बारबर्दियामा शिक्षकले राजनीति गर्न नपाउने

१४ माघ, काठमाडौं । बर्दियाको बारबर्दिया नगरपालिकाले शिक्षकले राजनीति गर्न नपाउने निर्णय गरेको छ ।
नगरपालिकाले आफ्नो आगामी १० वर्षका लागि शिक्षा योजना सार्वजनिक गर्दै यस्तो निर्णय गरेको हो ।

नयाँ संविधान जारी भएपछि शिक्षाको अधिकार स्थानीय तह मातहत आएसँगै यो नगरपालिकाले शिक्षा क्षेत्र सुधारका लागि गरिरहेको प्रयासमध्ये एक हो यो ।
२०७८ देखि २०८८ सालसम्मको योजना बनाउँदै नगरपालिकाले त्यसको अनुमानित बजेट र त्यसले दिने उपलब्धीको अनुमान पनि सार्वजनिक गरेको छ ।
नगरपालिकाले हाल एक वर्षको हुँदै आएको बालविकास र बाल शिक्षाको अवधि दुई वर्ष बनाउने प्रस्ताव गरेको छ ।

त्यस्तै शिक्षकहरु राजनीतिक दलको सदस्य हुन नपाउने, बालबालिका र शिक्षण पेसाप्रति रुचि भएका व्यक्तिहरु शिक्षण पेशामा आउन सक्ने गरी शिक्षक छनोट पाठ्यक्रम परिमार्जनको लागि पहल गर्ने, शिक्षक विद्यार्थीको अनुपात ३० जनाभन्दा बढी हुन नहुने नगरपालिकाको प्रस्ताव छ ।
नगरपालिकाले दिवा खाजा विस्तार गर्दै कक्षा ८ सम्म पु¥याउने पनि योजना बनाएको छ । त्यसका लागि आगामी पाँच वर्षका लागि शिक्षामा दुई अर्ब ३३ करोड ६५ लाख रुपैयाँ लाग्ने अनुमान गरेको छ । त्यसमा संघीय सरकारबाट ६४ प्रतिशत र प्रदेश सरकारबाट १२ प्रतिशत बजेट प्राप्त हुने आशा राखेको छ ।

त्यस्तै कक्षा १,२,३ र ६ मा बारबर्दिया गौरव नामको स्थानीय पाठ्यक्रम समावेश गर्ने नगरपालिकाको तयारी छ । यो विषयमा नगरपालिकाभित्र बस्ने समुदायको धर्म, संस्कार, संस्कृति, परम्परा, नगरपालिकाभित्र पर्ने महत्वपूर्ण ताल तलैया, सम्पदा लगायको विषय समेटिएको नगर प्रमुख दुर्गाबहादुर थारुले बताउनु भयो ।

नगरभित्र ५७ ओटा विद्यालयमध्ये ४२ ओटा सामुदायिक र १५ वटा संस्थागत विद्यालय रहेका छन् । नगरपालिकाले चालु आर्थिक वर्षमा कुल बजेटको ३२.१० प्रतिशत शिक्षामा छुट्याएको छ ।

 

प्रतिक्रिया दिनुहोस