७८ लाख घुस दिएका न्यौपाने डिल्लीबजार कारागार चलान


८ माघ, बुटवल । भक्तपुरस्थित नेपाल इन्जिनियरिङ कलेजका तत्कालीन अध्यक्ष लम्बोदरकुमार न्यौपाने कारागार चलान हुनु भएको छ ।
जिल्ला अदालत भक्तपुरले मागेको ३५ लाख रुपैयाँ धरौटी तिर्न नसक्ने बताएपछि न्यौपानेलाई बिहीबार डिल्लीबजार कारागार पठाइएको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोका निर्देशक डीआईजी सहकुलबहादुर थापाले जानकारी दिनु भयो ।
जिल्ला अदालतले कलेजका तत्कालिन वित्त नियन्त्रक रामकुमार श्रेष्ठसँग १० लाख र पोखरा विश्वविद्यालयका कर्मचारी चोलाकान्त च्वाइसँग ५० हजार रुपैयाँ धरौटी माग गरेको छ ।
न्यौपानेमाथि कलेजको ३१ करोड ३२ लाख रुपैयाँ अपचलनको आरोप छ । यो विषयमा छानिविन गर्न कलेजका संस्थापकहरूले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दिएका थिए ।
छानविन रोक्ने शर्तमा न्यौपानेले अख्तियारका तत्कालिन आयुक्त राजनारायण पाठकलाई ७८ लाख रुपैयाँ घुस दिनु भएको थियो । घुस लिएको भिडियो सार्वजनिक भएपछि पाठक पदबाट राजीनामा दिन बाध्य हुनु भएकोे थियो ।
न्यौपाने १८ असार २०५६ देखि ७ मंसिर २०५७ र २३ मंसिर २०७० देखि १५ असोज २०७५ सम्म नेपाल इन्जिनियरिङ कलेजको अध्यक्ष हुनु भएको थियो ।

प्रतिक्रिया दिनुहोस