प्रधानमन्त्री ओलीलाई विश्वासको मत दिन एमालेको ‘ह्वीप’

५ साउन काठमाडौं । नेकपा एमालेले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत दिन ह्वीप जारी गरेको छ। एमाले संसदीय दलका मुख्य सचेतक महेश बर्तौलाले एमालेका सांसदलाई आइतबार बस्ने प्रतिनिधिसभाको बैठकमा अनिवार्य उपस्थित हुन ह्वीप जारी गरेका हुन्।

निर्देशनमा भनिएको छ,‘साउन ६ गते बस्ने प्रतिनिधिसभाको बैठकमा सम्माननीय प्रधानमन्त्रीज्यूले विश्वासको मतका लागि प्रस्ताव पेस गर्नुहुने भएकोले अनिवार्य उपस्थित भई विश्वासको मत माग्ने प्रस्तावको पक्षमा मतदान गर्नुहुन ह्वीप जारी गरिएको जानकारी गराउँदछु।’

एमाले र कांग्रेसबीच नयाँ सत्ता समीकरण बनेपछि ओलीले असार २८ गते प्रधानमन्त्रीमा दाबी पेश गरेर ३० गते नियुक्त भएका हुन्। उनले संविधानको धारा ७६ (४) बमोजिम प्रधानमन्त्रीले विश्वासको मत लिन लागेका हुन्। विश्वासको मतको लागि कांग्रेस एमाले सरकारले दुई तिहाइ मत प्राप्त गर्ने भएको छ। विद्यमान प्रतिनिधिसभामा रहेको २ सय ७५ मध्ये प्रधानमन्त्रीको पक्षमा दुई तिहाइ मत प्राप्त हुने निश्चित भएको छ।

प्रतिनिधिसभामा नेपाली कांग्रेसको ८८ र एमाले ७९ सिट छ। जसमा एमालेका एक जना सभामुख र एक जना निलम्बित छन्। एमालेको ७७ मत हुन्छ। प्रतिनिधि कांग्रेस र एमालेको १ सय ६५ मत हुन्छ। २७५ को दुई तिहाइ १८४ हुन्छ। ओलीले दुई तिहाइ मत पाउने निश्चित भएको छ।

त्यस्तै, सरकारमा सहभागी भएको जनता समाजवादी पार्टीको ७ र लोसपाको ४ सिट छ। जसपा र लोसपा गरेर १ सय ७४ हुन्छ। उपेन्द्र यादव नेतृत्वको जसपा नेपाल र जनमत पार्टीले पनि विश्वासको मत दिने निर्णय गरिसकेका छन्। जसपा नेपालको ५ र जनमतको ६ सिट छ। यो समेत गर्दा १ सय ८४ मत हुन्छ। २ सय ७५ को दुई तिहाइ १ सय ८४ हुन्छ। ओलीले दुई तिहाइ मत पाउने निश्चित भएको छ।

तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहालको विपक्षमा मत हालेको राप्रपाले भने अहिलेसम्म निर्णय गरिसकेको छैन। प्रतिनिधिसभामा राप्रपाको १४ सिट छ। नागरिक उन्मुक्ति पार्टीलगायत साना दल र स्वतन्त्र सांसदको निर्णय पनि आएको छैन। नाउपाको ४, राष्ट्रिय जनमोर्चा, आम जनता पार्टी र नेमकिपाको १/१ सिट छ भने २ स्वतन्त्र सांसद छन्।

नेकपा माओवादी केन्द्रसहित रास्वपा र एस विपक्षमा छन्। प्रतिनिधिसभामा माओवादीको ३२, रास्वपाको २१ र नेकपा एसको १० सिट छ। विश्वासको मतको विपक्षमा ६३ मत पर्ने भने निश्चित भएको छ। राष्ट्रिय जनमोर्चाले पनि विपक्षमा मत हाल्न सक्छ भने नेमकिपाले कतै पनि मत नहाल्न सक्छ।

प्रतिक्रिया दिनुहोस