कम्युनिष्टहरु बीचको समाजवादी मोर्चा छिट्टै बन्छ ः विप्लव

१४ जेठ,बाँके । नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लव सीले कम्युनिष्टहरु बीचको समाजवादी मोर्चा छिट्टै बन्ने घोषणा गर्नु भएको छ ।

जेठ १५ गते सुर्खेतको दशरथपुरमा हुने जनसभा र पार्टी प्रशिक्षणलाई सम्वोधन गर्न त्यहाँ जान लाग्नु भएका महासचिव विप्लवले आईतवार कोहलपुरमा नेकपा बाँकेले आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा यस्तो घोषणा गर्नु भएको हो ।

महासचिव विप्लवले पुरानो सत्ता चरम संकटतिर गएको र यो पुरानै तरिकाले चल्न नसक्ने ठोकुवा गर्नु भयो ।

उहाँले तत्काल नेकपा एमाले,वैद्य नेतृत्वको क्रान्तिकारी माओवादी र वावुराम भट्टराईको नेपाल समाजवादी पार्टी वाहेक अरु कम्युनिष्ट शक्तिहरु बीच समाजवादी मोर्चा बन्ने सम्भावना रहेको दावी गर्नु भयो ।

महासचिव विप्लवले नेपालमा अहिलेको संसदीय व्यवस्था असफल भएको भन्नेमा माओवादी केन्द्र,जनता समाजवादी पार्टी, नेकपा समाजवादी पार्टी र आफ्नो पार्टी बीच मोटा मोटी सहमति भएकाले मोर्चा बन्ने सम्भावना रहेको खुलासा गर्नु भयो ।

उहाँले दलाल संसदीय व्यवस्थालाई बदल्ने शर्तमा समाजवादी मोर्चा बन्ने बताउदै समाजवादी मार्चाले दलाल संसदीय व्यवस्थाको प्रणाली स्वीकार गर्न नसक्ने बताउनु भयो ।

उहाँले जनताका लागि केही गर्ने इच्छाशक्ति नेकपामा रहेकाले अव यो भन्दा राम्रो व्यवस्था ल्याउन सवै कम्युनिष्ट शक्ति,देशभक्त,प्रगतिशील जनशक्ति र कम्युनिष्ट जनमतहरु एकठाउँमा आउनुको विकल्प नरहेको वताउनु भयो । सो अवसरमा नेकपा बाँकेले महासचिव विप्लवलाई भव्य स्वागत गरेको थियो ।

यसैबीच जेष्ठ १५ गते सुर्खेतको दशरथपुरमा पञ्चायत विरूद्वको आन्दोलनमा शाहदत प्राप्त गर्ने शहिदहरूको सम्झनामा हुने स्मृति सभामा सम्बोधनका लागि महासचिव विप्लव संगै स्थायी समिति सदस्य भरत सी पनि सुर्खेत पुग्नु भएको नेकपा सुर्खेतले जनाएको छ ।

महासचिव विप्लव सी सहित स्थायी समिति सदस्य भरत सीलाई नेकपा मध्य कर्णाली ब्युरो इन्चार्ज विवेक सी, सुर्खेत जिल्ला इन्चार्ज धुर्व सी, दैलेख जिल्ला इन्चार्ज विवेक सी, कालिकोट जिल्ला इन्चार्ज बलवान् सी लगायतका कार्यकर्ता र जनताले फुलमाला अविर लगाएर भव्य स्वागत गरेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस