८ कात्तिक, खलङ्गा । जुम्लाको तातोपानी गाउँपालिका–४ स्थित नेत्रज्योति मावि (हाँकु विद्यालय) वर्षा र बाढीले बगाएर बगरमा परिणत भएको छ । विद्यालयको भवनदेखि घेराबार, फर्निचर र अन्य सबै बगाएको छ ।
अहिले विद्यालयमा गिट्टी र ढुङ्गा थुप्रिएको छ । कोरोना सङ्क्रमणका कारण लामो समयसम्म विद्यालय बन्द भएर भर्खरै सञ्चालनमा आएको थियो । तर यही कात्तिक १ गतेदेखि परेको निरन्तर वर्षाका कारण नदीमा आएको बाढीले विद्यालय नै बगाएकाले पठनपाठन ठप्प भएको विद्यालयका विद्यार्थीहरुले वताएका छन ् ।
विद्यालय असोज ३० गतेदेखि सञ्चालन गरिएकामा कात्तिक १ गतेको बाढीले सबै बगायो । उक्त विद्यालयका प्रधानाध्यापक जाज्वाल्यराज न्यौपानेले भन्नु भयो , ‘विद्यालय बगर बनेको छ । पठनपाठन सञ्चालन गर्न कठिन छ । बाढीले यहाँका विद्यार्थीको भविष्य खोसेको छ । बगाउन नसकेका केही भवनमा पनि तत्काल कक्षा सञ्चालन गर्न पनि नसकिने अवस्था छ ।’
उहाँका अनुसार विद्यालयको कक्षा कोठामा बालुवा थुप्रिएको छ भने झ्याल, ढोका फुटेका छन् । ‘डेस्क–बेञ्च छैनन् । तत्काल मर्मत गर्न सकेमा ६ कोठामा विद्यार्थीलाई पढाउन सकिन्छ ।’
विद्यालय बगर बनेपछि विद्यार्थी पढ्नसमेत डराइरहेको उहाँको भनाइ छ । ‘सामान्य वर्षा हुने बित्तिकै विद्यार्थी र अभिभावकले विद्यार्थी स्कुल पठाउन सक्ने अवस्था रहेन । अहिले विद्यालयमा अध्ययनरत ६९४ विद्यार्थी अलपत्र छन् ।
बाढीले रु एक करोड ६६ लाख ३५ हजार बराबरको मालसामानमा क्षति पु¥याएको विद्यालय प्रशासनले जनाएको छ ।
बाढीले जिल्लाको तातोपानी– ७ र तिला गाउँपालिकाको सेतीबाडा रहेको विद्यालय पनि डुबाएको छ ।
प्रतिक्रिया दिनुहोस