विप्लवले माओवादीलाई ०६४ सालमा फर्काउने भनेकोमा खुसी छुः प्रचण्ड

३ कार्तिक, चितवन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपाका महासचिव विप्लवले माओवादीहरुको एकताले पार्टीलाई ०६४ सालमा फर्काउन सकिने भनेको कुराले खुसी भएको बताउनु भएको छ ।
शनिबार चितवनमा आयोजित ‘बेपत्ता यौद्वा दन्डपाणी न्यौपाने स्मृति साँस्कृतिक कार्यक्रम’ लाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले संगै सहभागी कार्यक्रममा माओवादीलाई ०६४ मा फर्काउन सकिने कुरा विप्लवले गरेकाले आफु खुसी भएको बताउनु भएको हो ।
अध्यक्ष प्रचण्डले एउटै स्कुलिङबाट आएर अहिले विभिन्न भंगालोमा रहेका माओवादीहरु एकताबद्ध हुँदै समाजवादी क्रान्तिको तयारीमा लाग्नुपर्ने बेला आएको भन्दै माओवादीहरुको एकता अनिवार्य भएको बताउनु भयो ।
उहाँले जनताको गणतन्त्र र दलालहरुको गणतन्त्र के बनाउने ? भन्ने विषयमा अहिले संघर्ष भइरहेको पनि बताउनु भयो ।
उहाँले भन्नु भयो ‘आफूहरु शान्ति सम्झौतामा आउदा गणतन्त्रमा जाने सहमति भए पनि त्यसलाई जनताको गणतन्त्र बनाउने वा दलालहरुको गणतन्त्र बनाउने भन्ने बिषयमा संघर्ष हुन्छ भनेको थिए । अव त्यो विन्दु आयो, आम जनतालाई एकताबद्ध गराउदै समाजवादी क्रान्ति पूरा गर्नेतिर लागौं ।’

उहाँले दण्डपाणी न्यौपाने जनयुद्धको क्रममा बेपत्ता हुने सबैभन्दा माथिल्लो तहको नेता भएको उल्लेख गर्दै आफूसित अत्यन्त निकट रहेर काम गरेको र निरन्तर नेतृत्व विकासमा जोड दिने गरेको बताउनु भयो ।
कार्यक्रममा नेकपा माओवादी केन्द्रका उपाध्यक्ष पम्फा भुसालले हजारौं यौद्धाको बलिदानबाट प्राप्त संविधान कसैले दायाँबायाँ गर्न नपाउने बताउनु भयो ।
नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्मा प्रभाकरले सबै माओवादीहरुसंग एकता जरुरी भएको बताउनु भयो ।
कार्यक्रममा सामना सास्कृतिक परिवार तथा अन्य विभिन्न कलाकारले गीत नृत्य प्रस्तुत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस