शव्दमा “लोकतन्त्र” आयो,व्यवहारमा आएन

११ ,वैसाख वाँके । आज लोकतन्त्र दिवस । आज भन्दा १५ वर्ष अघि २०६२÷६३ को तत्कालिन नेकपा (माओवादी) र सात राजनैतिक दलको संयूक्त जनआन्दोलनले प्रतिनिधि सभाको पूर्नस्थापना गरि लोकतन्त्रको स्थापना गरेको दिन ।

सवै सत्ताको वागडोर आफ्नो हातमा लिनु भएका तत्कालिन राजा ज्ञानेन्द्र शाहले जनआन्दोलनको महासागर वाट पराजित भएर जनताको आफ्नो अधिकारको लागि वाटो खुल्ला गर्नु भएको दिन आज वैसाख ११ गते होे । त्यसैले यस दिनलाई लोकतन्त्र दिवस मनाउने गरिएको छ । देशभर लोकतन्त्र दिवस मनाउने गरिएपनि जनताको आन्दोलनको मर्म अनुसार देशमा लोकतन्त्रको अनुभूति हुन नसकेको सर्वत्र गुनासाहरु छन ।

२०६२ चैत २६ देखि २०६३ वैशाख ११ गतेसम्म देशव्यापी चर्किएको आन्दोलनलाई नेपाली इतिहासमा ‘जनआन्दोलन भाग–२’ तथा केहीले ‘गणतान्त्रिक आन्दोलन’ पनि भन्ने गरेका छन् ।
आदिकालदेखि जरा गाडेको हिन्दू राजतन्त्रात्मक शासनको अन्त्य गरी लोकतान्त्रिक शासन व्यवस्था स्थापना गर्न जनआन्दोलन सफल भयो ।
तत्कालीन विद्रोही पक्ष नेकपा माओवादी तथा सात दल सम्मिलित १९ दिनसम्म चलेको जनआन्दोलनमा दुई दर्जनभन्दा बढी नेपाली सपुथहरु शहीद भए । सयौं जना घाइते भए । आम जनतादेखि उद्यमी, शिक्षक, पत्रकार, साहित्यकार तथा पेशाकर्मीले जनआन्दोलनमा खुलेर सहभागिता जनाए ।

साहित्यकारहरू पनि बामपन्थी र प्रजातान्त्रिक मोर्चा बनाएर आन्दोलनमा होमिए । साहित्यकारहरूले कविता वाचन, नाटक प्रदर्शन, नाचगान, नारा लेखन र भाषण गर्दै आन्दोलनको माहोल तताउन थप ऊर्जा दिए ।

कैयौं कवि, साहित्यकार ‘जनताका कवि’को रूपमा स्थापित भए ।
यद्यपि लोकतन्त्रले जनताको जीवनमा परिवर्तन ल्याउन नसकेको तीतो यथार्थ सबैले भोग्नुपरेको छ । साहित्यकारहरू पनि लोकतन्त्रले जनभावनाको कदर गर्न नसकेको अभिव्यक्ति दिइरहेका छन् । कतिपयले आफ्ना असन्तुष्टि सिर्जना मार्फत व्यक्त गरिरहेका र सत्तालाई सचेत गराइरहेका छन् ।
२०६२÷६३ को जनआन्दोलनमा देशका कुनाकाप्चाका अधिकांश साहित्यकारहरूको योगदान र भूमिका कम आँक्न मिल्दैन । साहित्यकार श्रवण मुकारुङले लोकतन्त्र बचाउन सधैं लड्नुपरेको वताउनु भएको छ ।

उहाँले सामान्य अर्थमा भन्ने हो भने पनि राजनीतिक नेतृत्वले ठीकसँग काम गर्न नसक्दा लोकतन्त्र संस्थागत हुन नककेको र लोकतन्त्र कार्यान्वयन गर्ने निकायहरू पनि असफल बनेको वताउनु भएको छ ।
उहाँले भन्नु भयोे राज्यपक्षले लोकतान्त्रिक आचरण पालन गरेको देखिंदैन । सत्ता–स्वार्थमा फसेको राजनीतिक नेतृत्वले लोकतन्त्रको मर्म ख्याल गरेको पाइँदैन ।
यस्तै मनु मञ्जिलले आज गणतन्त्र स्थापना भएकै १५ वर्षभन्दा बढी भइसक्यो तर जनताको चाहनालाई राजनीतिक नेतृत्वबाट कुनै सम्बोधन नभएको गुनासो गर्नु भएको छ । उहाँले परिवर्तनको फाइदा सीमित वर्गले लिइरहेको भन्दै गणतान्त्रिक युगमा आएर पनि नेताहरूमा सामन्ती मानसिकता हावी देखिएको टिप्पणी गर्नु भयो ।

सरिता तिवारीले जनआन्दोलनपछि भएको मधेश आन्दोलनमा पनि धेरै मान्छे मारिएको भन्दै हामी र हाम्रा अग्रजले जुन लोकतन्त्रको लागि लड्यौं त्यो अझै प्राप्त भएको छैन भन्नु भएको छ ।
उहाँले भन्नु भयो अहिलेसम्म हामी अभिव्यक्ति स्वतन्त्रता र सामाजिक न्यायका लागि उत्तिकै संघर्ष गरिरहेका छौं । यसले लोकतन्त्र आवरणमा त देखिएको छ तर अनुभूतिमा ग्रहण गर्न नसकिएको तीतो यथार्थ हो । ‘लोकतन्त्र’को विकल्प छ भन्न त म सक्दिनँ तर अहिले भइरहेका घटनामाथि निर्मम समीक्षा हुन आवश्यक छ ।

नयनराज पाण्डेले जनताको जीवनमा प्रत्यक्ष देखिने गरी लोकतन्त्रले परिवर्तन ल्याएको नदेखिएको वताउनु भएको छ ।
सीमा आभासले आज आएर लोकतन्त्रको समीक्षा गर्दा यसलाई संस्थागत गर्न हामी सबै चुकेका छौं भन्नु भयो ।

उहाँले शीर्ष नेतृत्वलाई मात्र दोष दिएर पन्छिनेभन्दा व्यक्तिगत तहबाटै लोकतन्त्र संस्थागत गर्ने दायित्व बिर्सिएका छौं । यसैले आफ्नो स्थानबाट लोकतान्त्रिक आचरण कायम गर्दै देश र समाजप्रति उत्तरदायी हुन आवश्यक छ भन्नु भयो ।
ः भूपाल राईले विगतको संघर्ष हेर्दा लोकतन्त्र जनताले सोचेजस्तो सपाट किसिमको नभएको भन्दै कसैको लागि सबैथोक भए पनि जनताका लागि यसले केही गर्न नसकेको वताउनु भयो । उहाँले भन्नु भयो यसो गहिरिएर सोच्यो भने, सबै कुरा झुट जस्तो पो देखिन थालेको छ । ‘फेक लोकतन्त्र, फेक गणतन्त्र !’
प्रगति राईले आज आन्दोलनलाई फर्केर हेर्दा राजनीतिक दलहरू नै लोकतन्त्रप्रति उत्तरदायी नभएको पाईएकोे वताउनु भएको छ । उहाँले भन्नु भयो जे चाहना राखेर जनताले आन्दोलन गरे त्यो पूरा भएको छैन । खोजेका सबै कुरा पूरा नभए पनि लोकतन्त्रका आधारभूत मान्यताहरू त पालना हुनुपर्ने हो, त्यो पनि प्राप्त भएको छैन !

प्रतिक्रिया दिनुहोस