने दलमा आवद्ध पत्रकारबाट नै समस्यामा परेको थिए । तर कृष्णसेन ईछुक जस्ता पत्रकारहरुबाट पाएको उत्साह, उर्जा, प्रोत्साहन र उहाले हिडाएको निडर पत्रकारिताको लामो यात्रामा छु । जुन अविरल यात्रामा अगाडी लम्किरहने छु ।
ईच्छुक जस्ता महान ब्यक्तिले देखाएको बाटोमा अलिकति पनि विचलित नभई अगाडी बढने प्रयासमा छु । जुन मैले पत्रकारिता क्षेत्रमा पाएको चुनौती हुन् । जीवनमा चुनौती संगसंगै अवसर पनि अघि बढिरहेका हुन्छन रे । पत्रकारिता त्यसैपनि दुखीया कर्म हो । तर आवाज विहिनहरुको मर्म बोल्ने आधार हो ।
पत्रकारिताले विकृती, विसंगति, कुसंस्कार र वेथितिका विरुद्ध खवरदारी गर्छ । देशमा अमनचयन, सुशासन कायम गर्न राज्यका तीनवटै अंगहरु व्यवस्थापिका, कार्यपालिका, न्यायपालिका लाई एकैसाथ पत्रकारिताले निगरानी गर्ने भएकाले पनि पत्रकारिता चौथो अंगको रुपमा स्थापित भएको छ । अधिकार, न्याय र समतामुलक समृद्धिका पक्षमा पत्रकारिताले सधै वकालत गर्छ । पत्रकारिताले आवाज विहिनहरुको आवाजलाई वाहिर ल्याउने र उनीहरुको पक्षमा सधै कलम चलाउँछ ।
विगतका दिनहरुमा पत्रकारिताले प्रजातन्त्र, बहुदल हुदै लोकतान्त्रीक गणतन्त्र ल्याउनमा ठुलो योगदान दियो । राजनीतिक परिवर्तनको भुमिका निभायो । विभिन्न कालखण्डलाई छलागं मार्दै पत्रकारिता अहिले सामाजिक परिवर्तनको अवस्थामा आएको छ । यसले नेपाली पत्रकारिताको जगतमा धेरै आशातित सुधार गरेको छ । धेरै मिडिया हाउसहरु खुलिरहेका छन् । जसको कारण कुनाकन्दराको जनताहरुलाई सू–सुचित बनाएको छ । धेरै संख्यामा पत्रकारहरुको संख्यामा बृद्धि भएको छ । धेरै संख्यामा पत्रकारको बृद्धि भएपनि दलितहरुको हकमा भने यो लागु भएको छैन । यसले पत्रकारितामा दलित सहभागिता कति र कुन अवस्थामा र किन भएन भन्ने प्रश्न चिन्ह खडा हुन्छ ।
२००७ सालको क्रान्ति, ०४७ हुदै ०६२/०६३ को जतिसुकै राजनीतिक परिवर्तनहरु भएपनि समतामुलक मानिएको देशमा दलितको अवस्थामा आशा गरिए अनुरुप सुधार भएको छैन । दलितका लागि समाज, परिवेश र अवस्था जस्ताको तस्तै छ । पत्रकारिता सिंगो देशको निर्णायक अंग हो । तर यहि पत्रकारितामा दलित पत्रकारहरुको अवस्था जर्जर छ । सहभागिताको हिसावमा दयनिय छ ।
यसमा मुख्य समस्या समाजमा दलितलाई हेर्ने दृष्टिकोण र ब्रहमाणवादी सोचका अवशेषहरु नै हुन् । सामाजिक, आर्थिक, मनोवैज्ञानिक, राजनीतिक जस्ता थुप्रै समस्याहरु छन् । तर यि मध्ये मुख्य कारण भनेकै राजनीतिक,आर्थिक,सामजिक र साँस्कृतिक विभेदका अवशेषहरु हुन । यि विभेदहरु समाज वाट हटेका छैनन् । झन वढेका छन । आज दलित पत्रकारहरु राजनीतिक,सामाजिक, साँस्कृतिक र आर्थिक रुपले सशक्त र आत्मनिर्भर पनि हुन सकेका छैनन् । यसको पछाडिको प्रमुख कारण राज्यसत्ता हो र यसको दोष हो ।
पत्रकारिता समतामुलक न्यायका लागि वकालत गर्ने संवैधानिक अंग हो । तर यहि अंगमा दलित सहभागिता एकदमै न्युन छ । मुलधारमा रहेका सञ्चारगृहमा त व्यवसायिक दलित पत्रकारलाई औलामा गन्न सकिन्छ । जिल्ला तहमा औलामा गन्न नपुग्ने अवस्था छ । कारण सामाजिक, आर्थिक, मनोवैज्ञानिक र राजनीतिक हो । क्षमता र सक्रियतामा गैर दलितसरह प्रतिस्पर्धा गर्न सके पनि दलित भएकै कारणले तल रहनुपर्ने अवस्था हो ।
ब्रहामणवादी समाजमा योग्यता सक्षमता र दक्षता भएपनि दलित भएकैमा सामाजिक रुपमा हेपिनुपर्ने विवशता छ । जिम्मेवार क्षेत्रको जिम्मा दिन नचाहने, दलितलाई अगाडी बढाए गैर दलितहरु हेपिनुपर्ने, पछि पर्नुपर्ने डरले सञ्चारगृहहरुले सक्षमता र क्षमता हुदाहुदै पनि अवसरवाट वन्चित गरेको अवस्था पनि छ । पछिल्लो समय संख्यात्मक र गुणात्मक हिसाबले बढिरहेका छन् । तर बर्षौसम्म क्षमतालाई प्रदर्शन गर्ने वातावरण नपाएर धुरुधुरु रोएर कुर्सी छोडेका घटनाहरुपनि प्रशस्त उदाहरणका रुपमा पाइन्छन् ।
आज हामी एक्काइसौ शताव्दीको परिवेशमा छौ । अझ भनौ, ज्ञानविज्ञान र आधुनिकतामा छौ । दलित र गैर दलित एकै हुन भनिरहेका छौ । पत्रकारितामा लेखिरहेका छौ, आवाज बुलन्द गरिहेका छौ । तर यहि आवाजमा जानजान तगारो हालिरहेका छौ । रहर र भविष्य बुनेर आँट र हिम्मत कसेपनि पत्रकारितामा कुनै दलित पत्रकारहरुको झुकाव कोपिलामै निमोठिन्छ । निमोठदाँ निमोठिदै, चिमोटिदा चिमोटिदै काँडेतार नाघेर जम्न लागेका दलित पत्रकारका लागि चुनौती बनिदिन्छ । समाजले हेर्ने दुष्टिकोण र आर्थिक समस्याले झन चुनौती थपिदिन्छ ।
समाचार लेखेकै भरमा दलित पत्रकारको इज्जत माथि दाग लगाउने अनेक प्रपञ्च रचिन्छ । राजनीतिक दलका नेता, सरकारी कर्मचारीहरुले धाक धम्की देखाउने, लोभलालचमा फसाउने काम गरेर दलित पत्रकारहरुको भविष्यमाथि खेलबाड गरिरहेका हुन्छन् । यति मात्र हैन आफ्नै सञ्चारगृहका सहकर्मी पत्रकारबाट अपेहेलित हुनुपर्छ ।
मेरो एकजना साथि दलित पत्रकार तथा मानवअधिकारकर्मी इन्सेक कालिकोट जिल्ला सहजकर्ता रमेश सुनारले हालै सुनाउनुभएको थियो । ‘शुभकालिका गाँउपालिकाका अध्यक्ष खडानन्द चौलागाईको कमिसनको बार्गिनीङ्गको अडियोको समाचार लेखेको थिए ।’ समाचार लेखेकै रिसको आबेगमा आफुलाई नानाथरी नभएको आरोप लगाईयो । कर्णाली प्रदेको सुर्खेतमा रहेको इन्सेकको प्रदेश कार्यलयमा अध्यक्षले उजुरी गरेका रहेछन । उजुरीमा अध्यक्ष चौलागाईले आफुमाथि हातपात गरेको भन्दै गलत उजुरी दिएका रहेछन । उजुरीकै आधारमा सुनारलाई कुनै स्पस्टीकरण नलिएर इन्सेकले जागिरबाट निकालि दियो । यसैगरी आफनो विरुद्धमा बोल्ने दलित पत्रकारलाई अनेक हतकण्डा अपनाएर जागिरबाट निकालिदिने, इज्जतकोे धज्जी उडाउने जस्ता अनेक धम्कीको सामना गर्नुपरिहेको हुन्छ ।
दलित पत्रकारहरुलाई मानसिक रुपमा टर्चर दिने, उनको कामप्रति कुनै न कुनै बहानामा खोट लाइदिने गरेका छन् । उनमा नैराश्यता पैदा गर्ने गतिविधि गर्छन् । जो चाहि बर्षौदेखि एउटै सञ्चार गृहमासंगै काम गर्दै आएका सहकर्मी बाटै पनि हुन्छ । रेडियोहरुका संचालक तथा दलका कार्यकर्ताहरुले अभद्ध ब्यहार गर्ने म आफैले पनि बेला बेला भोगेको छु ।
मैले प्राबिधिकको काम गर्ने भएकाले जुनसुकै प्राबिधिक सम्बन्धी काम क्षमताले भ्याएअनुसार गर्नुपथ्र्यौ । मैले जिम्मेवारीअनुसार काम गर्थै । कहिले काँही उनीहरुले चाहेअनुसार काम नभएपछि त्यहि बिषयलाई लिएर कार्यकक्षमा पटक पटक होच्याएको अनुभव हुन्थ्यो । यस्ता तिता तर यथार्थ अनुभव दलित पत्रकारले स्टुडियो भित्र नभोगेका कमै मात्र होलान् । यस्ता चरणको काँडेतार नाघेर व्यवसायिक पत्रकारितामा जमिरहेका दलित पत्रकारले बीचैमा हात धुनुपर्ने बाध्यता छ ।
कडा प्रतिवाद गरेर दोस्रो चरण पार गरिरहेका, व्यवसायिक बनेकाहरुलाई अर्को तेस्रो चुनौती र जिन्दगीकै अन्तिम चुनौतीले घेर्न थालिसकेको हुन्छ । जुन चुनौती चिर्न एकप्रतिशत दलित पत्रकारहरुको सहभागिता भेटाउन हम्मे पर्ने हुन्छ । पत्रकारितामा दलितको उपस्थिति लगभग शुन्यमा झारिसकेको हुन्छ । आर्थिक अभाव, सामाजिक विभेदले विश्राम लगाईदिन्छन । दलित समुदाय पारिवारिक हिसाबले पनि कमजोर हुने र रेडियोको कमाईले परिवार पाल्न असम्भव हुने भएकाले पारिवारिक, आर्थिक र सामाजिक भुमिकाको भुमरी भित्र फस्नुपर्ने भएपछि पत्रकारितामा दलितको उपस्थिति स्वत घट्छ । यसरी पत्रकारिताले दलित पत्रकारलाई नै समतामुलक आरक्षणमा अटाउन सकेको छैन
दलित पत्रकारको क्षमता, दक्षता र सक्रियतालाई आर्थिक अभावले क्रियाशिलताबाट पन्छिन बाध्य बनाएका घटना पनि थुप्रै छन् ।जिवनयापनका लागि पत्रकारिताको सट्टा वैकल्पिक बाटो अंगाल्न पर्ने अवस्थामा पु¥याएको छ । यसले गर्दा मुलधारका सञ्चारमाध्यममा उपस्थिति र सक्रियताहरुलाई शुन्यमा पु¥याइरहेको छ । आर्थिक अभावले पत्रकारिता छोड्नपर्ने समस्या छ । पत्रकारितामा आउन दलित र गैर दलित दुवैलाई सहजै छ । तर पत्रकारितामै टिक्नका लागि दलित पत्रकारलाई चुनौतीपुर्ण छ ।
आजपनि मुलधारका सञ्चारमाध्यमले न्युनतम पारिश्रमिक दिन सकेका छैनन् । दलित पत्रकारहरु जिम्मेवारीबाट विमुख गराउने, क्षमता विकासमा दलित पत्रकारलाई अवसर नदिइने, तलब सुविधामा विभेद गर्ने जस्ता थुप्रै कारण र समस्याहरुले गर्दा दलित पत्रकारहरु क्षमता र दक्षताको प्रदर्शनबाट टाढिन बाध्य छन् । चुनौतीलाई चिर्न फेरी पनि असम्भव भन्ने पक्कै छैन ।
लेखक राष्ट्रिय दलित पत्रकार संघ नेपाल, कर्णाली प्रदेश कमिटी सदस्य हुन ।