मानिस पशुभन्दा भिन्न चेतना भएको प्राणी हो । पशुभन्दा भिन्न हुने माध्याम शिक्षा हो । शिक्षाले चेतनाको विकास गर्ने गर्दछ । शिक्षित हुनु भनेको आफु र आफ्नो संसारवारे बोध हुन हो । बिश्व इतिहाँसलाई नियाल्दा शिक्षाको प्रस्थान बिन्दु श्रममा आधारित छ । ब्यक्ति जति शिक्षित हुदै जान्छ, राज्यको श्रोत र शक्ति माथि उसको पहँच र नियन्त्रण गर्ने क्षमता पनि बढ्रद्रै जान्छ । त्यसका लागि शासकले जहिले पनि आफ्नो स्वार्थ अनुकुल शिक्षा प्रणालीलाई ढाल्दै आएको यथार्थ हाम्रा सामु छर्लङ्गै छ । शिक्षा प्रणाली समग्र राज्यब्यवस्था संचालन गर्ने सर्वाधिक महत्वपुर्ण समाधानका रुपमा स्थापित भईसकेको छ । यस आलेखमा ऐतिहासिक श्रमिक वर्ग दलित समुदाय किन र कसरी नेपालको शिक्षा प्रणाली भित्र अटाउन सकेन ? भन्ने बिषयमा संक्षिप्त बिश्लेषण गर्न खोजिएको छ ।
हिन्दु शास्त्रीय दर्शन: जात ब्यवस्थाको जननी हिन्दु बर्णबादी ब्यवस्था हो । बर्ण ब्यवस्थाले मानिसको पेसाका आधारमा जात निर्धारण गरिदियो । खासगरी, यो ब्यवस्थाले तत्कालिन हिन्दु वैदिक समाजलाई चार श्रेणीमा बिभाजन गर्यो । ब्राह्रमण जातमा जन्म लिनेले शास्त्रार्थ गर्ने पेशा निर्धारण गरियो । श्रेत्री कुलमा जन्म लिनेका लागि शासन सञ्चालन र सुरक्षाको जिम्मा तोकियो । बैश्य कुलमा जन्म लिनेलाई ब्यापार ब्यवसाय गर्ने भुमिका दिइयो । र शुद्रलाई सवै प्रकारको श्रम गर्ने र शासकहरुको सेवा गर्ने संहिता तयार गरियो ।
राजा मनुको कालसम्म आउदा यो ब्यवस्था झनै निर्मम बन्यो । बिधाताले नै शुद्रलाई ब्राह्रामणका भृत्य (कमारो, कमारी) हुन सृष्टि गरेकाले तिनिहरुलाई जे गर्न पनि छुट हुने नियम बनाए । शिक्षावारे मनुस्मृतिले अझै क्रुर ब्यवस्था गरेको छ । अथाहास्य बेदमुह श्रृण्वतस्त्रपु जुतम्या श्रोतपरिपुणम उदाहरणे ः धराणे शरिर भेद ः आसन शयन वाकपशिषु समप्रेक्ष्सुर्दण्डयःशतम् ( शुद्रले वेद सुनेमा सिसा र लाहा पगालेर उसको कानमा हालिदिनु, वेदमन्त्र उच्चारण गरेमा जिव्रो काटिदिनु, बेदमन्त्र कण्डस्थ गरेमा मारिदिनु ) यसरी हिन्दु बिधिशास्त्रले शुद्रको शिक्षा प्राप्त गर्ने सवै वाटो बन्द गरिदियो । नेपालको शिक्षा प्रणाली पनि यहि हिन्दु बिधि शास्त्रमा आधारित भएकाले दलित समुदायलाई श्रममा जोतिने तिमिहरुको कर्म हो , बिद्या आर्जन गर्ने होईन भन्ने चलन संस्थागत गरिदियो । परिणामत: दलित समुदायका लागि शिक्षाको ढोका राणाशासन कालमा पनि धेरै समयसम्म खुल्न सकेन ।
कानुनि पासो: नेपाली समाज ब्यवस्था मुलत: हिन्दु दार्शनिक मुल्य मान्यता र बिधिवाट चल्दै आयो । नेपालका राजा महाराजाले कानुन बनाउदा कहलिएका ब्राह्मणलाई बोलाएर बनाउने परम्परा कायम रह्यो । पहिलो लिखित कानुन मानिएको मानव न्यायशास्त्र राजा जयस्थिति मल्लले बर्णबादी ब्यवस्थाअनुसार नै तयार गर्न लगाए । उनले पेसाका आधारमा तत्कालिन नेपाली समाजलाई ६४ जातमा बिभक्त गरेका थिए । शाहबँशीय राजाले पनि हिन्दु आचरसंहितालाई मुख्य कानुनी साधन बनाउदै आए । जसअनुसार त्यति वेलाको गुरुकुल शिक्षा पद्धतिमा ब्राह्रमण जातको बिशेषाधिकार स्थापित हुदै गयो ।
बि.स. १९१० मा जंगवहादुर राणाले मुलुकी ऐन जारी गरे । यो मुलुकी ऐन लागु हुनु अगाडी जात ब्यवस्था सामाजिक मुल्य मान्यताका रुपमा प्रचलित थियो । तर मुलुकी ऐनले जात ब्यवस्था नमान्नेलाई कानुनी रुपममै दण्डनीय बनाईदियो । त्यस वेलाका समाजमा चलेका अनेकौ प्रथा परम्परा र मुख्यत: हिन्दु बिधि शास्त्रका आधारमा संहिताबद्ध गरिएको यो कानुनलाई नेपालको मनुस्मृति भन्न सकिन्छ । यो कानुनले जात ब्यवस्थालाई मसिनो गरि कठोर र अनुलंघनिय बनाईदियो ।
ब्राह्रमण भित्रै पनि को श्रेष्ठ ? को कनिष्ट हो ? स्पष्ट पहिचान गर्न सकिने भयो । पानी नचल्ने र छोइछिटो हाल्नुपर्ने भनिएको दलित समुदाय भित्र पनि माथिल्लो र तल्लो जातको ठाडो पद सोपान निर्माण गरिदियो । यो कानुन लागु भएपछि सिंगो राज्य ब्यवस्था हिन्दु बर्णवादमा संचालन हुन बाध्य भयो । शिक्षा ब्राह्रमण जातमा जन्म लिने तागाधारीको कुलिन पेवा भयो । दलितहरु अशिक्षाको अन्धकारमा अनिश्चित कालसम्म जकडिन पुगे । त्यसैको आडमा ब्राहमण र क्षेत्रीले दलित समुदाय माथि सजिलै संग शोषण गरिरहे । जुन राज्यका श्रोत र शासन माथि कब्जा गर्ने बिरासत आज सम्म पनि जारी नै छ ।
छुवाछुतको प्रताडना: दलित समुदाय माथि आर्थिक शोषण र राजनीतिक बन्चितिकरण जुन तिव्रतामा बढ्दै थियो, त्यो भन्दा बढि जातीय भेदभाव र छुवाछुतलाई कठोर र अनुलंघनिय बनाउदै लगियो । कति सम्म भने ब्राहमण । कुलमा जन्मिएको ब्यक्तिले राजद्रोह गर्याे भने चारपाटा मुडेर देश निकाला गर्नसम्म मिल्ने भयो । अरु जातमा जन्मिएर विद्रोह गर्न खोजे मृत्युदण्ड नै दिने परिपाटी बसालियो । शिक्षा बर्ण ब्यवस्था अनुसार आचारबिचार मिल्यो कि मिलेन भनेर राजकाजमा सल्लाह दिने पण्डितको पेशा बन्यो ।
प्रजातन्त्रको आगमन संगै दलित बालबालिकाले बिस्तारै बिद्यालय सम्म देख्न थाले । तर बिद्यालय भित्र बसेर पढ्ने स्थिति रहेन । एकातिर चरम जातिय छुवाछुतको हिँसा र दमन,अर्कातिर गरिवीको दुश्चक्र दलित बालबालिका बिद्यालयमा पुगे पनि टिक्न सकेनन् । मानसिक मात्र होईन, भौतिक रुपमै दलित बालबालिका माथि आक्रमण हुन्थ्यो शिक्षकवाट । बिद्यालयमा नै छुवाछुत हुने, कक्षाकोठा भित्र बस्दा पनि सवैभन्दा पछाडी बस्नुपर्ने, उच्च जाति भनाउदा साथीहरुको नास्ता छोइने डरले टाढा बस्नु पर्ने, बिद्यालयको अफिस कोठामा पानी छोईने डरले अफिसमा जान नपाईने, राम्रो स्थानमा नम्वर ल्याए पनि रिजल्ट प्रकाशन हुदा नम्वर घटाएर परिक्षाफल प्रकाशन गर्ने बिभेदहरु खप्न नसकेर दलित बिद्यार्थीले पढ्न छाडेर घरको काम गर्ने र प्रदेश तिर लाग्ने, सानैमा विवाह गरि घरजम गरेका धेरै उदाहरणको साक्षी म आफै छु ।
शिक्षा लिने ठाँउ यस्तो भईसके पछि दलित बिद्यार्थी कसरी पढ्न सक्ने ? आजकाल त्यो स्थिति मनोसामाजिक प्रताडनामा बदलिएको छ । दलितले पढ्ने वातावरण नै नभए पछि दलित शिक्षक उत्पादन नहुनु स्वाभाविक हो । केही दलित, जो बिद्यालयको संरचनागत हिसालाई छिचोल्दै शिक्षक हुन सफल भए , उनीहरु माथि पनि बिद्यालयले बिभेदरुपी हिँसा जारी राख्यो । दलित बिद्यार्थिले अपनत्व महसुस गरे पनि कथित माथिल्लो जातका शिक्षक र बिद्यार्थीहरुको दुब्र्यवहारले दलित शिक्षक आक्रान्त भइराखे । परिणामत: बिद्यालय शिक्षा प्रति दलित समुदायको आकर्षण भन्दा ज्यादा बिकर्षण रह्यो ।
पछिल्लो आँकडा हेर्ने हो भने दलित समुदायको साक्षरता दर सवै भन्दा न्युन छ । उच्च स्तरिय आयोगको रिर्पोट हेर्दा १ कक्षामा भर्ना भएका २० जना दलित बिद्यार्थी मध्ये ३ जनाले मात्र १० कक्षाको परीक्षा उतिर्ण गर्छन । यसको अर्थ ८५ प्रतिशत दलित बिद्यार्थि बिचमै हराउँछन् । ५० प्रतिशत दलित बिद्यार्थीले त ५ कक्षा पढ्दापढ्दै स्कुल छोडिसकेका हुन्छन् । अवरोधका थुप्रै पर्खाल पार गरेर उच्च शिक्षा सम्म आईपुग्दा यो संख्या घटेर १.४ प्रतिशतमा झर्छ । बिद्यालयको पहुँचसम्म आउन नसक्नेमा सवैभन्दा धेरै दलित बालबालिका नै छन् । त्यसमा दलित छात्राको अवस्था झनै नाजुक छ । पहाडी दलित भन्दा मधेसी दलित छात्राको शैक्षिक अवस्था थप भयावह छ ।
परम्परागत सीपको अवमूल्यन: हिन्दु बर्ण ब्यवस्थाले परिकल्पना गरे अनुसार दलित समुदायले पुख्यौली रुपमा गर्दै आएका हुन परम्परागत पेसा । यो पेसा अपनाउनु उनीहरुको रहर मात्र होइन, बाध्यता पनि मिसिएको छ । रहर यस कारण कि यो पेशागत कौशलले सिँगो हिन्दु समाजको विकास सम्भव तुल्यायो । अर्का तर्फ यहि जात अनुसार पेशा गरेका कारण उनीहरु कालान्तर सम्म छुवाछुत र विभेदको सिकार हुन बाध्य भईरहे । आफ्नो जीवनकाल भरि न्यायको श्वास फेर्न कहिल्यै पाएनन् ।
बर्णवादी संरचना भित्र दलितले आफ्नो सीप र कलालाई कहिल्यै शिक्षासंग जोड्ने अवसर पाएनन् । वरु यो ब्यवस्थाले उनीहरुको कष्टसाध्य जीवन भाग्यको खेल भएको भाष्य निर्माण गरिदियो । यसरी सिँगो अर्थ ब्यवस्थालाई धानेको दलितको सीप र प्रबिधिले हिन्दु बर्ण ब्यवस्थामा स्थान पाएन । दलितले बनाएका लत्ता कपडा ,भाडाकुडा सवै चल्ने भए तर उनीहरुको पानी नचल्ने भयो । उनीहरुले बनाएका महल, मन्दिर पुज्य भए । बिडम्वना ,कुकुर, बिरालो घर या मन्दिर भित्र पस्दा पनि श्रम र सीपका धनि कालिगढ भने समाजमा बहिस्कृत भईरहे ।
बर्णवादी संरचना भित्र दलितले आफ्नो सीप र कलालाई कहिल्यै पनि शिक्षासंग जोड्ने अवसर पाएनन् । वरु यो ब्यवस्थाले उनीहरुको कष्ट साध्य जीवन भाग्यको खेल भएको संस्कार निर्माण गरिदियो । फलस्वरुप दलित समुदाय यो ब्यवस्था भित्र अशिक्षित, हली , बालिघरे सन्तति पुर्नरुत्पादन गर्न बाध्य छन् । ब्राह्रमण,क्षेत्री शासक, प्रशासक, पण्डित, सेनापती पुनरुत्पादन गरिरहेका छन् । त्यसर्थ, यो प्रणालीमा ब्राह्मण क्षेत्रीको पडित्याई र लडाकुपनले वाहवाही पायो । दलित समुदायको शिल्प मुल्यहीन र निकृष्ट बन्यो ।
निष्कर्ष: दलित समुदाय माथि हुने बिभिन्न संरचनागत हिँसा, दमन र शोषण बिरुद्ध स्वतन्त्र तथा दलिय रुपमा प्रतिरोध संघर्ष नभएका होइनन् । नेपाल राजनीतिक आन्दोलनले परिवर्तनका ठुल्ठुला एजेण्डा उठाएर पनि अन्तत: सम्झौतामा गएर टुंगिने बिरासत छ हाम्रो । जसले गर्दा आन्दोलनका मोर्चामा अग्रभागमा रहेर दलितले बलिदान दिए पनि प्रतिफल जहिले पनि बर्णबादीको पोल्टामा परिरह्यो ।
जनयुद्ध र जनआन्दोलनमा समान शिक्षाका लागि बगाएका रगत पसिना आज नीजि शिक्षा प्रणालीमा लागि मजवुत बन्न गयो । दलित समुदायका लागि ब्यवस्था गरिएका केही सीमित अधिकार पनि खोसिने क्रम जारी छ । नेपालको संबिधानमा दलित शिक्षाका लागि केही सकारात्मक प्रावधान राखिए पनि कार्यन्वयनका लागि संयन्त्र बनाएको छैन ।
समग्रमा हेर्दा दलित समुदायको शिक्षा क्षेत्रमा उल्लेखनिय सुधार ल्याउन सकिएन भने, सुखी नेपाली समृद्ध नेपालको परिकल्पनालाई समेत यसले धक्का दिन्छ र समाजवाद उन्मुख संबिधानको मर्म बिपरित समाज उहि स्थानमा रहने निश्चित छ । त्यसैले राज्यको लगानी दलित समुदाय माथि बिभेद अन्त्य गर्न र उनीहरुलाई राज्यको पहुच पुर्याउनमा केन्द्रित हुन जरुरी छ । अहिलेको लगानीले उनीहरुको समग्र शिक्षामा सुधार आउन सक्ने देखिदैन ।
(लेखक दलित अधिकारक्रमि बाले बिश्वक्रर्मा हुन)
प्रतिक्रिया दिनुहोस