नेपाललाई दक्षिण एशियाको युक्रेन बनाउने साम्राज्यवादी षड्यन्त्र छः प्रकाण्ड सी

६ मंसिर,कालिकोट । नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता प्रकाण्ड सीले नेपाललाई साम्राज्यवादले दक्षिण एशियाको युक्रेन बनाउने षड्यन्त्र गरेको खुलासा गर्नु भएको छ ।

नेपाल कम्युनिष्ट पार्टी दक्षिण कर्णाली ब्यूरोले आज कालिकोटको सदरमुकाम मान्ममा आयोजना गरेको विशाल जनसभालाई सम्वोधन गर्दै प्रवक्ता प्रकाण्डले यस्तो खुलासा गर्नु भएको हो ।

उहाँले नेपालका सबै राजनीतिक पार्टी,परिवर्तनकारी क्रान्तिकारी शक्ति,देशभक्त शक्तिहरुले समयमा विचार गर्ने होईन भने नेपाल दक्षिण एशियाको युक्रेन बन्नेमा कुनै संका नभएको ठोकुवा गर्नु भयो ।

प्रवक्ता प्रकाण्डले भन्नु भयो “जनताको जीवन धरापमा छ । सबै पार्टीका इमान्दार नेता कार्यकर्ताहरु एकठाउँमा नआउने हो भने देश युक्रेन बन्नेछ । यो बनाउने साम्राज्यवादी षड्यन्त्र छ । केही दलालहरुले अमेरिकाको गुणगान गाएका छन । केही मान्छेहरु राष्ट्रघाती साम्राज्यवादको एजेण्ड छन । राष्ट्र धेरै खतरामा छ । सबै पार्टीका नेताहरु समस्या छ भन्नेमा सहमत छन । उनीहरु संसदवादबाट निकास खोज्न चाहान्छन तर संसदवादबाट निकास सम्भव छैन ।”

प्रवक्ता प्रकाण्डले नेपालको राष्ट्रिय संकटको निकासको निर्विकल्प कार्यक्रम समाजवाद मात्र भएको र संसदवाद नभएको पनि ठोकुवा गर्नु भयो ।
उहाँले दलाल संसदीय पूँजीवादी व्यवस्थाका कारण देशमा आर्थिक संकट चरम चुलिएमा पुगेको र राष्ट्रिय स्वाधीनता पनि गम्भीर संकटमा परेको दाबी गर्नु भयो ।

प्रवक्ता प्रकाण्डले नेपालमा दलाल पूँजीवादी व्यवस्था फालेर समाजवादी व्यवस्थामा नल्याउने हो भने देश भयावह हुने चेतावनी दिनु भयो ।
उहाँले भन्नु भयो “नेपालमा समाजवाद चाहियो । यो शान्तिपूर्ण चाहियो । दलाल संसदीय व्यवस्था ठिक कि समाजवादी व्यवस्था ठिक ? भनेर जनतालाई फैसला गर्ने अधिकार दिनु पर्छ । नेपालमा यसका लागि देशभक्त,क्रान्तिकारी शक्ति,प्रगतिशील शक्ति सबैले दबाव दिन जरुरी छ ।”
प्रवक्ता प्रकाण्डले नेपालको संकटलाई समाधान तिर लिन समाजवादी मोर्चा समेत बनेको चर्चा गर्दै यो मोर्चामा नेपालका सबै माओवादी,कम्युनिष्ट, एमाले र काङ्ग्रेस समेत आउनु पर्ने बताउनु भयो ।

उहाँले संसदीय व्यवस्था दलाल,राष्ट्रघाती,मानवतस्कर,भ्रष्टाचारी र श्रमिक जनता माथि शोषण गर्ने व्यवस्था भएको बताउनु भयो ।
प्रवक्ता प्रकाण्डले २००६ साल देखि कम्युनिष्ट पार्टी स्थापना भएपनि जनताले गरेको बेला बेलाको क्रान्तिको सपना पुरा नभएको बताउनु भयो ।
उहाँले जनयुद्ध,एकीकृत जनक्रान्ति लगायतका सबै आन्दोलनका सहिदहरुको सपना नेपाल कम्युनिट पार्टीले पुरा गर्ने प्रतिवद्धता समेत जनाउनु भयो ।

श्रमिक जनताको मुक्तिको लागि संसदवादका विरुद्ध संघर्ष गरेर प्रचण्डबाट पार्टी अलग गरेको बताउदै भन्नु भयो “किरण जीको साथमा अढाई वर्षसंगै बस्दै २०६९ मंसिर ८ गतेका दिन नेपालमा श्रमिक जनताको मुक्तिको मार्ग निर्देशन गर्ने नेपाल कम्युनिष्ट पार्टी गठन भएको दिन हो । आज यो दिनलाई विशेष हर्ष उत्लाहसका साथ मनाउनु पर्छ ।”

उहाँले पार्टीको १० औ बार्षिकोत्सवका अवसरमा पार्टी नेता कार्यकता तथा आम जनतालाई हार्दिक शुभकामना पनि व्यक्त गर्नु भयो ।
प्रवक्ता प्रकाण्डले कालिकोटबासी जनताको साथमा नेकपा रहेको बताउदै कालिकोटे जनतालाई क्रान्तिकारी उर्जाभरीरहन र विचलित नहुन पनि आग्रह गर्नु भयो ।

कार्यक्रममा नेकपाका केन्द्रीय सदस्य तथा कर्णाली मुक्ति मोर्चाका अध्यक्ष विराट सीले मंसिर ८ लाई पर्वको रुपमा मनाउन अपिल गर्नु भयो ।
कार्यक्रम सुरु हुनु पूर्व जिल्लाका विभिन्न पालिकाबाट झाँकी,नारा जुलुस गरी हजारौ जनता कार्यक्रम स्थल मान्म बजार पुगेका थिए । कार्यक्रममा नेकपाका केन्द्रीय सदस्य हिमशिखर,दिनेश,राजकुमारी लगायतका नेताहरुको पनि सहभागीता रहेको थियो ।

मध्यकर्णाली व्यूरो इन्चार्ज विवेक सीको अध्यक्षतामा सम्पन्न जनसभाको संचालन नेकपाका केन्द्रीय सदस्य तथा कालिकोट जिल्ला इन्चार्ज बलवान सीले गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस