१५ वैशाख, काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले गण्डकी प्रदेशका सांसद खिमबिक्रम शाहीको स्वास्थ्य अवस्थाबारे पार्टीले जानकारी लिने र सार्वजनिक गर्ने बताउनु भएको छ ।
गण्डकीका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ विरुद्धको अविश्वासको प्रस्ताव माथि मतदान हुनुअघि बुधबार शाही सम्पर्कविहीन हुनु भएको थियो ।
जनमोर्चाले आफ्ना सांसद सम्पर्कविहीन भएको भन्दै निवेदन दिएपछि संसद् बैठक अनिश्चितकालका लागि स्थगित भएको थियो यसपछि भने शाही कोरोना अस्पतालको आईसीयूमा रहेको सूचना सार्वजनिक भएको थियो । ‘मैले पनि हाम्रो सांसद आईसीयूमा रहेको खबर सुनेँ । यसबारे पार्टीले बुझ्छ’, केसीले भन्नु भयो ।
सांसद शाहीको स्वास्थ्य समस्या जनतासामु सार्वजनिक गर्ने पनि केसीले बताउनु भयो । ‘कोरोनाकै कारणले आईसीयू जान सकिने कुरा पनि भयो । अरु बहानाबाजी हो भने त्यो त थाहा हुन्छ नि भोलि’ केसीले भन्नु भयो , ‘बिमार के हो भन्ने त पार्टीले राम्रोसँग बुझ्छौ नि । जे भएको हो नेपाली जनताको सामु सार्वजनिक गर्छाैं ।’
गण्डकी प्रदेशमा जनमोर्चाले मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्तावमा उभिने निर्णय गरेको छ । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टी (जसपा) ले ल्याएको अविश्वासको प्रस्तावकै पक्षमा जनमोर्चा उभिंदा मुख्यमन्त्री अल्पमतमा पर्न सक्ने अनुमान गरिएको छ ।
प्रतिक्रिया दिनुहोस