फौजी मोर्चाका कमिसार विप्लव र कमाण्डर पासाङ बिच भेटवार्ता, माओवादी एकतामा जोड

काठमाडौ । महाज जनयुद्धको बेला युद्ध मोर्चामासंगै लड्न गईरहने दुईजना जनयुद्धका हस्ति कमिसार विप्लव सी र कमाण्डर पासाङ बिच भेटवार्ता भएको छ ।
नेपाल कम्युनिष्ट पार्टीको महासचिव रहनु भएका विप्लव सीको निवास हरिसिद्धकी ललितपुर स्थिति निवासमा दुई जनयुद्धका हस्ति कमिसार विप्लव र कमाण्डर पासाङ बिच सोमवार भेटवार्ता भएको नेकपाको केन्द्रीय कार्यालयले सार्वजनिक गरेको छ ।

नेकपाका महासचिव विप्लव र पूर्व जनमुक्ति सेनाका कमाण्डर तथा पूर्व उपराष्ट्रपति समेत रहनु भएका पासाङ बिचको भेटवार्ता सम्भवतः माओवादी पार्टी विभाजन पछिको पहिलो भेटवार्ता होला । यो भेटवार्ता माओवादीहरुको एकताका लागि निकै महत्वपूर्ण रहेको छ ।
तत्कालिन नेकपा माओवादी पार्टी एउटै हुदा विप्लव पार्टीका स्थायी समिति सदस्य हुनुहुन्थ्यो भने पासाङ जनमुक्ति सेनाको डिपुटी कमाण्डर तथा पार्टीको पोलिट व्यूरो सदस्य हुनुहुन्थ्यो ।
प्रायः संगै खाने,संगै सुत्ने र संगै लडाईमा जाने यि दुई नेताको विशेषता थियो । जनयुद्धमा विचार र भावनात्मक सम्वन्धका हिसावले पनि यी दुवै नेता धेरै नजिक हुन्थे ।
दुवै नेताको घर गृह जिल्लाको हिसावले पनि रोल्पा नै थियो जसले गर्दा पनि अझै नजिक हुने नै भयो ।
जनयुद्धको वेला धेरैजसो रेट,आक्रमण र भिडन्तहरुमा कमिसारको रुपमा विप्लव र फौजी कमाण्डरको रुपमा पासाङलले नेतृत्व गर्नु भएको थियो ।

तत्कालिन नेकपा (माओवादी) शान्ति प्रक्रियामा आएपछि राजनीति विचार र नीतिमा केही अन्तर पर्दा २०६९ सालमा पहिलो पटक मोहन वैद्यको नेतृत्वमा माओवादी पार्टी विभाजन भयो ।
त्यो विभाजनमा विप्लवको पनि मुख्य भूमिका थियो । वैद्य र विप्लवले २०६८ साल फागुनमा जनमुक्ति सेनाको अपमानजनक रुपमा समायोजन भएको भन्दै नेतृत्वको चर्को विरोध गरे ।

यो विरोधमा जनमुक्ति सेनाका कमाण्डर पासाङ भने पार्टी अध्यक्षको लाईनमा उभिउनु भयो । यसवाट कमिसार विप्लव र कमाण्डर पासाङ बिच विचार र भावनात्मक सम्वन्ध टाढा हुन पुग्यो । विप्लवले सेना समायोजनको विषय कहिल्यै पनि सकरात्मक रुपमा लिनु भएन ।
सेना समायोजनको बेला जबर्जस्त नेपाली सेना पठाएर जनमुक्ति सेनाको कव्जा नगरेको भए र पार्र्टीमा एउटै मतसहित सेना समायोजनको काम गरेको भए सम्भवतःमाओवादी पार्टी विभाजन नै हुने थिएन एक माओवादी नेता भन्छन ।

विप्लवले पार्टी नेतृत्वले सेनालाई आत्मसमर्पण गर्न लगाएको जस्ता फरक विचार राखेर पार्टी विभाजन भएपछि विप्लव र पासाङको भेटपनि त्यसयता हुन सकेको थिएन ।
प्रचण्डले नेतृत्व गरेको माओवादी केन्द्रवाट पासाङ उपराष्ट्रपति समेत निर्वाचित हुनु भयो । त्यो बेला यी दुई नेताहरु बिच भेटवार्ता हुने कुनै सम्भावना पनि थिएन ।
विप्लव वैद्यवाट पनि अलग भएर नेकपा गठन गरी एकीकृत जनक्रान्तिमा हुनुहुन्थ्यो । सरकारले भने यस एकीकृत जनक्रान्तिमाथि प्रतिवन्ध लगाएकाले पनि यिनी जनयुद्धका दुई हस्ति कमिसार र कमाण्डर बिचको भेटहुने अझै सम्भावना थिएन ।
जनयुद्धका कमिसार एकातिर र कमाण्डर अर्कोतिर हुदा माओवादी आन्दोलनले समेत सफलता लिन नसकेको पछिल्लो समयमा माओवादी नेताहरुमा समिक्षा हुन थाल्यो ।

माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले माओवादीहरु एकता विना माओवादीको उद्देश्य पुरा नहुने भन्दै एकताको लागि जोड दिनु भयो । विप्लवले पनि पार्टीमा नै औपचारिक एकताको निर्णय गर्नु भयो ।
माओवादी वामपन्थीहरुको एकताको वहस भईरहका बेला युद्धका दुई कमिसार विप्लव र कमाण्डर पासाङको पनि भेटवार्ता वस्तुगत परिस्थितिको आवश्यकता बन्न गएको नेकपाको केन्द्रीय कार्यालयले जनाएको छ ।
यो भेटवार्तामा दुबै नेता तथा जनयुद्धका कमिसार र कमाण्डरले विगत जनयुद्धका बेलासंगै लडेका युद्ध मोर्चाहरुलाई समेत स्मरण गरेका छन ।
उहाँहरुले जनयुद्धको समयमा संगै गरेको जनताको मुक्तिको वाचा पुरा नभएको स्मरण पनि गर्नु भयो ।
उहाँहरुले जनताको मुक्तिको मुद्धा आंसिक पुरा भएपनि पूर्ण रुपमा पुरा नभएको निश्कर्ष निकाल्दै समाजवादी व्यवस्थामा पुग्नु पर्ने र त्यसका लागि माओवादीहरु एकताबद्ध हुनुपर्ने सहमति गर्नु भएको छ ।
जनयुद्धका यी दुई हस्तिहरुको यो भेटवार्ता माओवादी आन्दोलन भित्रका सवै सदस्यहरुलाई एउटा नयाँ उर्जाको विषय बनेको छ ।
साँच्ची कै जनयुयुद्धका कमिसार विप्लव र कमाण्डर पासाङहरुले माओवादी आन्दोलनको रुपान्तरण सहितको पूनर्गठन गर्ने पहल गरे समाजवादी व्यवस्था कुनै टाढा नहुने अनुमान गर्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस