१२ माघ, काठमाडौं । प्रतिनिधिसभा विघटनको विरोधमा राजधानीमा निकालिएको नागरिक मार्चमा प्रहरीले हस्तक्षेप गर्दा १२ जना भन्दा धेरै घाइते भएका छन् ।
प्रधानमन्त्री निवास बालुवाटार बाहिर भएको भेलामा सहभागी नागरिक माथि प्रहरीले प्रहार गरेको लाठी, पानीको फोहोरा हानेको थियो । वृहत् नागरिक आन्दोलनका अनुसार घाइतेमध्ये संघर्ष दाहाल, कुमार बर्तौला, सिएन थारु, स्वर्णिम दिनेश, राम नरेश यादव, प्राध्यापक रमेश भट्टराई लगायतको काठमान्डु मोडल अस्पताल, हेल्पिङ ह्यान्ड्स र हिमाल हस्पिटलमा उपचार गरिएको छ ।
गम्भीर घाइते भएका निर्गराज जैसी, जनक ढुङ्गाना, सुरज तामाङ, कुलदिप शर्मा, सुनिल श्रेष्ठ र गोविन्द भण्डारी शिक्षण अस्पतालमा उपचाररत हुनुहुन्छ । सोमबार साँझसम्म जैसीको होस नआएको वृहत नागरिक आन्दोलनका तर्फबाट विज्ञप्ति जारी गरी युग पाठकले जानकारी दिनु भएको छ ।
बृहत नागरिक आन्दोलनको आहृवानमा कमलपोखरी बचाउ अभियानका अभियन्ताहरुबाट माटोको टीका लगाएपछि मार्च सुरु भएको थियो । कमलपोखरीबाट मार्च पास गर्दै प्रधानमन्त्री निवास, बालुवाटार पुग्ने र कोणसभा आयोजना गर्ने पूर्वघोषित कार्यक्रम अनुसार नागरिक आन्दोलन अघि बढेको थियो ।
प्रधानमन्त्री निवासबाट करीब पाँच सय मिटरवरै भाटभटेनी पीपलबोटमा प्रहरीले ब्यारिकेड राखेर नागरिक आन्दोलनकारीलाई रोकेको थियो । पीपलबोटमा आयोजना गरिएको कोणसभालाई डा. गोविन्द केसी, खगेन्द्र सङ्ग्रौला, मोहना अन्सारी र नारायण वाग्लेले सम्बोधन गर्नु भएको थियो । कोणसभापछि शान्तिपूर्ण रुपमा अघि बढेको जुलुसलाई प्रहरीले एक्कासी लाठी र पानीको फोहोरा प्रहार गरेको वृहत नागरिक आन्दोलनका नारायण वाग्लेले वताउनु भयो । उहाले भन्नु भयो , ‘शान्तिपूर्ण रुपमा धर्ना दिन गइरहेको थियौं । हामीमाथि जुन बर्बर दमन भयो, अब तेस्रो जनआन्दोलन सुरु भयो ।’
वृहत नागरिक आन्दोलनका युग पाठकले शान्तिपूर्ण भेला र मार्चमा भएको प्रहरी दमनले केपी शर्मा ओली नेतृत्वको हताश मनोदशा र दमनकारी चरित्र उजागर गरेको बताउनु भयो । ‘नागरिकले गरेको शालीन र शान्तिपूर्ण अभियानलाई प्रहरीले नै बलजफ्ती मुठभेडमा परिणत गरेको थियो । यस सरकारी रवैयाको वृहत् नागरिक आन्दोलन घोर भत्र्सना गर्दछ’ पाठकले विज्ञप्तिमा भन्नु भएको छ ।
काठमाडौं प्रहरी प्रमुख अशोक सिंहले भने नागरिक समाजको विरोध ¥याली सकिने क्रममा बालुवाटारमा निषेधित क्षेत्रभित्र प्रवेश गर्न खोजेपछि रोकिएको वताउनु भएको छ ।
नागरिक आन्दोलनमा भएको प्रहरी हस्तक्षेपको फोटोहरु